प्रदेश १ सरकार स्थापनाको तीन बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा माननीय मुख्यमन्त्री शेरधन राईले व्यक्त गर्नुभएको मन्तव्य

१.२०७४ फागुन ३ गते मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रदेश सरकार गठन भएको तीन वर्ष पुगेको यस ऐतिहासिक अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा प्रदेश सरकारको तर्फबाट र म स्वयमको तर्फबाट हार्दिक स्वागत सहित अभिबादन गर्दै यस प्रदेशभित्र रहनुभएका वा बाहिर रहनुभएका सम्पूर्ण आदरणीय जनतामा हार्दिक बधाई बन्न चाहन्छु। साथै तपाईहरुको न्यानो स्नेह, शक्ति सदभाव र साथका लागि हार्दिक आभार व्यक्त गर्दछु।

२.नेपालको संविधान र संघीयताको कार्यन्वयन गर्दै, संघीय ढाँचा र प्रणालीका मार्फत विकास र समृद्धिको नेतृत्व गर्ने मुल अभिभारा हाम्रो काँधमा दिनुहुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई यस बर्ष पनि हार्दिक आभार सहित अभिवादन व्यक्त गर्दछु । यस ऐतिहासिक कार्यक्रमको अवसरमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि अर्थात देशमा संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापनाका खातिर आफ्नो ज्यानको आहुती दिने ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

३.साथै ती आन्दोलनहरुमा घाइते अपांग तथा बेपत्ता हुने सम्पूर्ण योद्धाहरु र परिवारजनले गर्नुभएको योगदानको स्मरण गर्दै हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

दाजुभाई तथा दिदी बहिनीहरु

४.नेपालको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर पहिलो पटक संघीय ढाँचामा आधारित शासन प्रणाली हामीले अबलम्वन गरेकाे कुरा सर्ब बिदितै छ । यही संघीय प्रणालीका मार्फत सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहसम्म पुगेको छ, अर्थात जनताको घरदैलोसम्म पुगेको छ । त्यत्तिमात्र हाेइन संघीय प्रणालीको एउटा प्रमुख मेरुदण्डको रुपमा प्रदेश सरकार गठन भएको कुरा पनि सर्वविदितै छ ।

५.मैले स्मरण गरिरहेको छु, हाम्रा शुरुका दिनहरु कति कठिन थिए । पहिलाे र नितान्त नयाँ संरचना थियो प्रदेश संरचना । हाम्रा लागी पहिलाे संघीय अनुभव, प्रयोग र अभ्यास थियो । जनताका असिमीत चहाना र आकांक्षाहरुका बीच हामी निर्बाचीत भएर आएका थियौं तर त्यत्तिबेला आजका आधार संरचनाहरु केही थिएनन् । शुन्य बिन्दुबाट काम थाल्नु परेको थियो ।बस्ने ठाउँ थिएन, काम गर्ने जनशक्ति थिएन, कानुनहरु बनेका थिएनन । गुन्द्री र पिरामा बसेर काम थाल्नु परेको थियो ।

६.हाम्रा सामुन्नेमा धेरै चुनौती, अप्ठ्यारा र असहजताहरु थिए । तर हामीले स्वाभाविक गतिमा, सही मानसिकता र सुझबुझका साथ संबिधान र संघीयताको कार्यन्वयन गर्दै अत्यावश्यक आधार र संरचनाहरु तयार गर्दै हामी अगाडी बढ्यौं कामहरु शुरु गरयौं ।

७.हामीले बिगत दुई वर्षलाई महत्वपूर्ण आधार र संरचनाहरु तयार गर्ने अवसरको रुपमा भरपुर प्रयोग गयौं । हामी कही नचुकी, कही र काेही संग नझुकी सिंगाे प्रदेश र प्रदेशबासी जनताकाे शीर उच्च पार्दै अनेकन चुनाैती, अप्ठयारा र असहजताका बावजुद प्रदेश सरकार सही बाटोमा, सकारात्मक ठाेश उपलव्धिहरुका साथ यहाँसम्म आइपुगेको कुरा यहाँहरुबीच यस समाराेह मार्फत सगर्व राख्न चाहन्छु ।

८.यो तीनवर्षे कार्यकाल मुलतः संविधान र संघीयता कार्यान्वयनको आधार तयार गर्दै, संस्थागत गर्दै आवधिक याेजनाकाे तर्जुमाका साथ स्वच्छ सुखी र समुन्नत प्रदेशकाे प्रादेशिक आकांक्षा तय गर्दै बिकास र समृद्विकाे ठाेश आधार खडा गरेर सन्तुलित रुपमा महत्वपुर्ण बिकास आयाेजनाहरुकाे निर्माण कार्यका साथ जनतामा ब्यापक खुसी, उत्साह छर्न हामी सफल भएकाे कुरा यहाँहरुका बीच राख्न चाहन्छु ।

९.संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हो । अर्थात मेराे भनाईकाे तात्पर्य संघीयताकाे मुटु नै प्रदेश संरचना हाे । यसरी प्रदेश संरचनालाई बलियो वनाउँदा मात्र संघीयता प्रभावकारी हुन सक्दछ भन्ने मर्म र बुझाईका साथ प्रादेशिक संरचनाहरुलाई व्यवस्थित गर्ने र संस्थागत गर्ने कुरामा निरन्तर र अबिचलित रुपमा सरकार केन्द्रित रहेको कुरा यहाँहरुबीच राख्न चाहन्छु ।

