अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ।

संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ।

संसद्‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन्।

संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो।

इलेक्टोरल मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ।

इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो।

ट्रम्पले के भने?

संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै 'ज्यानुअरी २० मा शान्तिपूर्ण हस्तान्तरण' हुने बताए पनि निर्वाचनमा धाँधली भएको प्रमाणविनाको दाबी छोडेका छैनन्।

"म यो निर्वाचनको नतिजाप्रति पूर्णरूपमा असहमत भए पनि ज्यानअरी २० मा शान्तिपूर्ण हस्तान्तरण हुनेछ," उनले आफ्नो प्रवक्ताको ट्विटरमा प्रकाशित ट्वीटमा भनेका छन्।

ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको छ।

"मैले सधैँ भनेको छु कि हामी कानुनी मत मात्रै गणना गराउने कानुनी सङ्घर्ष जारी राख्नेछौँ। यो राष्ट्रपतीय इतिहासमा सबैभन्दा महान कार्यकालको अन्त्य भए पनि अमेरिकालाई फेरि महान बनाउने सङ्घर्षको सुरुवात मात्रै हो," ट्रम्पले लेखेका छन्।

 

जोर्जियामा दुई डेमोक्र्याट विजयी

यसअघि जोर्जियाका दुवै सिनेट सिटमा रिपब्लिकनलाई हराउँदै बाइडनको डेमोक्र्याटिक दलमा उम्मेदवार विजयी भएका छन्।

यो विजयसँगै डेमोक्र्याटिक दलको माथिल्लो सदन सिनेटमा पनि बहुमत हुने भएको छ।

राफेल वारनक र जोन ओस्अफले सिनेटर रहेका केली लोफलर र डेभिड पर्डुलाई हराएका हुन्।

सन् २००९ यता पहिलो पटक डेमोक्र्याटिक दलको नियन्त्रणमा संसद्‌को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस हुने भएको छ।

 

जोर्जियाको निर्वाचनमा ४० लाखले मतदान गरेको बताइएको छ।

दुवै विजयमा मतान्तर झीनो भए पनि रिपब्लिकनहरूको नियन्त्रणमा रहेको जोर्जियामा डेमोक्र्याटिक दलको जित ट्रम्पको लागि नराम्रो झट्का हो।

वारनक जोर्जियाबाट निर्वाचित हुने पहिलो अश्वेत र अमेरिकी सिनेटमा हालसम्मकै एघारौँ अश्वेत सदस्य हुन्।

अमेरिका: संसद्‍मा भएको घटनाको निन्दा, ट्रम्पको ट्विटर र फेसबुक खाता बन्द 

 युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्।
 

आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन्।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्।

 

नेटोका महासचिवले चाहिँ त्यस घटनालाई स्तब्ध पार्ने खालको भनेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान हुनुपर्ने बताएका छन्।

फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले उक्त हमलालाई 'अन-अमेरिकन' अर्थात् अमेरिकी चरित्रसँग अमिल्दो बताएका छन्।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई 'प्रजातन्त्रमाथिको हमला' भन्दै त्यसबाट 'क्यानेडियालीहरू विक्षिप्त भएको' बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दङ्गा र हिंसाको समाचार हेर्नुपर्दा आफूलाई दुख लागेको बताउँदै शक्तिको शान्तिपूर्ण हस्तान्तरण गर्न आग्रह गरेका छन्।

न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले नागरिकको मताधिकार र त्यो निर्णय मान्य हुने अधिकारलाई भिडले पल्टाउन नहुने बताएकी छन्।

जबर्जस्ती प्रवेश

पूर्वराष्ट्रपतिहरूले मुख खोले

संसद्‌मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन्।

बराक ओबामा: इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन्। यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ।

विल क्लिन्टन: जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ।

जर्ज डब्ल्यु बुस: चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था) मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन... यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो।

 

फेसबुक र ट्विटरद्वारा ट्रम्पलाई प्रतिबन्ध

संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ।

आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि 'आइ लभ यू' लेखेका थिए।

ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ।

त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ।

फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाएको छ।

यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए।