बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रतिष्ठानको शुद्धिकरणको अभियानमा चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरु सडकमा उत्रिएका छन् । आइतबार उनीहरुको आन्दोलनको २० औं दिन पुगेको छ । बिपी प्रतिष्ठानदेखि व्यानरसहित भानुचोक पुगेका छन् । सेतो कोट लगाउनेहरु आन्दोलनको कार्यक्रम लिएर विरोधमा हिडेको विरलै पाइन्छ । तर प्रतिष्ठानमा यस्ता आन्दोलन अनौठा हुन छाडेका छन् ।

प्रायः राजनीतिक दलहरुले कोणसभा गर्ने स्थान धरानको भानुचोकमा आइतबार भने सेतो कोट लगाउने प्राज्ञिकहरुको भीडभाड देखियो । त्यहाँ कुनै राजनीतिक दलहरुको झण्डा थिएन । जिन्दाबाद र मुद्धाबादका नाराहरु पनि लगाइएको थिएन । त्यहाँ निराश मनस्थितिका सेतोकोट लगाउने व्यक्तिहरु व्यानर र प्लेकार्ड बोकेर मौन उपस्थित थिए । यसरी सेतो कोट लगाएर विरामीको उपचारमा खटिने चिकित्सक नर्स नै आफ्ना निम्नतम माग पुरा गराउन सडकमा पुग्न बाध्य बनाउनु राज्यको लाचरीपन हो । यो एउटा विडम्बना पनि हो, राजनीतिक हस्तक्षेपले शिक्षा र स्वास्थ्य क्षेत्रमा फैलिएको जालो हटाउन चिकित्सक सडकसम्म पुग्नु पर्ने अवस्था आउनु किमार्थ उचित होइन । तर बर्षौदेखि राजनीतिकरण र अनियमितताले प्रतिष्ठान जेलिएर विरामीले न्युनतम सुविधा नै नपाउने, सेवकहरुले भोको पेटमा काम गर्नु पर्ने स्थिति सृर्जना हुनुले चिकित्सक बाध्य भएर सडकमा उभिएको देखिन्छ ।
२० दिनदेखि उपकुलपतिको कार्यालयदेखि प्रतिष्ठानको मुलगेटसम्म ¥याली निरन्तर थियो । आइतबार उपकुलपति कार्यालयबाट शुरु भएको ¥याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोक पुग्यो । प्लेकाड, व्यानर लिएर सभ्य तरिकाले आन्दोलनमा उत्रिए । भानुचोकमा उनीहरुले मौन जुलुस गरे । उनीहरुको कुरा त्यहाँ कोण सभा गरेर सुनाएनन् । उनीहरुको माग पब्लिकले सुन्ने खालको पनि थिएन । प्रतिष्ठान मै फर्किए उनीहरुले विरोध सभा गरे । आफ्नो मागहरु राखे । पदाधिकारी र राज्यलाई सुनाए ।

शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्य, प्रतिष्ठानको बेथिति सुधार उनीहरुको प्रमुख माग छन् । शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्य, प्रतिष्ठानको बेथिति सुधारका लागि ती आम नागरिकको चासोका माग पुरा गराउन सयुक्त संघर्ष समिति पनि बनेको छ ।
एक तथ्याङ्क अनुसार प्रतिष्ठान झण्डै सात अर्वको सञ्चित घाटामा छ । २०५८ सालदेखिको एक अर्व १० करोड बढिको बेरुजु छ । यो बेरुजु र घाटा जाने प्रवृति निकै पुरानो रोग हो । त्यो रोगले यति बेला भने प्रतिष्ठानमा जरा गाडेको छ । प्रतिष्ठान ओरालो लाग्दै गरेको पहिलो चरण तिर सन् २०१२ मा राजनीतिकरण, अनियमितता र बेथितिबारे बहस नभएको होइन । स्वास्थ्यमन्त्रीलाई व्रिफकेस बुझाएर उपकुलपतिको पद हत्याएका तत्कालिन उपकुलपति प्राडा. विपी दासको पाला मै यि विषयको उठान भएको थियो । विद्यार्थी, चिकित्सकहरुले २१ औं दिन आन्दोलन गरेका थिए । त्यस बेलाका विद्यार्थीको तर्फबाट आन्दोलनका अगुवामा डा. मधुर बस्नेत पनि हुनु हुन्थ्यो । झण्डै ९ बर्ष पछि त्यही बेथिति, अनियमितताको विरोधमा आवाज बुलन्द गर्ने आन्दोलनमा यति बेला पनि डा. मधुर बस्नेत सहभागी हुनु हुन्छ । यहाँ एउटै विषयमा लामो समयको अन्तराल पछि आन्दोलन गरिरहनु परेको छ ।