 

१०.हामीले आत्मसात् गरेको नयाँ संघीय प्रणालीको कार्यान्वयन, प्रयोग र अभ्यासका मार्फत हामीले नयाँ थिति र प्रणाली बसाल्ने हाे । हामीले तयार गर्ने आधार र बसाल्ने थिति र प्रणाली आगामी पाँच वर्षको लागि मात्र नभई सूदुर भविष्यसम्मको आधारशीला हाे, आधार स्तम्भ हाे, दरिलाे जग हाे प्रदेश सरकार जस्ताे सुकै परिस्थितीमा पनि नडगमगाई यस सवालमा उभिने छ, निरन्तर अगाडी बढने छ ।

दाजुभाइ तथा दिदी बहिनीहरु

११.जनताका सबै अपेक्षा, चाहना र माँगहरु सतप्रतिशत सम्बोधन हुन यो तीन वर्ष वा बाँकी दुई बर्षमा संभव छैन याे यथार्थलाई हामीले भन्नैपर्छ । हामी असाध्यै नै सिमीत स्राेतकाे सिमा भित्र छाैं । हाम्रा चाहनाहरु असिमीत छन तर स्राेतकाे सिमीतता छ ।

१२.हाम्रा असिमीत चाहना माँग र आवश्यकताहरुलाई प्राथमिकीकरण गरिकन प्राप्त र भएकाे सीमित साधन स्रोतहरुको प्रयोग गरी जनताका आकांक्षाहरुको सम्बोधन गर्दै अगाडि बढनु परेकाे छ र हामी त्यसरी नै अगाडी बढीराखेका छौं । आगामी दिनहरुमा स्राेत र आम्दानी बृद्विका उपायहरु खाेज्दै र बढाउदै हाम्रा प्राथमिक आवश्यक्ता र माँगहरुलाई संबाेधन गर्दै लैजाने उधेश्य राखिएकाे छ ।

१३.जेहोस संघीयता कार्यान्वयनको मुल जिम्मेवारी र शिलसिलासँगै प्रदेश सरकारको तर्फबाट हामीले कम्तिमा जनताका न्युनतम आकांक्षाहरुलाई सम्बोधन गर्दै एउटा दरिलो आशा, विश्वास र भरोसा जगाउन सफल भएका छौं । यो निकै नै उल्लेख्य र महत्वपूर्ण उपलब्धि हो भन्ने मैले ठानेकाे छु ।

१४.हामीले संघीयताकाे कार्यन्वयन र त्यसलाई संस्थागत गर्नका लागी संबिधान र कानुन बनाेजीम संघीय सरकारकाे अनुमति लिएर स्वीस सरकारबाट १ अर्ब बराबरकाे अनुदान सहयाेग लिन सफल भयाैं । यसरी अन्तराष्ट्रिय अनुदान सहयाेग लिने पहिलाे प्रदेशमा हामी परेका छाैं ।

१५.जे हाेस विगत तीन वर्षलाई समिक्षा गर्दा मैले भन्नु पर्छ कानूनहरुको निर्माणको दृष्टिले र विकास निर्माणको लहर प्रदेश भरि अभियानकै रुपमा सिर्जना गरिएकाे दृष्टिले हाम्राे तीन वर्षे कार्यकाल सन्ताेषजनक मात्र हाेइन उल्लेखनीय र उपलब्धीमुलक रह्यो भन्ने मेराे निष्कर्ष छ ।

१६.आजको दिनसम्म आइपुग्दा अत्यावश्यक ४९ वटा एेन, २४ वटा नियमावली, २८ वटा कार्यविधि, १० वटा निर्देशिका, १/१ वटा मापदण्ड र गठन आदेश गरी जम्मा गरी जम्मा १२३ वटा कानुन निर्माण गर्न हामी सफल भएका छाैं यो कानुनी वातावरण बनाउने, कानुनी संरचना तयार गर्ने सन्दर्भमा यो एउटा उत्कृष्ट उपलव्धि हो। यसबीच कोभिड-१९ को महामारी र बन्दाबन्दीका कारण कृषि क्षेत्रलाई तात्कालिन रुपमा प्रत्यक्ष हानी नोक्सानी पर्न गएको र समग्र जनताका लागि आधारभूत आवश्यकताको विषय भएको हुनाले प्रदेश सरकारले यो विषयलाई प्राथमिकतामा राखी यसरी हानि नोक्सानी भएको बारे तदारुकताका साथ सर्भेक्षण र मूल्याङ्कन गरी पहिचान हुन आएका १,६८० पीडित किसानहरुलाई रु. ७ करोड ९१ लाख ७४ हजार बराबरकाे राहत सहयोग उपलव्ध गराइएको छ।

१७.आज यो सरकार गठन भएको ठीक तीन वर्ष पूरा भई चौथो वर्ष प्रारम्भ भएको छ। गत भदौमा यो अढाई वर्ष पूरा भएको अवसर पारेर हामीले गत तीन वर्षमा गरेका हाम्रा प्रयत्नहरु, पहलहरु र कार्य प्रगतिहरुलाई परफर्मेन्स (performance) सूचकांकहरुमा राखेर मध्यावधि समीक्षा गर्यौं।

