अङ्ग्रेजी mask शब्दको अर्थ हुन्छ मुख ढाक्ने । कोरोनाको प्रकोप बढ़ेपछि मास्क शब्द भुराभुरीदेखि बूढ़ाबूढ़ीसम्मैलाई कण्ठस्थ हुनु मात्रै होइन  मास्कले भाव पाउन थालेको हो । बजारमा पाइने वा हामीले प्रयोग गर्ने मास्कले नाक र मुख मात्रै छोपिने भएकोले यसलाई 'मुखावरणी' (मुख + आवरण + ई = मुखावरणी) नाउँ राखेको छु । घरदेखि बाहिर निस्किँदा मुखावरणीमा नाक-मुख लुकाएर निस्केपछि साँझपख घर पस्दा घरकै कुकुरले समेत आफ्नै मालिकको आँखा मात्रै  ट्वाल्ल्ट्वाल्ती देखेर भुक्दै सोफा मुन्तिर वा अन्त कतै लुक्न थालेको घटना तपाईको घरतिर पनि भएकै होला । मुखावरणी खोलिएपछि मालिकको मौलिक अनुहार देखेर पूच्छर हल्लाउँदै मालिकलाई चाट्न खोजेको देख्दा भोट आउने बेलामा नेताले जम्ले हात मात्र होइन मस्किँदै भोट माग्न आएको दृश्य झल्झल्ती याद आउँछ ।
krishna 2 मास्क लाउने कसैलाई पनि झट्टै हेर्दा ठिम्याउन गाह्रो पर्छ । उनको बोली सुनेपछि मात्र ए फलानु रहेछ भनेर सजिलैसितले चिन्न सकिन्छ । यो कोरोना अहिले नै मासिन्छ वा निमिट्यान्नै हुन्छ भन्ने कुरो सपनामा पनि नसोंचे हुन्छ । अब जन्मेदेखि पैताला फर्काञ्जेल मुखावरणीले नाक र मुखको इलाकाबाट मुक्ति पाउने छैन । नाक मुखबाट सुटुक्कै पसेर कतिबेला षड़यन्त्रकारी किटाणुले मुटु-कलेजो-फोक्सो धुजैधुजा पार्छ भन्ने हाउगुजीले मुखावरणीलाई मिल्काउने कुरै आएन । यसकारण पछि पछि यो मुखावरणीले फेशनको रूप लिनेछ भन्ने मेरो मूर्ख अनुमान छ । फेशन गर्नमा हामी नेपाली जाति विश्व प्रसिद्ध छौं । झन् अचेलका हाम्रा झर्झराउँदा युवा-युवतीहरूले फाटेको, च्यातिएको प्याण्ट देखाएर फिला मात्र होइन आफ्ना आङ्का अक्षांश र द्राघिमांश प्रदर्शन गरी आफूलाई फेशनेबल ठान्छन् भने अब यो मुखावरणीलाई पनि फेशनमै ढालेर के के गर्ने जल्पना- कल्पना गरिसके होला ।
प्रथम ता, कुनै राजनीतिक जनसभामा कुनै राजनीतिक नेताको भाषण हेर्ने वा सुन्ने मौका छैन , कारण पब्लिक प्लेसमा मुखावरणी अनिवार्य हुन्छ । जुलूसमा मुटु फुटिञ्जेल नारा फ्लाँक्ने मौका छैन । त्यतिमात्र होइन, अगुल्ठोले हानेको कुकुर बिजुली देख्दा पनि तर्सिन्छ भने झैं यो भाइरसको हाउगुजीले तर्सेकाहरू कुनै जनसभा, धार्मिक कार्यक्रम, नगर किर्तनतिर जालान् ?
