भारतका केही स्थानमा कोरोनाभाइरस फेरि तीव्र रूपले फैलिन थालेपछि प्रतिबन्धहरू लगाउन थालिएको छ । भारतमा कोरोनाभाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि त्यहाँ काम गर्न गएका नेपालीहरू स्वदेश फर्किन सक्ने सम्भावनाको आकलन गर्दै नेपाल-भारत सीमा क्षेत्रमा सतर्कता अपनाइएको नेपाली अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपाल-भारत सीमामा रहेका १३ वटा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ। भारतको महाराष्ट्र, गुजरात, मध्यप्रदेश आदि राज्यमा कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रम बढेको छ।
रोजगारीका लागि भारतमा ठूलो सङ्ख्यामा नेपालीहरू बसोबास गर्ने र नजिकिएको फागु पूर्णिमाका बेला सीमावर्ती क्षेत्र हुँदै आवतजावत बाक्लो हुने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने अधिकारीहरूको भनाइ छ।
अहिलेको अवस्था कस्तो छ?
कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै गत वर्षको चैत्रमा गरिएको लकडाउन यता नेपाल भारत सीमा क्षेत्रमा यात्रुहरू बोकेका सवारी साधनको आवतजावत बन्द छ। यद्यपि अधिकांश नाकाबाट मानिसहरू हिँडेरै आवतजावत गरिरहेको बताइन्छ।
झन्डै एक वर्षदेखि रोकिएका यात्रुवाहक सवारीसाधनहरूलाई खुल्ला गर्ने गृहकार्य सरकारी निकायहरूले गरिरहेका छन्।
कोरोनाभाइरस सङ्क्रमणको लक्षण
पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको कुल सङ्ख्या २,७५,६२५ पुगेको छ।
बिहीवार एकैदिन नेपालमा थप १०७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्क छ। त्यसमध्ये काठमाण्डूमा ४४, ललितपुरमा आठ अनि भक्तपुरमा सात जनामा सङ्क्रमण पुष्टि भएको हो। तर केही महिनादेखि परीक्षणको सङ्ख्या घटेकाले कम सङ्ख्यामा सङ्क्रमण पुष्टि हुने गरेको जनस्वास्थ्यविद्हरू बताउँछन्।
केही समयदेखि नेपालमा पनि क्रमिक रूपमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेको सङ्केत देखा परेको भए पनि अहिले नै त्यसो भनिहाल्न मिल्ने अवस्था नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बास्तोलाले बताए ।
अहिले उक्त अस्पतालमा कोरोनाभाइरस सङ्क्रमण भएका तीन जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइराखेको उनले जानकारी दिए। "जुन हिसाबले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोडिएको छ सङ्क्रमण फैलिन सक्छ भन्ने सम्भावनाका विषयमा दुई मत रहेन। तर अहिलेसम्मको अवस्था भने स्थिर देखिन्छ,'' उनले भने।
महामारी नियन्त्रणका लागि नेपाल-भारत सीमा क्षेत्रमा के छ तयारी?
