● पात्रहरू : राते, चितुवा, पाङरे, पाङरी, टाटे, छिर्के, कान्छी, काली ।
● कार्टुन: बिराज प्रधान, कदमतला, सिलगढ़ी।

[दृश्य विवरण: सुनसान सड़क छेउको चिया दोकानभित्र बसेर गाउँका भुस्याहाहरू एकार्कामा गफिरहेका दृश्य]

चितुवा (लामो हाय काढ़दै) : हन हाम्रो गाउँमा के हुन आँट्यो हौ अचेल...

पाङरे (भुँड़ी खोस्रिँदै): किन सपना राम्रो देखेनौ कि क्या हो चितुवा दाइ!
चितुवा: ठैट! हामीजस्तो भुस्याहालाई के सपना के विपना?

पाङरी: को'नि पो अरे! हामी कुकुर जातिलाई एक पेट भर्नु पायो भने भैगो।

चितुवा (झिझेट मान्दै) : अरे म कुरा गर्छु आग्राको तिमीहरू कुरा गर्छौ गाग्राको। मैले खासमा के भन्न खोजेको हो भने हिजोआज खोई हामीले चिनेका सर म्याडमहरू मर्निङ वकमा आएको देख्दिनँ ता।

टाटे : हो हो चितुवा बड़ाले ठिकै भन्यो। मलाई सधैँ एकेक पाकिट बिस्कुट दिने राम्री म्याम आउनै छोड़िन्।

पाङरे: कि मोराहरूले गोर्खाल्याण्ड पायो कि क्या हो? सबै साइसुत्तै पो छन् ता।

राते: एई चूप! कुकुर भएर कुकुरजस्तै बस्नु सिक्। मान्छेको बेउरा नदेखा है यहाँ। उनेरले गोर्खाल्याण्ड पावोस् कि नपावोस् तँहरूलाई केको खसखस?

चितुवा : उनेरले गोर्खाल्याण्ड पायो भने ता हामी भुस्याहाहरूले मनग्गे नुनिया चामलको भात खान पाइन्छ नि ।

रातै (सुतिरहेकै अवस्थामा): खालास् नुनिया। घघरमा दामी कुकुर पालेर भूइँमा खुट्टै हुँदैन होला।

चितुवा: को'नि पो अरे! गोर्खाल्याण्ड नपाउँदा ता यस्तो पायो भने ता यी कौड़ेहरूले हावाइजहाज किनेर केई राख्दैनन् होला।

टाटे: आ...ठिकै पनि छ हौ नपाको हई!

राते : भयो ...भयो। कुकुर भएर कुकुरजस्तै शान र मानले बस् तँहरू। यो मान्छेको कुरा गर्न तँहरूलाई के मज्जा लागेको हँ? म ता छक्कै पर्छु।

पाङरे: होइन राते बड़ाबाबु कोही मान्छे ता आँखैमा राख्दा पनि नबिझाउने खालका हुन्छन्। फेरि कोई चैं लड़ाउँदै टोक्दा पनि धितै नमर्ने खालका हुन्छन्।

छिर्के: अम्मुइ बिग टक नगरन। त्यो राम्री म्याम आउँदा ता सिरियस भएर पूच्छर हल्लाउँदै लुखुर लुखुर उसैको पछि पछि हिँड़्छस् ता।

पाङरी: एक पाकिट बिस्कुट डल्लै दिएकी देख्दैनस्? दाउ पर्यो भने कोड़ीको पनि पाउ मिल्नुपर्छ नि।

काली: को'नि को'नि। अन्त त्यो ढोक्सी म्यामलाई देखि सहँदैनस् ता।

पाङरे: अरे अस्ति पान दोकानको छेउमा गुँड़ुलिएर निदाउन लागेको बेला त्यो सिण्टेक्स्जस्तो म्याम आएर उसको हाईहिलले पूच्छरमै टेकिदिएर भुतुक्कै पारिन् नि!

चितुवा: तँ पनि ता कहाँ नहेरी बाटोमै सुतेको अन्त?

पाङरे: मोबाइलमा मच्चिँदै बात मार्ने धुनमा झण्डै ममाथि पो। के के सोचिराखेको थिएँ कि म ता म्यूनिसिपलको डग क्याचर पो मलाई समात्नु आयो भनेर मरिगए नि।

छिर्के: साँच्चै हो ता त्यो म्याम हेर्दा जाली बोकेर हामीलाई खेद्ने काले धमरधुस डग क्याचरजस्तो छिन्। (हाँस्छ)।

काली: जस्तो बेउरा त्यस्तै रूप।

पाङरे: कसो उसको हाईहिल मेरो भुँड़ीमा परेन अन्त। परेको भा यो भुँड़ी छेँड़ेर दुलो पर्नेथ्यो। सिमेण्ट ढलाई गर्ने माशिनजस्तो त्यो ढोक्सी म्यामलाई मरिन् भने नि हेरिमात्रै बस् न अर्को जन्ममा पक्कै म्यूनिसिपलको डग क्याचर भएन भने मेरो नाम पाङरे होइन।