१८.प्रदेश योजना आयोगले आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वातावरण र सुशासन गरी पाँच वटा उद्देश्यलक्षित आधारको कसिमा प्रदेश सरकारकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यलय सहित ७ मन्त्रालय र ५ निकाय गरी १२ (लगानी प्राधिकरणबाहेक) वटा संस्थाहरुको विकास गतिविधि, प्रगतिस्थिति (भौतिक र वित्तीय) र उपलव्धिबारे समिक्षा गर्यो, जुन २०७७ असोज महिनामा सार्वजनिक गरिसकिएको छ र जसलाई प्रदेशका सबै निकाय, जिल्ला र तहहरुमा जानकारीका लागि प्रेषित गरिएको छ।

१९.प्रदेश योजना आयोगद्वारा गरिएको यो समिक्षा अनुसार यस कार्यकालको पहिलो अढाई वर्षको अवधि अर्थात् यस मध्यावधिमा प्रदेश सरकारको भौतिक प्रगति करीब ७२%, वित्तीय प्रगति ६५.३% र समग्र प्रगति ६८.७% रहेको छ जसलाई विशेष गरी कोभिड-१९ ले खडा गरेको विषम परिस्थितिको परिप्रेक्षमा सन्तोषजनक मान्नु पर्दछ। प्रगतिको यो स्थितिले प्रदेशको भविष्यप्रति हामी सबैलाई आशावान्वित तुल्याएकाे छ ।

२०.मन्त्रालयगत रुपमा हेर्दा ‘समग्र’ प्रगतिमा मुख्यमन्त्री कार्यालय, उद्योग, भौतिक तथा सामाजिक विकास मन्त्रालयहरु नीलो जोन (६०-७९%) मा परेका छन् भने बाँकी कृषि, आन्तरिक र अर्थिक मामिला मन्त्रालयहरु पहेंलो जोन (४०-५९%) मा परेका छन्। यसमा अर्थिक मामिला मन्त्रालय सिमान्तकृत (४०.३१%) अवस्थामा रहेको छ।

२१.‘वित्तीय’ प्रगतिको दृष्टिले हेर्दा मुख्यमन्त्री कार्यालय, उद्योग, भौतिक र सामाजिक मन्त्रालयहरु नीलो जोन (६०-७९%) मा परेका छन् भने कृषि र आन्तरिक मामिला मन्त्रालय पहेंलो जोन (४०-५९%) मा परेका छन्। एक मात्र आर्थिक मामिला मन्त्रालय २९% ल्याएर रातो जोन (४०% भन्दा कम) मा परेको छ।

 

२२.त्यसै गरी निकायगत रुपमा हेर्दा ‘समग्र’ प्रगतिमा प्रदेश सभा सचिवालय, महान्यायाधिवक्ता र लेखा नियन्त्रकको कार्यालयहरु नीलो जोन (६०-७९%) मा परेका छन् भने बाँकी प्रदेश योजना आयोग र लोकसेवा आयोग पहेंलो जोन (४०-५९%) मा परेका छन्।

२३. ‘वित्तीय’ प्रगतिको दृष्टिले हेर्दा प्रदेशसभा, मुख्यन्याधिबक्ता र लेखानियन्त्रकको कार्यालय नीलो जोन (६०-७९%) मा परेका छन् भने योजना आयोग पहेंलो जोन (४०-५९%) मा परेको छ। एक मात्र लोकसेवा आयोग २८.६१% ल्याएर रातो जोन (४०% भन्दा कम) मा परेको छ। यसमा लोकसेवा आयोगको प्रगति कम हुनुमा सबैभन्दा पछाडि स्थापना भएर हो।

२४.आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण र सुशासन गरी कार्यक्रम उद्देश्यका ५ आधार को परिप्रेक्ष्यमा संख्यात्मक दृष्टीले हेर्दा क्रमशः २३.७%, २१.६५%, २५.२६%, ५.६७% २३.७१% को वातवरण बाहेक बाँकी ४ वटामा कार्यक्रमहरुको संख्या वितरण अत्यन्त समानतामूलक अर्थात् समन्यायिक देखिएको छ। विकासका कृयाकलापहरु अगाडि बढ्दै जाँदा वातावरणीय पक्षलाई आगामी कार्यक्रमहरुमा समुचित ध्यान दिइने कुरा राख्न चाहन्छु ।

२५.प्रदेशको कुल वार्षिक गार्हस्थ्य उत्पादनको आकार २०७४/७५ मा ४८० अर्व रहेकोमा यस सरकारको मध्यावधिमा २४% ले वृद्धि भई ५९५ अर्व पुगेको छ। त्यसैगरी प्रतिव्यक्ति आय सोही अवधिमा ८९० अमेरिकी डलरबाट २०.३%ले वृद्धि भई १,०७१ अमेरिकी डलर पुगेको छ।

२६.अब म अलिकति पूर्वाधार विकासको चर्चा गर्न चाहन्छु, किनकि यो क्षेत्रमा राज्यको लगानी हिस्सा अन्य क्षेत्रको तुलनामा उल्लेख्य रुपमा बढी छ। एक वर्ष अगाडि कालोपत्रे सडक निर्माणको प्रगति २७ कि.मी. भएकोमा अहिले ९६.२३ कि.मी. सम्पन्न भएको छ। ग्राभेल सडक सोही अवधिमा १२९ कि.मी. बाट वृद्धि भई ३७६.६ कि.मी. (झण्डै ४ गुना) सम्पन्न भएको छ। मोटर जाने पुल २२ वटा र झोलुङ्गे पुल ३६ वटा सम्पन्न भएका छन्।