प्रतिष्ठानमा पात्र फेरिए तर प्रवृति फेरिएन । त्यस बेला बेथिति सुधारको प्रतिबद्धता पदाधिकारीहरुले जनाएका त थिए तर राजनीतिक दलको आडमा ती प्रतिवद्धता पुरा गरेनन् । झन प्रतिष्ठानलाई खोक्रो बनाए । आज तिनै मुद्धामा आन्दोदन गरिरहदा, चिकित्सकहरु सडकमा ¥याली निकाली रहदा प्रतिष्ठान उठ्नै नसक्ने गरि डुवेको छ । यति बेला भने संघर्ष समितिले निर्णायक आन्दोलन गरिरहेको छ । यहाँ राजनीतिक नियुक्ति पाएर आएका चार पदाधिकारीहरु चार तिर फर्किएका छन् । आ–आफनो पार्टी नेताको इशारामा श्रमजिवि चिकित्सक, कर्मचारीहरुको आन्दोलनलाई दवाउन कोशिस गरिरहेका छन् । यसले यहाँका पदाधिकारी र चिकित्सक विच झन दुरी बढाएको मात्र छैन् गम्भीर द्वन्द्व निम्ताएको छ ।
असार १५ गते एउटा वार्ताको तयारी भयो । आन्दोलन भइरहेको अवस्थामा काठमाडौ पुग्नु भएका उपकुलपति डा. ज्ञानेन्द्र गिरी १८ दिन सम्म प्रतिष्ठान फर्केर आउनु भएन । प्रतिष्ठानको समस्याप्रति उहाँ कति गम्भीर हुन हुन्छ भन्ने कुरा यहीबाट बुझन सकिन्छ । १५ गते उपस्थिति हुनु भएका उपकुलपति गिरीसँग वार्ता बस्यो तर उपकुलपति गिरीले वार्ता टोलीलाई दुव्यवहार गरेको कुरा बाहिरिए पछि वार्ता भाडियो । उहाँ मादक पदार्थ सेवन गरेर वार्तामा बसी चिकित्सकहरुको हुर्मत लिन खोजेको आरोप लाग्यो । त्यस पछि पदाधिकारीहरुसँग वार्ता हुन नसक्ने स्थितिले प्रतिष्ठान यति बेला अनिर्णयको बन्दी बनेको छ । चारै पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाइएको छ । यहाँको समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले कुनै चासो र हस्तक्षेप गर्न सकेको छैन् । यहाँको चिकित्सक विद्यार्थी र कर्मचारीको आग्रहलाई राजनीतिक पूर्वाग्रहको दृष्टिले हेर्ने उपकुलपति गिरी प्रतिष्ठान चलाउन अक्षम सावित भइसक्दासमेत सरोकारवाला निकाय बोल्न सकेको छैन् । यसले प्रतिष्ठान झन गम्भीर अवस्थामा नपुग्ला भन्न सकिदैन् ।

प्रतिष्ठानमा दक्ष चिकित्सक छन् तर आवश्यक उपकरण छैनन् । सन् २००८ मा खरिद गरिएका ल्याव उपकरण चलाएर विरामीलाई ब्रह्मलुट गरिरहेका छन् । त्यो पैसा पनि यहाँका सामान खरिद स्तरोन्नती गर्न भन्दा पनि सिमित कर्मचारी, पदाधिकारी र उनीहरुका नजिकका व्यापारीको खोजीमा भरिएको छ । सिटी स्क्यान मेसिन छैन् । एमआरआई मेसिन छैन्, आइलासिस मेसिनको अभाव छ । आइसियु अभावमा मान्छेको ज्यान गइरहेको छ । आकस्मिक कक्षमा विशिष्ट चिकित्सकहरु खटाइएको छैन् । प्रतिष्ठानले चलाएको फार्मेसीमा औषधी छैन् । यी केही प्रतिनिधी उदाहरण मात्र हुन । यहाँको अवस्था गम्भीर मोडमा पुगेको छ । सरकारले २०७३ साल मै मुटु उपचार केन्द्र र क्यान्सर उपचार केन्द्र खोल्न बजेट दिएको थियो । झण्डै पौने ८ करोड परामर्शदातालाई पोसियो तर भवन बनेन् । पूर्वका जनताले सुलभमा मुटु रोग र क्यान्सरको उपचार सेवा पाउने आशो प्रतिष्ठान नेतृत्वले तुहाई दियो ।