रेल चढ़्नेहरूलाई थाह होला । रेलको पेटभित्र किसिम-किसिमाक यात्रुहरू देखिन्छन् । रेल भन्नु नै चलन्त रङ्गशाला हो । थरी-थरीका गायक-गायिकाहरूको कानै बिथोल्ने स्वर, मूसा, साङ्लो मार्ने औषधि. लाइटर, किसिम खेलौना, किताबहरू, चियावाल, उसिनेको अण्डा, पिरोमुरी (झालमुरी ?), चना चटपटे, लजेन्स् लिएर घाँटीमा के अड़्केकोजस्तो गरी कराएर वाक्कै र दिक्कै पार्छन् । रेलमा व्यापार गर्नेलाई 'हकर' भनिन्छ । तर अचेल यी हकर लगायत रेलको पेटभित्र बसेका तमाम् यात्रुहरूका नाक मुख मुखावरणीले ढाकिएको हुन्छ । रेलको पेटभित्र आफ्नो सामान बिक्री गर्न ल्याउन हकर्सका गगनभेदी स्वर अब रेलको कम्पार्टमेण्टसमा थुरिने छैन । उनीहरू मुखावरणीमै रेलको पेटभित्र आफ्नो सामान बेच्न साबिक झैं आउनेछन् चूपो लागि। चिरिक्कै चिमोट्नेछन् यात्रुलाई अनि मेरो सामान किनि दे भन्नेछन् । फेरि चिया, पिरोमुरी, चना चटपटे वा उसिनेको अण्डा माग्नुपऱ्यो भने हकरलाई जता मनपऱ्यो त्यतै चिरिक्कै चिमोटेर हातको ईशाराले खाने कुरा मागिनेछन् । मुखावरणीले गर्दा बोलिसक्नु छैन । कथङ्कल बोलिहाल्नु पर्दा स्वर फिल्टर भएर निस्किन्छ । फिल्टर भाको स्वर सुनाइरहनु भन्दा ता हकर्सलाई चिमोटेकै सजिलो । हावाजहाजमा ता झन् मज्जा नि । एयरहोस्टेजलाई चिमोट्नुलाईमात्रै पनि दश पल्ट चिमोट्नु पाइन्छ अहिलेको यो कोरोनाकालमा । चिमोटाइले दुखेर एयरहोस्टेजको मुखबाट फिल्टर भाको स्वर निस्किहाले पनि त्यो बुझिने होइन क्यारे ! मुखावरणीभित्रबाट आएको उनको बोलीले आय्या भनेकी हो कि या...या...(येस..येस..) भनेकी हो के बुझ्नु अनि ।
भाइरसलाई नाक वा मुखका दुलामा ढिम्किनै नदिनुलाई नै ढालको रूपमा मुखावरणी वा मास्कले गतिलो भूमिका वहन गरेको हुन्छ । लिपिस्टिक नलाई हिँड़्न नसक्ने युवतीहरूले मुखावरणीको रङ्सित म्याचिङ हुने रङको लिपिस्टिक मुखावरणीमै लाएर हिँड़्नेछन् । आइमाई मान्छेहरूले ता लु मुखावरणीमै लिपिस्टिक लाएर हिँड़्लान् । तर लोग्नेमान्छेहरू चाहिँ ? जुङ्गाजति मुखावरणी वा मास्कले ढाकिएको हुनेछ । लोग्नेमान्छेहरूले मुखावरणी वा मास्क बाहिर लिफिस्टिक दलेर हिँड़्नु भएन । गर्ने के ता ? मिलिटेरी वा प्रहरीले आफ्नो छातीमा भएको नेम प्लेटमा आ-आफ्नो नाम लेखेजस्तै लोग्नेमान्छेहरूले पनि मुखावरणीको सिरानमै लेख्नेछन्, रणबहादुर बूढ़ाथोकी, प्रेम बस्नेत, घनश्याम आले आदि आदि ।
यो मुखावरणी वा मास्कको प्रयोगले गर्दा लसुन पऱ्यो कल्लाई प्याज पऱ्यो मलाई भनेजस्तो कानलाई खपिनसक्नु पीर परेको देखिँदो छ । चश्माको बिँड़को भार दुइटै कानले वहन गर्नुपर्ने, एयर फोनका ठेँड़ी दुइटै कानले घुसारिदिनु पर्ने अनि मुखावरणीको इञ्जार पनि दुइटै कानले ख्वाप्-ख्वाप् हालिदिनु पर्ने । अचानुको पीर खुकुरीलाई के थाह ? विचरा कान !