२७.खानेपानी आयोजना ११५ वटा, जनता आवास कार्यक्रम अन्तर्गत ४,८७४ वटा घरको लागि सम्झौता भएकोमा ३,४०० वटा घरहरुको निर्माण कार्य (झण्डै ७० %) पूरा भएको छ।

२८.सिँचाइ सुबिधाका लागि निर्मित संरचनाहरुले अब २०, ८२६ हे. थप जमीन लाभान्वित हुनेछ। बिभिन्न ठाउँमा गरी ४० कि.मी. लामो नदी किनारमा तटबन्धन गरिएको छ बिभिन्न जिल्लाका १८ स्थानमा पहिरो रोकथाम र संरक्षणको कार्य गरिएको छ।

२९.मुख्यतया निर्वाचन क्षेत्र लक्षित एबं आधारीत ६२ वटा बहुवर्षिय सडकहरुको निर्माण कार्य प्राथमिकताका साथ निर्माणका बिभिन्न चरणमा रहेका छन्। करिब त्यत्तिकै संख्यामा सडक पुलहरुकाे निर्माण कार्य भइरहेकाे छ । चारलेनकाे घिनाघाट हरैचा सडक गाैरबकै आयाेजनाकाे रुपमा निर्माणाधीन छ ।

३०.सयाैंकाे संख्यामा खानेपानी, सिंचाई, भवन, खेलकुद, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पुर्बाधार निर्माणका कामहरु भइरहेका छन ।

 

३१.यी आयोजनाहरुका लागि बजेट श्रोतको सुनिश्चितता गरिएको छ। सालबसाली आयोजनाका रुपमा मुख्यमन्त्री ग्रामीण सडक निर्माणका लागि थप बजेट श्रोतको जोहो भइरहेको छ। यी दुबै प्रकारका आयोजनाले प्रदेशलाई अझ बढी नजिक ल्याउने, भावनात्मक एकीकरणलाई थप सुदृढ बनाउने तथा आर्थिक व्यबसायिक सम्भावना र अवसरलाई धेरै गुणाले वृद्धि गर्नमा ठोस मद्धत पुर्याउने छ भन्ने विश्वास लिएको छु।

३२.यिनका अतिरिक्त ठूला आकारका ६४ वटा आयोजनाहरुलाई आयोजना बैंकमा राखी छनौटका आधार तयार गरी तिनलाई विकास गर्न,परियाेजनाहरुलाई प्रदेश लगानी प्राधिकरण मार्फत कार्यन्वयनमा लैजान बिभिन्न निजीक्षेत्रका लगानीकर्ताहरुसंग छलफल, निरीक्षण भ्रमण र कार्यान्वयनमा जाने क्रम शुरु भएको छ।

३३.पर्यटनको क्षेत्रमा पहाडी, हिमाली क्षेत्रमा नमुनाका रुपमा ६१ कि.मी. लामो मुन्धुम पर्यटन पदमार्गकाे निर्माण कार्य शुरु भई तिब्र गतिमा काम काम भइरहेकाे कुरा अवगत गराउन चाहन्छु ।

३४.पूर्वको हवाई प्रवेशद्वारका रुपमा परिचित विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको तहमा (३००० मिटर लम्बाईमा) स्तरोन्नति गर्न संघीय सरकार र विराटनगर महानगरपालिकासंग सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरी नेपाल सरकार मन्त्री परिषदकाे बैठकबाट निर्णय भई जग्गा अधिकरणको काम अगाडी बढाइ सकिएकाे छ ।

३५.लगानी प्राधिकरण मार्फत नीजी लगानीमा स्काइवाक भेडेटारकाे निर्माण कार्य शुरु हुने चरणमा पुगेकाे छ । त्यसैगरी प्रदेशकाे गाैरबकाे आयाेजना देशकै समृद्विमा बिशेष याेगदान गर्न सक्ने केचना टु सगरमाथा फास्टट्रयाक्ट परियाेजनाकाे प्रारम्भिक र बिस्तृत अध्ययनकाे थालनी, स्मार्ट सिटीहरुकाे अध्ययन र डिपीआर निर्माण जस्ता कार्यहरुकाे थालनी गरिएकाे छ ।

३६ .हामीले सडक सुसाशनकाे काम थालेका छाैं । हामीले देशकै पहिलाे आधुनिक, सुबिधा सम्पन्न रिफ्रेस्मेन्ट सेन्टर निर्माणकाे काम काेशी गाउँपालिकामा शुरु गरेका छाैं ।

३७.हामीले चियाकाे उत्पादन, बिकास, प्रर्बदन र बिश्वब्यापी बजारीकरण गर्नका लागी इलाम जिल्लाकाे सुर्याेदय नगरपालिका फिक्कल कन्याम स्थित टि टेस्टिंग, रिसर्ज एण्ड प्राेमाेसन सेन्टर स्थापना तथा निर्माण कार्य शुरु गरिएकाे छ ।

३८.हामीले कानुन निर्माण गरेर मनमाेहन प्राबिधिक प्रादेशिक बिश्वबिधालयकाे स्थापना गरयाैं । यस मातहत अरु थप ५ वटा प्राबिधीक शिक्षालयहरु स्थापना गर्ने कार्य अगाडी बढाइएकाे छ । हामीले सामुदायिक बिधालयकाे शिक्षालाई प्रबिधी मैत्री भएर आइटि संग प्रत्यक्ष रुपमा जाेडने काम गरेका छाैं । समग्र सामुदायिक बिधालयहरुमा शैक्षिक सुधारकाे कार्यक्रम शुरु गरिएकाे छ ।

