जुन रङ्को पात वा घाँसमा बस्छ दुरुस्तै सोही रङमा परिणत हुने वा रङ् बद्लिने चारवटा खुट्टा भएको अण्डजवर्गको सरिसृप जीवलाई "भालेमुङ्ग्रो" भन्दछन् । पशु-पक्षी वा कीराहरूका शरीरको पछिल्ला भागबाट निस्केको लामो अवयव तथा कुनै वस्तुको पछिल्लो भागलाई "पुच्छर" भनिन्छ ।
उद्भिद जगत् वा झार-पात, पात-पतिङ्गरसित सामञ्जस्य राखी परिवेशको स्थिति र परिस्थिति बुझी भालेमुङ्ग्रोले पल-पलमै रङ फेरे झैं समयको स्थिति र परिस्थिति छिचोली राजनैतिक मैदानमा आफ्नो दुनो सोझ्याउऩका साथै जहाँ धेर त्यहीँ हेर् भन्ने नीति वा ट्याक्टिक्स् अप्नाई एउटा पार्टी छोड़ी अर्को पार्टीमा लाग्ने नेता नै भालेमुङ्ग्रो श्रेणीमा पर्छन् ।
आफूलाई अब्बल, सर्वश्रेष्ठ, पारदर्शी पत्रकार ठानी अरुले तपाईँ नभनी आफै मपाईँ हुन खोज्ने अनि मालिकको दङ्दङ्ती वा ह्वास्सै गन्हाउने काखीबाट आएको दुर्गन्धलाई दुबईकै परफ्यूम वा बडी स्प्रे ठानी मालिककको काखीमै नाक जोताउन मरिहत्त गर्ने पत्रकार नै खाँटी, विशुद्ध, जैविक पत्रकारको श्रेणीमा पर्दछन् । एक पैसामा पनि नबिक्ने खबर लेख्ने, आफूलाई मनपरेको मान्छे वा आफूलाई हर हमेशा काम लाग्ने मान्छेको विषयमा ठूल्ठूला कुरा लेखिदिएर इमान्दार पत्रकार हुन चाहने अनि आफूलाई मन नपर्नेहरूको खबर नै मासिदिएर अब्बल पत्रकारको घुर्की देखाउने पत्रकारलाई पुच्छरे पत्रकारको पगरी गुँथाउन सकिन्छ ।
भालेमुङ्ग्रे नेता र पुच्छरे पत्रकारको सम्बन्ध दाँत र गिजा झैं नै हुन्छ । भालेमुङ्गे नेताको बगम्फुसे भाषणलाई कुनै महात्माको प्रवचनभन्दा धेर महत्व दिएर छाप्छन् भने महत्वपूर्ण मानिसका महत्वपूर्ण भाषणा चाहिँ बिरालोले माटोमुनि गुहू छोपेजस्तै गरी भित्री पृष्ठको कुनातिर छापिदिएर पुच्छरे पत्रकारको जात चिऩाउँछन् ।
भालेमुङ्गे नेताकाे ओंठको डिलडिलमा शुद्ध घिउ दलिएको हुन्छ । कुनै तरुणी सुन्दरी आफ्ना ओंठमा लिपिष्टिक पोते जस्तो । चिप्लो घस्नुमा निपुर्ण भालेमुङ्ग्रे नेताले लाटा-सोझा, निमुखा जनतालाई बाह्र बत्तीसका कुरा हाँकेर आफ्नो झोलामा हाली आफ्नो काम फत्ते पार्छन् । भालेमुङ्ग्रे नेताको छल र बललाई लिस्नु लाउनु मात्र होइन, पाठकवर्गको समेत आँखामा धूला हाल्न सदैव तत्पर देखिने यी झुसे पत्रकार आफ्ना सहकर्मीमाझ कायर, झिङ्गे, सुलसुले कलमबाज ठहरिएका भए पनि कार्यालयको सङ्घार नाँघे कि आफ्नो पुच्छर सुरुवालभित्र लुकाएर कागखुट्टे वा बकुलाखुट्टे चालमा झोला भर्ने ताकमा पत्रकार सम्मेलनतिर वा कार्यक्रम थलोतिर अब्बल, जण्डा तथा वरिष्ठ पत्रकारको घुर्की डकार्दै दुगुरिरहेका हुन्छन् कि दुगुरिरहेका हुन्छन् । कथङ्काल कुनै पत्रकार सम्मेलन वा कार्यक्रम शुरु हुन अबेर भयो कि पुच्छरे पत्रकारलाई तिनकै अऩ्य पत्रकार साथीहरूले जिस्काएर-जिस्काएर बसिनसक्नु पार्छन् । कति उपद्र्याहा पत्रकार साथीहरूले उनको प्रतीकात्मक पुच्छर चिमोटेर चिमोटेर किसिम कटाक्ष गर्छन् । आफ्नो अन्नदाता अघि मात्र हल्लाउन सुरक्षित राखेको पुच्छर यी पुच्छरे पत्रकारले ट्याक्कै छुनु दिए ता के ! विचारा पुच्छर पनि लाजले पुच्छरे पत्रकार महोदयको सुरुवालभित्र गुजुल्टिएर श्वाश न वास भएर बस्छ । लाज शरम पचेका ची पुच्छरे पत्रकार चाहिँ कुनै विरोध नगरी हाँसेरै सबै कुरो टार्छन् । हाँस्नु परे कति मिठ्ठो हाँस्छन् मोरा ! कत्ति मिठाइलो मुस्कान । तर त्यो मुस्कानभित्र शकुनीले कुकुहा...