केही दिनदेखि सीमा-नाकालक्षित योजना बनाइरहेका अधिकारीहरूले अब सीमा क्षेत्रमा लक्षण देखिएकाहरूलाई परीक्षण गरेर मात्रै देशभित्र आउन दिइने तयारी रहेको बताएका छन्।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बीबीसीसँग भने, "भारतका कुनै सहरमा रात्रिकालीन कर्फ्यू र नागपुरजस्तो सहरमा लकडाउन नै कार्यान्वयन हुँदा कामको सिलसिलामा रहेका नेपालीहरू बस्न गाह्रो भएर नेपाल फर्केर आउनुहुन्छ कि भन्ने हिसाबले हामी सचेत छौँ।"
"त्यहाँ जति कडाइ गरिँदै जान्छ नेपाल फर्केर आउने क्रम बढ्न सक्छ।'' "त्यसैले हाम्रो पहिलो काम प्रवेशबिन्दुहरूमा रहेका हेल्थ डेस्कहरूलाई थप सचेत बनाउने र जिम्मेवारी थप्न लागेका छौँ।''
खासगरी लक्षणसहितका बिरामीहरू आएको खण्डमा उनीहरूको एन्टिजन परीक्षण गर्ने र उनीहरू प्रवेश गरेपछि विदेशबाट नेपाल आएकाहरूले पालना गर्नुपर्ने क्वारन्टीनका नियमहरू कडा रूपमा पालना गराउन स्थानीय निकाय र सम्बन्धित पालिकाहरूको सहयोग लिने नीति आफूहरूले लिन लागेको उनले जानकारी दिए।
अधिकारीहरूका अनुसार नेपालमा रक्सौल, जोगबनीजस्ता नाका हुँदै धेरैजसो मालसामान आयात गर्ने गरिन्छ। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, रूपेडिया, जमुनाहा, कृष्णनगर र काँकडभिट्टाजस्ता नाकाबाट धेरै मानिस आउने हुँदा हेल्थ डेस्क राखिएको अधिकारीहरू बताउँछन्।
"त्यहाँ लक्षण भएका वा कोभिडको लक्षण भएको बिरामीसँग मेरो सम्पर्क थियो भन्ने सूचना दिए त्यहीँनै एन्टिजन परीक्षण गर्ने गरी तयारी गरेका छौँ। त्यसो गर्दा हामीले बैलैमा पत्ता लगाउन सक्छौँ भन्ने हाम्रो अपेक्षा हो," पौडेलले भने।
के फेरि क्वारन्टीनमा बस्नुपर्छ?
भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेको पुष्टि भइनसकेको भारतीय अधिकारीहरूको दाबी छ। नयाँ प्रकारको कोरोनाभाइरस पुष्टि भएको अवस्थामा भने नेपाल प्रवेश गर्न चाहने व्यक्तिले १० दिन नै क्वारन्टीन बस्नुपर्ने हुन सक्ने नेपाली पक्षको धारणा छ।
त्यसबाहेक होम क्वारन्टीनको नियम पनि कडाइका साथ लागु गर्ने तयारी गरिने बताइएको छ। व्यवस्थित क्वारन्टीन निर्माण केन्द्रदेखि स्थानीय तहको जिम्मेवारी रहेको पौडेल बताउँछन्।
पछिल्ला सरकारी बैठकहरूमा नेपाल-भारतबीच यातायात खुला गर्ने विषयमा पनि छलफल भइरहेको छ। कोरोनाभाइरस
तर स्वास्थ्य मन्त्रालयले भने विगतमा भारतमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढेको दुईदेखि तीन हप्तापछि नेपालमा बढेको देखिएको वा नेपालीहरू स्वदेश फर्किने क्रम बढ्ने देखिएको हुँदा तत्काल त्यस्तो निर्णय गर्ने पक्षमा छैनन्।
भारतमा कोरोनाभाइरसको सङ्क्रमण स्थिति र त्यसको नेपालमा पर्न सक्ने असरबारे बिहीवारको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा पनि जानकारी गराइएको अधिकारीहरू बताउँछन्।
एकतर्फ यातायात सेवा सञ्चालनमा ल्याउनुपर्ने दबाव अर्कोतर्फ कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने सम्भावनाबीच हाल हवाईमार्ग प्रयोग गर्दा आवश्यक पर्ने जस्तै पीसीआर परीक्षणको रिपोर्ट लिएर आउनेहरूलाई सवारीसाधन चढेर नेपाल आउने व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको बताइएको छ।
तर सरकारले यसबारे कुनै निर्णय गरेको छैन। भारतमा कोभिडको जोखिम बढेको विषयबारे नेपालीलाई थाहा छ?