राते (दिक्क मान्दै): उफ! भयो! भयो! मान्छेको कुरा नगर् भनेको। हामी कुकुर जातिलाई थोत्रे मान्छेहरूको कुरा गर्न सुहाउँदैन [पुलिस पेट्रोलिङ आएको देखेर फुच्ची कान्छी मच्ची मच्ची भुक्न थाल्छे]।

राते (दिक् मान्दै): एई कान्छी चूप। चिनिनस् पुलिसलाई पनि? लकडाउन ड्युटीमा आको।

छिर्के: अहिले डँड़ाल्नु मस्किने गरेर पुलिसको डण्ठा भेटेको बेला थाहा पाउँछे नि।

कान्छी (मुख छुच्चो पार्दै): डग क्याचर भनेर भुकेको नि! हाम्रा मामालाई लगेर शालाहरूले छोड़ेकै छैनन् अन्त।

चितुवा: पुलिसहरू डग क्याचर होइनन् अहिले मान्छे क्याचर भएका छन्।

टाटे: अचेल डग क्याचर आउँछ भनेर नसुर्ताए हुन्छ। आयो भने नि पुलिसले यिनीहरूको ढेढ़ूलाई मस्काउँछन्।

पाङरे: अचेल मान्छेहरूको मुखमा के बाँधेको त्यस्तो?

राते: मुखको बिर्को।

पाङरी: किन नि?

चितुवा: जहाँ पायो त्यहीं नथुकोस्, जताभावी नबोलोस्, अर्काको खोइरो नगनोस् भनेर बिर्को लगाको।

राते: यो लकडाउन भएर मान्छेहरु घरबाट निस्किन छाड़ेपछि बाटाहरु हेर् ता सफा भएको देखिनस्?
टाटे: पहिला ता शालेहरूले पान, गुटखाले, खैनी खाएर जताततै प्याच्च प्याच्च थुकेर केई थिएन।

पाङरे: अहिले सड़क कति सफा भएको छ। (प्रसङ्ग बद्लेरद) मलाई देख्ने बित्तिकै ढुङ्गाको घुँयेत्रो हान्ने मान्छेले अस्ति पुलिसको स्वाँठ कम्ति भेटेको होइन।

कान्छी: कोनि के भाको हई त्यो मान्छे। हामिलाई देख्यो कि ढुङ्गा टिपेर हानी पो हाल्छ ता।

चितुवा: त्यसलाई पुलिसले हानेको चैं? पुलिसको डण्ठा भेट्दा त्यो मान्छे उफ्रेको देख्यौ तिमीहरूले?
टाटे: किन नदेख्नु? लाइभ देख्यौं नि। मदारीले बाँदर नचाएको जस्तो देखेको नि।

कान्छी: ठिकै पर्यो। हाम्रो पाप लागेको नि। त्यसको ढुङ्गाको झटारोले मेरो खुट्टामा कति दिनसम्म हिँड़्नु सकिनँ अन्त।

चितुवा: मलाई खाने बाघले तँलाई पनि एक न एक दिन खान्छ। सहनु मात्रै पर्छ [माथि फ्ल्याटबाट एकजना मानिस खानेकुरा लिएर प्रवेश]।

राते: लु हाम्रो खाना आइपुग्यो। त्यहाँ कसैले मान्छेको बेउरा देखाउलास्। याद राखेस् [सबै भुस्याहाहरू खाना बाँड़ेको ठाउँमा पूच्छर हल्लाउँदै पुग्छन्]।

चितुवा: हामीलाई सधैं खाना दिने यो मान्छे को हो हँ?

टाटे: चिनेनौ? जमानामा पार्टीको ठूला नेता । पार्टीको झण्डी बोकेर थर्काको नि। अहिले आफै झण्डीजस्तो भएर हल्लिएको देखेनौ? आफ्नू ठाउँमा जाइसक्नु छैन।

राते: एई तँहरूले के साह्रो मान्छेको कुरा गरेको हँ!

पाङरे: मान्छे होइन नेताको कुरा गरेको।

राते (झोंक्किएर) : नेताहरूको ता झन् कुरै नगर्। हामीलाई डग क्याचर पठाउने यै नेता मूल्याहाहरू हुन्। चूपचाप खा अनि गएरगुजुल्टिएर सुत् [सबै भुस्याहाहरू चूप लागे पनि पाङरे बोल्न छोड़्दैन ] ।

पाङरे: तपाई अर्डर मात्रै दिनोस् न। यी नेताहरूलाई हामी सब भुस्याहाहरू मिली टोकेरै ...

चितुवा (खिसी हाँस्दै) : के अरे के अरे। नेताहरूलाई टोक्ने अरे? लाखेस नि यी नेताहरू मिलेर उल्टा हामी भुस्याहाहरूलाई टोकेरै डाइरेक्ट मान्छे बनाइदेलान् नि।

राते : नेताहरूको विष भुस्याहाहरूको शरीरभरि नफैलियोस्। कुरा त्यति हो [सबै भुस्याहाहरू एकार्कामा हेराहेर् गर्छन् ]।
[प्रकाशोन्मुख लकडाउन कमेडी-बाट]
पर्दा खस्छ ।

-कृष्ण प्रधान, सिलीगुड़ी (उत्तर बङ्गाल), भारत ।
[email protected]