प्रतिष्ठानलाई डुवाएर प्रतिष्ठान वरिपरि खोलेका निजी अस्पतालहरुलाई पोस्ने प्रवृति यति बेला मौलाएको छ । जनताले उचित स्वास्थ्य सेवा पाउन सकेका छैनन् । त्यसका लागि प्रतिष्ठानका पदाधिकारी निश्चय नै जिम्मेवार हुनु पर्ने हो तर भएका छैनन् । त्यसको खवरदारीको जिम्मा यहाँको नागरिक समाज, राजनीतिक दलहरुको पनि हो । ‘हाम्रो मान्छे’ भनेर कुनै पनि दलले ‘फोहोरी’ मान्छेलाई बोकेर हिड्नु हुदैंन उसलाई जिम्मेवार बनाउन त्यो दलको पनि कर्तव्य हो । होइन भने मार्ग प्रसस्त गर्न दवाव दिनु पर्छ । समस्या पहिलेदेखिका छन् बिपी प्रतिष्ठानमा । त्यसलाई क्रमिक रुपमा सुधार गरेर लानु अहिलेका पदाधिकारीहरुको जिम्मेवारी हो । उपकुलपति एउटा गुट चलाउने रेक्टर अर्को गुट, रजिष्टार भिन्नै गुट र अस्पताल निर्देशक अर्को गुट चलाउने प्रवृतिले यहाँ बेथिति बढेको कुरा कतै छिपेको छैन् । गुटमा दलाल, स्वार्थी व्यापारी र अनुकुलका कर्मचारी बोकेर हिड्ने र वेला बेलामा चारोपानी दिने प्रवृति अवका पदाधिकारीले छाड्नु पर्छ । व्यापारीको इशारमा कर्मचारी, प्रशासन चलाउने परिपार्टीले प्रतिष्ठान विग्रिएको कुरा उदाङ्गिएको छ । अव विभागीय प्रमुख हुने लोभले, खरिद, लेखालगायतका मालदार शाखामा जान पाउने स्वार्थ बोकेका कर्मचारी, चिकित्सकहरुले आफ्नो मात्र होइन संस्थाको पनि भलाई गर्नु पर्छ भन्ने सोच बनाउन जरुरी छ । अनेक तिकडम गरेर ठेक्का हत्याउने लोभीपापी व्यापारीहरुको पनि अवका दिनमा प्रतिष्ठानलाई सुदृढ बनाउने भूमिका चाहिएको छ । त्यसका लागि सबै लोभ मोह छाडेर बेथिति सुधार गर्न लाग्नु पर्छ ।

अन्त्यमा प्रतिष्ठानको हालत र यहाँका उपकुलपतिको कार्यशैली, केही कर्मचारी र चिकित्सकहरुको कामचोर प्रवृति खुल्ला किताव जस्तै सार्वजनिक भइसकेको छ । एउटा पवित्र उद्देश्य लिएर निरन्तर आन्दोलन भएको २१ ऋौं दिन पुग्नु र त्यसलाई सामान्यीकरण गर्न तिर स्थानीय तह, प्रदेश र संघीय सरकारले ध्यान नपु¥याउनु विडम्बना हो । अव चिकित्सकहरुले उठाएका मुद्धालाई सम्बोधन गदैं यहाँको शुद्धिकरण थालनी जरुरी छ । निश्चय नै बर्षौदेखि विग्रिएको यो संस्था एकैचोटी परिवर्तन सम्भव छैन् । तर बेथिति हटाउन शुरुवात जरुरी छ । धरानको गहना, पूर्वी नेपालका जनताका ‘भगवान’ रहेको पवित्र स्वास्थ्य एंव शैक्षिक थलोलाई सुधार गरौं । यसमा राजनीतिक पार्टी, व्यक्तिगत र पार्टीगत स्वर्थ भन्दा माथि उठेर समस्या समाधन गर्न लागौंं । पदाधिकारीहरुसँगको वार्ता असफल भएकाले स्वास्थ्य मन्त्रालयले प्रतिनीधि खटाएर यसका समस्या तत्काल समाधान गरौं । अव यहाँको समस्या र व्यक्तिको भण्डाफोर भन्दा पनि वर्तमान परिस्थितिमा उव्जिएका समस्या समाधान गर्न पहल गरौं । नागरिक समाज, राजनीतिक दल, सामाजिक संघ संस्थाहरु राज्यका निकायलाई चाढो समाधान गर भनेर दवाव सृर्जना गरौ र धरान –धराने जनताको गौरव बिपी प्रतिष्ठानलाई राजनीतिक विकृति, बेथिति फालेर सफा र सुन्दर बनाऔं । यसैमा सबैको हित हुने छ ।
ब्लाष्ट दैनिकबाट