बाँकेको जमुनाहा नाका भएर भारतबाट फर्किने र भारत जाने नेपालीहरूले भारतमा फेरि कोरोनाभाइरस फैलिरहेको हल्ला सुनेको हुँदा यात्रा गर्दा, भिडभाडमा जाँदा स्यानिटाइजर र मास्क निरन्तर प्रयोग गरिरहेको बताउँछन् ।
भारतको दिल्लीबाट फर्किँदै गरेकी बाँसगढी बर्दियाकी अमृता विकले लकडाउनको अवधिमा डेढ वर्ष दिल्लीमै बसेको र हाल घरपरिवारलाई भेट्न नेपाल फर्किएको बताइन् ।
"टेलिभिजनमा समाचार हेरेर फेरि कोरोनाभाइरस फैलिरहेको सुनेकी छु, घरमै काम गरिरहेकोले सुरक्षित छु भन्ने ढुक्क छु," उनले भनिन्।
"पीसीआर जाँच गराएरै आएकी छु, अब फेरि जाँच गराउँदिनँ।" भारत शिमलाको जुवल क्षेत्रमा स्याउको बगैँचामा काम गर्दै आएका बाँके राप्तीसोनरी, विनौनाका आकाश थारूले यसबारे आफूलाई जानकारी नभएको बताए ।
एक हप्ताअगाडि ऐलानी जग्गामा बसेकाहरूको लगत सङ्कलन गरिरहेको जानकारी पाएर घर आएका उनले फेरि भारत जान लागेको बताए ।
सोह्र वर्षदेखि परिवारसहित भारतमै बस्दै आएको बताउने उनले कोरोनाभाइरस फेरि फैलिरहेको जानकारी नपाए पनि पहिलेको जस्तै सतर्कता अपनाइरहेको बताए ।
पीसीआर रिपोर्टको व्यवस्था कति व्यावहारिक ?
भारतीय राज्य बिहारस्थित रक्सौलका एक स्थानीयवासी भोला महत पीसीआर जाँच गराएर मात्रै आवतजावत गर्न पाइने व्यवस्था गरिए झन्झटिलो हुने बताउँछन्।
"अहिले पहिलेको जस्तो सिधा आवतजावत गर्न नमिल्ने नै हो। तर पनि आवतजावत गर्ने प्रक्रिया झन्झटिलो नबनाइयोस् । बरु सीमा नाकामा मास्क लगाएको नलगाएको, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी लगायत थर्मोमिटरको प्रयोग गरी छिटो छरितो रूपमा नेपाल प्रवेश गराउने प्रक्रिया अपनाउँदा हुन्छ," उनले भने।
"नेपालतर्फ काम परेरै आउँछौँ। पीसीआरको प्रक्रियामा लाग्दा त काममा ढिलो हुन सक्ने, समयमा नहुने सम्भावना हुन्छ, समस्या हुन्छ," उनले भने।
रिक्सा, अटो , टेम्पोजस्ता सार्वजनिक सवारीसाधन केहीमा पनि सावधानी अपनाएको नदेखिएको उनी बताउँछन्।
"म भारततर्फ जाँदा आफ्नो सुरक्षाका लागि मास्क लगाउने, दूरी कायम गर्ने गरेको छु। तर प्रायः अरूले त्यस्तो गरेको देख्दिनँ, स्थानीय निकायले पनि ध्यान दिनुपर्यो। जाँच गर्नुपर्यो, दुवैतर्फ आउजाउ गर्नेमाथि सावधानी अपनाएको नअपनाएको प्रति कडाइ गर्नुपर्यो," उनले बीबीसीसँग भने।
अरू के गर्नुपर्छ?
नाकामा व्यवस्थित क्वारन्टीन निर्माण गरिनुपर्ने र विगतका अनुभवबाट पाठ लिएर समयमै तयारी अवस्थामा बस्नुपर्ने सर्वसाधारणहरू बताउँछन्। नेपाल सरकारले छिटोभन्दा छिटो सबैलाई कोरोनाभाइरसको खोप व्यवस्था गर्नुपर्ने विकको भनाइ छ।
गत वर्ष भारतमा कोरोनाभाइरस महामारी व्यापक रूपमा फैलिएका बेला विभिन्न नाका हुँदै नेपाल फर्किन चाहने सर्वसाधारणहरूले सास्ती खेप्नुपरेको विवरणहरू सार्वजनिक भएका थिए।
सरकारी अधिकारीहरूले समेत बेलैमा तयारी नथाले भोलिका दिनमा विगतमा जस्तै असहज परिस्थिति उत्पन्न हुन सक्ने विषयबारे आफूहरू सचेत रहेको र त्यसैअनुरूप हाल छलफलमा जुटेको बताएका छन्। बीबीसीबाट