भुराभुरीदेखि ठिटौले उमेर छँदा फुटबल म्याच जितेर आउँदा गाउँमा आई कोहोलो मच्चाई-मच्चाई चिच्याउने गर्थ्यौं -
"किपर कस्तो ?"
-"चुम्बकजस्तो ।"
"ब्याक कस्तो ?"
-"हम्मरजस्तो /भित्ताजस्तो ।"
"सेण्टर कस्तो ?"
-"बिजुलीजस्तो ।"
"स्ट्राइकर कस्तो ?"
-"काँड़जस्तो ।"
गोलकिपर जस्तै लोसे, ब्याक जस्तै बोधे भए पनि यसो भनेर चिच्याउनु बड़ो मज्जा र आनन्द लाग्दथ्यो । फुटबल मैदानमा हुने म्याचले दर्शकगणलाई उत्तेजित बनाउनु मात्र पागल  बनाइदिन्छ । यस्ता पागलपन वा उत्तेजना भाषा मार्फत् प्रकाश भएको सुनिन्छ मैदानमा । फुटबल खेलमा खेलाड़ीहरूको खेलको अवस्था, स्थिति देखेर दर्शकवर्गबाट उत्तेजना, हर्ष, विमर्षले वा उच्चारित भएका भाषालाई "फुटबल मैदानका भाषाहरू...." भन्नु नै चासोपर्दो र ठुङमार्दो हुन्छ ।
फुटबल म्याच नहेर्ने विरलाकोटि पाइएलान् ।  मैदानमा खेलाड़ीहरूको ड्यासिङ, पुसिङ, डुब्लिङ ता देख्नुभएकै छ अवश्यै पनि । यसरी फुटबल म्याचमा कुनै पनि टिमका पक्ष वा विपक्षका दर्शकवर्ग ता हुन्छन् नै । त्यसबेली पक्ष-विपक्षका ती दर्शकहरू म्याचको उत्तेजनाले मातिएर  पागल भएको देखिन्छ ।
आउनोस्, म तपाईँलाई नब्बे मिनटसम्म फुटबल मैदानमा हुँदै गरेको उत्तेजनापूर्ण म्याचमा दर्शकदीर्घाबाट बोलिएका भाषाहरुसित परिचय गराउँछु । गोली चल्यो....सेण्टर फरवर्डले गोली बढ़ाउँदैछ....दर्शकका आवाज...."लैजाऊ...लैजाऊ...।" फेरि अर्को कुनाबाट आवाज -"त्यसको खुट्टा भाँच्.....।" गोली बढ़ाउँदै गर्दा पछाड़िबाट अर्को विपक्ष टोलीका फुटबलर आए -"आयो....आयो....पछाड़िबाट झिँगे आयो ।" फेरि अर्को आवाज - "नछोड़्...नछोड़...त्यो बनमान्छेलाई नछोड़् ।"
कुनै फुटबलरले आफ्नो साथीले दिएका पास समात्न नसके, "त्यो निम्बु र चुइङ्गमको भारीलाई निकाल्....अघि खा'को चुइङ्गम कमिटीलाई फर्का.....।" यस्तै किसिम भाषाहरू ग्यालेरीबाट आउने गर्दछ ।
फुटबलरले राम्रो खेले अर्थात् विपक्षका फुटबलरलाई तिरिखिरी पार्ने फुटबलरलाई पनि दर्शकवर्ग यस्ता भाषाले स्वागत गरेको सुनिन्छ -"यसको देब्रे खुट्टा भाँच् । यसको करङ भाँच्...खोस्-खोस्...सकिनस् भने फुल्लिने गरी दे ।"
चाड़ो दुगुर्ने फुटबलरलाई 'घोड़ा'. 'मृग' भनिएको सुनिन्छ भने म्याचमा गुल्चे नगर्ने फुटबलरलाई भने 'भी. आई. पी.' तर गुल्चे गर्नेलाई 'बुल्डोजर' अनि राम्रो हेड गर्नलाई 'हेडमाष्टर' पनि भनेको सुनिन्छ ।
गोली रिसिभ गर्ने साथ केही नसोंची जता पायो त्यतै ड्याम् कि ड्याम् हिर्काउऩेलाई - ''त्यो रिसाएको साँढ़लाई निकाल् । त्यो नानीको बाबुलाई खेद्' भनेको पनि सुनिन्छ ।
पात्ले, अग्ले फुटबलरलाई, 'मरञ्च्याँसे', 'सिसिलखुट्टे', 'बकुला' नाम राख्नु मात्रै होइन...''त्यसको बाँसजस्तो खुट्टा ठुन्काइदे'' भनी जिस्काउँनेहरू पनि कम्ति हुँदैनन् । म्याचमा ठ्याम्मै नखट्नेलाई 'बूढ़ो गिद्ध' भनी जिस्क्याएको पनि सुनिन्छ । फुटबल भेट्यो कि सोझै लगेर पोष्ट बाङ्गो हिर्काउनेलाई 'काण्टे', 'त्यसको आँखा फोर्'', 'तेरो खुट्टा सनासोले ठिक पार', ''बाङ्गो खुट्टा मिस्त्रीकोमा लैजा'' भनी व्यङ्ग्य गरेको पनि देखिन्छ ।