३९.प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुकाे स्तराेन्नति कार्य शुरु गरिएकाे छ । प्रदेशलाई लागु आैषध र दुर्ब्यसनमुक्त बनाउन भबिष्यका कर्णधार युवाहरु बिधार्थीहरुलाई मुख्य अभियान्ता बनाएर म अघि बढछु भन्ने नाराका साथ सगरमाथा टिन्स क्लव करिब १८ सय बिधालयमा गरिसकिएकाे छ । २ हजार बिधालयमा क्लब गठन गरी २ लाख बिधार्थीहरुलाई परिचालन गर्ने लक्ष्य राखिएकाे छ ।

४०.हामीले ज्येष्ठ नागरिकहरुकाे अनुहारमा मुस्कान छर्ने उधेश्यका साथ ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम, यस बर्ष प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम प्रभावकारी रुपमा संचालनमा रहेकाे कुरा यहाँ भन्न चाहन्छु ।

४१.समृद्व प्रदेशका लागी आत्मनिर्भर छाेरी कार्यक्रम अन्तर्गत छाेरीका लागी बिमा कार्यक्रमलाई अगाडी बढाइएकाे छ ।

४२.ज्येष्ठ नागरिक, महिला, दलित, सिमान्तकृत बर्ग समुदाय, बालबालिका, अपांगता लगायतकाे क्षेत्रमा महत्वपुर्ण कार्यक्रमहरु संचालनाम ल्याइएकाे छ ।

४३.बिपद ब्यवस्थापनका लागी प्रभावकारी कदमहरु चालिएकाे छ । सामान्य उद्वार, राहत र पुनस्थापनामा मात्र हाेईन, बिपद ब्यवस्थापनका लागी प्रदेशका १४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गरेर त्यस केन्द्रमा दमकल, प्रहरी भ्यान र एमबुलेन्स राखेर संचालनमा ल्याइएकाे छ ।

४४.यसरी यो प्रदेश सरकारले विकास निर्माण, उन्नति र समृद्धि हासिल गर्दै जाने सन्दर्भमा गति, दिशा र लय पक्रेको छ। तथ्याङ्क र तिनको विश्लेषणले यही स्पष्ट गर्दछ।

४५.मैले प्रदेशका आदरणीय जनतालाई सुसूचित गराउनु पर्दछ कि अब हामी भौतिक आयोजनाहरुको योजना तर्जुमा, शिलान्यास र निर्माणको चरणबाट क्रमशः उद्घघाटनकाे चरणमा प्रवेश गरेका छाैं । हामीले देखेका उन्नति र विकासका सपनाहरु, जनताको मनभित्र रहेका आकांक्षाका कोपिलाहरु अब क्रमशः फुल्ने, फक्रिने क्रम शुरु भएको छ।

४६.बहुवर्षिय सडकहरुमध्येकाे एउटा सडक भोजपुर-टक्सार एयरपोर्ट सडक जुन २०७६ बैशाखमा शिलान्यास गरिएको थियो, अपेक्षित अवधिभन्दा ६ महिना अगावै, १८ महिनामै सडक निर्माण काम सम्पन्न भई मेरै हातबाट उदघाटन भइसकेकाे छ

४७.भाेजपुर कै ट्याम्केमैयुं गाउँपालिकाका सम्पूर्ण वडाहरुमा केन्द्रिय बिधुत प्रसारण लाइन र वैकल्पिक ऊर्जाको माध्यमबाट बिजुली घर घरमा पुरयाएर ‘उज्यालो गाउँपालिका’ घोषणा गरिएकाे छ ।

४८.स्पष्ट छ, अब हामी विकासको माध्यमबाट जनतालाई जोड्दै, र हामी सबै जोडिँदै गइरहेका छाैं । हाम्राे यात्रा उज्यालाे तर्फकाे हाे । याे यात्रा जस्ताे सुकै अवराेध बाधाका बीच अगाडी बढीरहने कुरा यहाँहरुका बीच आत्मबिश्वासपुर्बक राख्न चाहन्छु ।

४९.यो तीन वर्षमा प्रदेश सरकारद्वारा सम्पादन गरिएका हजारौंको संख्यामा रहेका कामहरु मध्ये महत्वपूर्ण कामहरु र उपलव्धिहरु संक्षेपमा सबै सर्वसाधारणको जानकारीका लागि गाेजीमा राखेर फुर्सदमा पढन, हेर्न मिल्ने गरी गोजी पुस्तिका’ का रुपमा मुख्यमन्त्री कार्यालयले तयार पारेको छ, जुन आज यहाँ सार्वजनिक पनि गरिएको छ। त्यसको अध्ययन गरिदिन हुन सबैमा अग्रह गर्न चाहन्छु।

५०.काेभिड हाम्रा लागी अनपेक्षित रुपमा आइलाग्याे । चार महिना लामाे लकडाउनमा बस्नु परयाे । संसार मै देखा परेकाे नयाँ राेग भाइरस जस्ले संसारलाई लाई नै तहसनहस बनायाे। ठुल्ठुला बिकसीत र महाशक्ति राष्ट्रहरुलाई नै काेभिडले बिचलित बनायाे । त्यस्ताे महामारीकाे सामना गर्नु परयाे हामीले । यसरी कोभिड-१९ को महामारी हाम्राे प्रदेश प्रदेशमा उदयपुर जिल्लाको भुल्केमा सर्वप्रथम ठूलो संख्यामा देखापरेको थियो।