खेलिरहेको हुन्छ । 'मिष्टर मुस्कान इण्डिय कण्टेष्ट'-मा यी झुसे पत्रकारले मौका पाए अरु ता को'नि ! यिनको शकुनी मुस्काइ देखेर यिनलाई 'मिष्टर मुस्कान इण्डिया'-को मुकुट पहिराई विभूषित गरिने थियो । यिनको हँसाइँ वा मुस्कानमा गज्जब दम हुन्छ दम । चाणक्यले एक ठाउँ भनेका छन् - "भाग्यमानीले मात्र असल मित्र पाउँछन् ।" यस सन्दर्भमा भन्नुपर्दा, हाम्रा यी पुच्छरे पत्रकारको भाग्यमा 'तित्तिरी' नलेखिएर पक्कै पनि 'श्री' लेखिएको स्पष्ट बुझिन्छ । किनभने यी भाग्यानी पुच्छरे पत्रकारले पुच्छर मात्र होइन भालेमुङ्ग्रे नेतालाई समेत मित्रताको पछ्यौरीमा बाँधेर चाणक्यको भनाइलाई शत प्रतिशत सत्य प्रमाणित गरेर कीर्तिमान कायम गरेको देखिन्छ ।
अर्कोतिर, यी भालेमुङ्ग्रे नेता र आलुमाझ कुनै फरक पाइनँ मैले । आलु यस्तो सब्जी हो कुनै पनि तरकारीसित यसको कमिष्ट्री ठ्याक् ठ्याक् मिल्छ । राँगाको सुकेको सुक्टीसित आलुलाई परपर्ती भुट्नुहोस् वा फाक्सा हाल्नोस् वा कुखुराको मासुमा मिलाउनुहोस् । चल्छ । यी भालेमुङ्ग्रे नेताले पनि आलुको भूमिका निर्वाह गरेर आफ्नो दुनो सोझ्याइरहेका हुन्छन् । आलुकै देखिसिकी गरेर भालेमुङ्ग्रो नेता सफल भएको छ भने भालेमुङ्ग्रो नेताको देखासिकी गरी पुच्छरे पत्रकारले पुच्छर हल्लाएर-हल्लाएर उनका श्रीमती , शालो, सोल्टिनी समेतलाई पत्रकार बनाइ छाड़ेका देखिन्छ । पुच्छरे पत्रकारका पिताजी छैनन् । उनका स्वर्गवासी पिता भएका भए वा यति चाँड़ै नबितेका भए यतिञ्जेल पुच्छरकै ताकत र बलले यी पुच्छरे पत्रकारले उऩका पिताजीलाई समेत उनकै अखबारका सम्पादक ता को'नि ! कार्यकारी सम्पादक चाहिँ पक्कै बनाउऩे-बनाउँथे ।
भालेमुङ्ग्रे नेता विरोधीहरूको खोइरो नै बहादुरी ठान्छन् भने आफ्नो सुरुवालको इञ्जार खुस्केको चाहिँ थाहै नपाउने पुच्छरे पत्रकार चाहिँ अर्काको प्याण्ट़मा उड़ुस हिँड़ेको टाड़ैबाट देख्छन् । यसर्थ, भालेमुङ्ग्रे नेता र पुच्छरे पत्रकारको साँठगाँठबाट के स्पष्ट बुझिन्छ भने, यी दुवै जनावर भाग्यको भरमा डोकोमा दूध धुन चाहन्छन् । भालेमुङ्ग्रे नेताले बल र छल अऩि पुच्छरे पत्रकारले पुच्छरको धाक, फुटानी अनि खुसामदी रगतको आड़मा फाइँफुट्टी लाइरहेका हुन्छन् । यिनै छल-बल, धाक-फुटानीको आड़्मा फाइँफुट्टी लाउने यी भालेमुङ्ग्रे नेता र यी पुच्छरे पत्रकारले अरु सबैलाई दुर्बल, निर्बल ठानिरहेका हुन्छन् । यिनीहरूको यस्तो ह्याँकुला मिचाइँ, स्वभाव प्रवृत्ति देख्दा आचार्य शिरोमणि लेखनाथ पौड्यालको निम्न कवितांश पटक-पटक दोहोऱ्याइरहन मन लाग्छ:
"म खाऊ मै लाऊँ
सुख शयल वा मोज म गरुँ,
मै हाँसू मै नाचूँ,
अर सब मरुन् दुर्बलहरू ।।" (तरुण तपसी)