एक्लै तथा आफूमात्रै गोली अघि बढ़ाउनेलाई ''त्यो एक्ले कञ्जुस ढेँढ़ुलाई जङ्गलमा लगेर छोड़ीदे ।'' बाँगो हेड गर्ने फुटबलरलाई '' चुच्चे टाउको फर्मामा हाल्...एई बाँगे।'' फेरि अर्को कटाक्ष-''हेलमेट लाएर हेड गर् है ।'' अनि किक् गर्दा तीँ को तीँ पनि शुट गर्न नसक्नेलाई-''त्यसलाई लाबरको गोली दे'', ''जा...एक महिनासम्म घरकैआँगनमा किक् गर्नु सिकेर आइज...गोली होइन सुङ्गुरको फकुण्डो प्र्याक्टिस गरेर आइज'' भनेको पनि सुनिन्छ ।
म्याचको जोशले मातिइसकेका दर्शकवर्गबाट प्रहार भएका यी भाषाहरूले मैदानमा गोली हेर्न आएका अन्य दर्शकवर्गलाई पनि मोहित पार्नु मात्र होइन मनग्गे  हँसाएको हुन्छ । गोलकिपरले गोली च्याप्पै च्याप्पै समात्दा पनि जस छैन, नसमात्दा ता झन् कुरै छैन । गोली राम्री  समात्न नसक्दा, 'एई गोलकिपर...पोष्ट सानो पारिदिउँ ?'' ''डोको दिउँ गोली छोप्ने ?'' अनि किपरल गोली च्याप्पै च्याप्पै समाते, ''श्यावाश...यसपालीको बेष्ट कप तेरै हो ।'' ''त्यसको डुड़ुल्नु भाँच्ने गरी कस् न हौ ' इत्यादि व्यङ्ग्यवाण वर्षिरहेको हुन्छ मैदानभरि ।
म्याचमा धेरैको अफसाइडमा मात्रै बस्ने बानी हुन्छ । त्यस्ता फुटबलरलाई ''एई ढुकुवा जा पोष्टभित्रै गएर बस्, एक तालको लागि माफ छ, बे़ञ्ची ल्याइदिउँ ? आरामले बस् बरु...तर अफसाइड चैं नबस् भाइ प्लिज ।'' अर्को कटाक्ष, ''चाहियो भने छाता र बस्ने बेञ्ची पनि दिन्छु ।'' यस्ता भाषाले जुन मानसिकताको काम गर्छ सो हाम्रो खेल मैदानमै रुमलिरहको हुन्छ ।
मैदानमा रेफरी र लाइन्सम्याको मुख्य भूमिका रहेको हुन्छ । यिनीहरू पनि दर्शकवर्गको व्यङ्ग्यवाणले फुत्किन पाउँदैनन् । रेफरीको गतिविधि देखेर, ''त्यो सिटी फुक्ने मैलावाललाई निकाल् नत्र त्यसको सिटी थुतेर फ्याँकिदे ।'' लाइन्सम्यानलाई - ''एई...तेरो झण्डी सिङान पुछेर फ्याँक् ।'' यस्ता कटाक्षपूर्ण भाषाले बबुरा रेफरी र लाइन्सम्यानलाई के-कतिो असर पर्छ को'नि तर मैदानमा रहेका असङ्ख्य दर्शकवर्गलाई भने यस्ता कटाक्षले मनग्गे हाँस्ने खुराक प्राप्त भइरहेको हुन्छ ।
कति दर्शकहरू ता ज्यादै उल्लाहा र फटाहा हुन्छन् । शायद उनले म्याचको स्वाद नपाएर होला, उनको मुखारविन्दबाट यस्तो पेँचिलो भाषा उछिट्टिएर प्रत्येक दर्शकको कानमा थुरिन्छ । सुन्नेलाई भुँड़ी मिचिमिची हाँस्न कर लाउँछ -''एई....राम्री फलानु नम्बर (जर्सी नम्बर तोक्दै) खेल्दैनस् भने मेरो टिकटको पैसा फर्का । आज चैं तेरो खेलले मलाई बोरामा सुतायो ।''
फुटबल मैदानमा खेलाड़ीप्रति व्य़ङ्ग्य गर्ने हेतुले बोलेका भाषाहरूले नै म्याच र दर्शकवर्गलाई जीवन्त बनाएको हुन्छ । यही नै हो फुटबल म्याचको ज्यान, आकर्षण ।''
हजूर....
के तपाईं पनि फुटबल खेल्नुहुन्छ ?
आउनोस्...., मेरो छेउमा, तपाईँ फुटबल खेल्नु भए म तपाईलाई के भन्छु भन्नोस् ता....।
सुन्नुहोस्....
'' लानुहोस्....लानुहोस्....नडराई लानोस्...खुट्टाले सक्नुभएन भने पोष्टको छेउमा गोली पुऱ्याएर हातले समाती गोल् छिराउनोस्...पाहाड़ेको चल्छ ।''
तर तपाईँले गोल छिराउन सक्नुभएन भने फेरि म यसो भन्न चुक्तिनँ नि -''पोष्ट बाङ्गो छ हजूर, पखनोस्, पोष्टमा चक्का फिट गरिदिउँला....''
....अनि सुन्नुहोस्, म पनि फुटबल खेल्छु । मैलै खेलेको देखेर तपाईँ चाहिँ मलाई के भनेर जिस्काउनु हुन्छ ?.......
........भन्नुहोस् त....!! ! ! ! ! ! ! ...... जनता टाइम्स साप्ताहिकबाट

[ व्यङ्ग्यकार अल इण्डिया रेडियो, खरसाङका फुटबल कमेण्टेटर हुन् -सम्पादक]