५१.तर हाम्रा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुझबुझ, लगन र चिकित्सकीय दक्षताले गर्दा त्यसलाई हामीले नियन्त्रण र व्यवस्थापन मात्र गरेनौं, हामीले त्यस बेला कोरोनासंग जुध्ने भुल्के मोडलकै रुपमा प्रस्तुत गर्न सफल भयौं।

५२.त्यसपछी कोरोना भाइरसकाे संक्रमण बढदै जाने क्रममा प्रदेश सरकारले नअत्तालिकन, व्यवस्थापकीय दक्षताका साथ जनतालाई विश्वास दिलाउँदै प्रभावकारी व्यवस्थापन गर्यो ।

५३.माघ २९ गतेको आँकडा र तथ्यांकलाई यहाँ प्रस्तुत गर्दा प्रदेश नं. १ मा जम्मा संक्रमित ३०,१६९ रहेकोमा २९,६८० जना अर्थात् ९८.४% निको भएर घर फर्केका छन्। यस भाइरसबाट ४६५ जनाले असामयिक मृत्यु वरण गर्नु परेको छ, ।

५४.हामी प्रदेश सरकारको तर्फबाट उहाँहरुको दिवंगत आत्माको शान्तिको कामना गर्दछु। सकृय संक्रमित २४ जना मात्र रहेका छन्। शुन्य संक्रमण भएका मुलुकका ४ प्रदेशमध्ये सबैभन्दा बढी ४ जिल्ला ईलाम, भोजपुर, संखुवासभा र सोलुखुम्बु यही प्रदेशका छन्।

५५.अहिले हाम्रो प्रदेशमा सघन उपचारमा कोही बिरामी छैनन् र भेन्टिलेटर उपचारमा पनि कोही छैनन्। अर्थात् चिकित्साकर्मी र सुरक्षाकर्मीहरुको दक्षतापूर्ण योगदानका फलस्वरुप यो सराहनीय सहजताको स्थितिमा हामी छौं।

५६.यस अवसरमा यो उपलव्धिका लागि म यस प्रदेशका चिकित्सा क्षेत्रका डाक्टर लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु र राष्ट्रसेवकहरुमा यो सराहनीय कार्यका लागि तथा आम जनतामा धैर्य र साथ सहयोगका लागि आभार व्यक्त गर्दछु, धन्यवाद प्रकट गर्दछु।

५७. काेभिडकाे राेकथाम, नियण्त्रण र उपचारमा हामीलाई बिभिन्न क्षेत्रबाट सहयाेग प्राप्त भएकाे छ । मैले उल्लेख गर्नैपर्छ । स्वीस सरकारले उल्लेख्य सहयाेग उपलब्ध गराएकाे छ । त्यसैगरी चीनकाे स्वसासित क्षेत्र तिब्बत सरकारबाट पनि हामीलाई उल्लेख्य सहयाेग प्राप्त भएकाे छ । अनि हामीले खडा गरेका काेभिड १९ जन सुरक्षा काेषमा बिभिन्न ब्यक्ति, बित्तिय संस्था, अन्य संघ सस्था, उधाेगी, ब्यापारी लगायतबाट प्राप्त भएकाे सहयाेग उल्लेखनीय छ । सबै राजनितीक दल, संचार जगत लगायत सबै क्षेत्रबाट प्राप्त सहयाेग, आ-आफ्नाे ठाउँबाट खेलिएकाे भुमिकाकाे म उच्च प्रसंशा गर्न चाहन्छु । याे भावना नै हाम्राे सम्पति हाे, बिकास र समृदकाे दरिलाे आधार हाे म सबैमा धेरै धेरै धन्यबाद भन्न चाहन्छु ।

५८.कोभिड-१९ महामारी र बन्दाबन्दी मानव समाजका लागि चुनौती बनेर हामीमाझ प्रवेश गर्यो। तर जाँदाजाँदै यसले नवीन अवसर पनि सिर्जना गर्यो। मास्क र सेनिटाइजरको प्रयोग यति बिघ्न कहिले भएकाे थियाे ? आइ.टी. प्रविधिको यति बिघ्न उपयोग यस आधुनिक कालमा कहिले भएकाे थियाे ?

५९.संसारभर जुम (zoom) को प्रयोग एक हप्तामा नै ४ करोड ४० लाख ग्राहक थप भई ३७% थप उपभोक्ताहरुले प्रयोग गरेको देखिन्छ।

६०. नेपालमा यो भर्चुअल बैठक गर्ने, ई-शिक्षा दिने, ई- भुक्तानी कारोबार, ई- स्वास्थ्य सेवा प्रदान गर्ने गरी नयाँ-नयाँ क्षेत्रमा अवसरहरु सिर्जना कहिल्यै भएको थियाे ? तर काेभिडले बुझायाे यी सबै कुराहरु एकैचाेटी साना ठुला धनी गरिब जुनसुकै कुना काप्चामा बसेका सबै जात धर्म र संस्कृति मान्ने मानब जातीलाई काेभिडले एकैचाेटी बुझायाे याे सकरात्मक कुरा हाे ।

६१.प्रदेश सरकारले पनि यस प्रविधिलाई यस अवधिमा भरपूर प्रयोग गरयाे ।

६२.प्रदेशलाई ‘डिजिटल प्रदेश’ मा क्रमशः रुपान्तरण गर्दै जाने हाम्राे घाेषित लक्ष्य अनुरुप digital रुपमा CM Dashboard को शुरुवात गरिएको छ ।

६३.Data Centre को काम अगाडि बढाइएको छ र नमुनाका रुपमा बिराटनगर स्थित यातायात सेवा प्रदेश कार्यालयलाई कागजरहित (paperless) बनाउँदै जाने काम अघि बढाएको छ। जस्काे सफ्ट लन्चिंग आज गरिएकाे छ हामी तीन महिना भित्रमा यातायात सेवा कार्यलयबाट उपलब्ध गराइने सबै सेवाहरुलाई डिजीटलाइज गर्न गइरहेका छाैं जसबाट घण्टाै लाइनमा बसेर सेवा लिने, बहुमुल्य समय खेर जाने, अपारदर्शि रुपमा हुने सबै खाले अनियमीतताका कामहरुकाे अन्त्य हुनेछ ।

६४.हामीले यि कामहरुकाे शुरवात गरेका छाैं । यातायात सेवामा मात्र हाेइन, मालपाेत लगायतकाे क्षेत्रमा समेत डिजीटल प्रबिधीकाे प्रयाेग गरेर हामी छिटाे, सुलभ र पारदर्शी सेवा हामी प्रदेशबासी जनतालाई दिन गइराखेका छाैं याे समेतकाे म जानकारी गराउन चाहान्छु ।

६५.यसरी हामी बिकास र समृद्विकाे यात्रामा तिब्रतम गतिमा अगाडी बढिराखेका छाैं । हाम्राे अर्जुन दृ्ष्टि त्यसैमा केन्द्रित छ ।

६६.यहीबेला देशमा एकाएक नयाँ परिस्थिती सिर्जना भएकाे छ सायद याे नेपाली जनताकाे चाहना, कल्पना भन्दाकाे बाहिरकाे कुरा हाे । अहिले सबैकाे ध्यान यसैमा केन्द्रित छ ।

६७.हामी सिधा भन्दा वा बुझ्दा देशमा पहिलाे पटक स्थिर र बलियाे सरकार बनेकाे थियाे । समृद नेपाल, सुखी नेपालीकाे राष्ट्रिय आकांक्षामा मुलुक एक ढिक्का भएकाे थियाे याे चाहनाकाे नेतृ्त्व केन्द्रिय सरकार र त्यस राष्ट्रिय आकाँक्षामा जाेडिएर प्रदेश र स्थानीय सरकारले गरिरहेका थिए ।

६८.तर एक्कासी सत्तारुढ दल भित्रैबाट मलुकलाई अस्थिरतातर्फ, अराजकता तर्फ अर्थात मुर्त रुपमा भन्दा दुइतिहाईकाे बहुमतकाे सरकारलाई ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमश प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरेर पुन: बिगत काे झै ६ महिने, ९ महिने, १५ महिने, १८ महिने सरकार बनाउने, ढाल्ने फाेहाेरी खेलमा लैजाने प्रयास कदम, जर्बजस्त भएपछि प्रम ज्युकाे लाेकतान्त्रिक कदमबाट मुलुक ताजा जनादेशमा गएकाे छ र फेरि बलियाे, स्थिरता, शान्ति, सुशासनका साथ बिकास र समृदिका लागी जनताले आफ्नाे फैसला अर्थात अभिमत प्रकट गर्नुपर्ने बिशेष समय र परिस्थिती आएकाे छ । म त्यसका लागी यस समाराेह मार्फत सबै प्रदेशबासी दिदीबहिनी दाजुभाईमा बिशेष अपील एवं आव्हान गर्न चाहान्छु ।

६९.प्रदेशमा समेत अस्थिरता सिर्जना गर्ने, अराजकता सिर्जना गर्ने, जनातामा पैदा भएकाे बिश्वास, उत्साह र आशामा ताताेपानी खन्याउदै, जनताकाे बिकास र समृदिकाे चाहनालाई तुसारापात गर्दै, संबिधान र संघियतालाई नै कमजाेर बनाउने गलत, उधेश्यका साथ प्रदेशमा चालिएकाे कदम अथवा मुख्यमन्त्रीकाे बिरुद्व आएकाे अबिश्वासकाे प्रस्तावलाई हामीले सामना गर्नुपर्ने भएकाे छ ।

७०.यस प्रसंगमा एकातिर लाेकतान्त्रिक मुलुकमा संशदीय अभ्यासमा, त्यस अन्तर्गतकाे मुल्य मान्यता, दलीय ब्यवस्था र प्रणाली अनि त्यस अन्तर्गत सामेल हुने दल र त्यसका बिधानहरु नै प्रमुख हुने गर्दछन ।

७१.हामीले यि कुराहरुकाे हेक्का राखेर जनताकाे बलिदानबाट प्राप्त ब्यवस्था र प्रणालीलाई संस्थागत गर्नु आजकाे आैपचारिक नेतृत्व र जिम्मेवारीमा बसेका हामीहरुकाे दायित्व हाे ।

 

७२.संसदीय अभ्यास, दलीय ब्यवस्था र प्रणाली र स्थापित र प्रचलित मुल्यमान्यता, बिधी बिधान बिपरीत गएर गलत अभ्यास र नजीरहरु स्थापीत नहुन भन्ने कुराकाे राम्ररी हेक्का राखेर उठेका कानुनी र बैधानिक प्रश्नहरुकाे निरुपण गर्दै प्रदेशमा उत्पन्न अन्याैलकाे चाडै अन्त्य गर्नुपर्ने भएकाे छ ।

 

७३.हामीले प्रदेशकाे राजधानी ताेक्ने काम सर्बसम्मत रुपमा गरेका छाैं । प्रदेशकाे नामांकन ताेक्न बाँकी छ । प्रदेश सरकारले नामांकन गर्न सेकन भन्ने कुराकाे अथवा यसमा दाेषाराेपण गरागर गर्नुकाे केही तुक छैन । हामीसंग माइन्युट छ । प्रदेश सभामा प्रतिनिधात्व गर्ने सबै दलहरुकाे सहमतीमा नै हामीले नामांकनकाे बिषय थाती रहेकाे हाे । काेभिडका कारण पनि हामी यसमा प्रबेश गर्न पाएनाैं तर जेहाेस यस बिषयमा प्रबेश गर्नैपर्छ र छिटाे टुंग्याउनै पर्छ ।

७४.सहजीकरणका लागी र छिट्टै टुंग्याउनका लागी सरकारकाे तर्फबाट म प्रतिबद्वता ब्यक्त गर्न चाहन्छु ।

७५.जसरी संघीय सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा तय गरेको छ, त्यसै गरी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य तय गरेको छ। यही दिर्घकालीन प्रादेशिक लक्ष्य हासिल गर्न हामी सबैका प्रयत्नहरु केन्द्रिकृत हुनुपर्नेछ ।

७६.यो ३ वर्षको अनुभवमा, शुरुमा हामीले सिक्यौं, त्यसपछी जनताको आदेशलाई शिरोपर गरेर विकास निर्माण र सुशासनका कामलाई अभियानका रुपमा द्रुत गतिमा अगाडि बढायौं तर त्यसले उत्कर्षको तह प्राप्त गर्न नपाउँदै कोभिड- १९ को महामारी र अहिले राजनीतिक संकटसंग आमनेसामने भएका छौं। यो हामी सबैका लागि छोटो समयमै ठूलो अनुभव हो। तर संघर्षको क्रमबाट गुज्रिरहँदा र यही क्रममा प्राप्त प्रगति र उपलव्धिहरुलाई हेर्दा भन्न सकिन्छ- हाम्रो समाजमा परिवर्तन सम्भव छ, आर्थिक समृद्धिका लागि रुपान्तरण सम्भव छ र हाम्रै जीवन कालमा सम्भव छ।

७७.यो आशा मात्र होइन, अपेक्षा मात्र होइन, मेरो मुटु र मस्तिष्कमा स्थापित भएको विश्वास हो। हामी सक्षम छौं। तमाम कार्यकर्ताहरु, राष्ट्रसेवक मित्रहरु र न्यायप्रेमी जनताको साथ पाएर हामीमा आँट, जाँगर र उत्साह थपिएको छ।

७८. आगामी दिनमा हामी नयाँ भिजन, रणनीतिक कार्य योजना तथा कार्यक्रमका साथ सबैको साथ लिँदै अगाडि बढ्ने छौं। वितेका तीन वर्षमा हामीले जे जति उपलव्धि हासिल गर्न सक्यौ । बस्तुनिष्ठ ढंगले समिक्षा गरेका छाैं । उपलब्धीहरुलाई हामीले सबै सामु पस्किएका छाैं । मध्यावधि समिक्षा प्रकासन गरेर सार्बजानिक नै गरिएकाे छ ।

कमजाेरीहरु मसिनाे गरी पत्ता लगइएकाे छ केलाइएकाे छ । आगामी दिनमा यही जगमा उभिएर सरकारले काम गर्नेछ । आगामी दिन र वर्षहरु उपलब्धी र परिणाम प्राप्तीका बर्षहरु मात्रै हुनेछन् । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।

७९.स्वच्छ सुखी र समुन्नत प्रदेशकाे प्रादेशिक आकांक्षा बाेकेर अगाडि बढिरहेको प्रदेश सरकारलाई सबै क्षेत्रको सकारात्मक साथ र सहयोग प्राप्त भएको छ । आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त हुने अपेक्षा राखेको छु ।

८०.प्रदेश सरकारलाई सहयोग र्पुयाउनु हुने प्रदेश सभा, सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक क्षेत्र, निजीक्षेत्र, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, संचार क्षेत्र र आम प्रदेशबासी दाजुभाई दिदी बहिनीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

अन्तमा,

८१.यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा आफ्नो अमूल्य समय प्रदान गर्नुहुने मा. प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु। यो समारोहलाई सफल तुल्याउन यहाँ उपस्थित प्रदेशसभाका सभामुखज्यू, बिभिन्न प्रदेशसभा संसदीय समितिका सभापति एवम् सदस्यज्यूहरु, मन्त्रीज्यू, राज्यमन्त्रीज्यूहरु, बिभिन्न राजनीतिक दलका अध्यक्ष लगायत नेताज्यूहरु, प्रमुख सचिव, सचिव लगायत सम्पूर्ण राष्ट्रसेवक साथीहरु, सञचारकर्मी साथीहरु तथा उपस्थित महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

२०७७ फाल्गुण ३ गते