काठमाडौँ – निर्वाचन आयोगले दुई कम्युनिष्ट पार्टीबीच नामलाई लिएर कायम विवाद टुंग्याएको छ। आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नामलाई वैधानिकता प्रदान गरेको हो।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच नामलाई लिएर झण्डै पाँच महिनादेखिको विवाद टुंग्याउँदै सत्तारुढ पार्टीकै नामलाई यथावत राख्ने निर्णयमा आयोग पुगेको हो।
आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार शुक्रबार दिउँसो सत्तारुढ पार्टीको नामलाई वैधानिकता दिने निर्णयमा आयोग पुगेको छ। एमाले र माओवादीबीच एकता भएपछि गठित नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० यही जेठ ११ गते आयोगमा दर्ता भएको थियो।
कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले त्यसको विरोध गर्दै आयोगमा उजुरी दिएको थियो। नामको विवाद टुंग्याउन यी दुई दललाई समय दिएपनि उनीहरु सहमत हुन नसकेपछि त्यसबारे निर्णय गर्ने जिम्मेवारी आयोगको काँधमा परेको थियो।
बुधबार आयोगले आफ्नै कार्यालयमा यी दुई दलका नेता तथा कानुनविदहरुलाई बोलाएर सहमतिका लागि आग्रह गरेको थियो। तर, उनीहरु सहमतिमा पुग्न नसकेपछि आयोगले सत्तारुढ दलको नामलाई वैधानिकता दिएको हो।
प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले दुवै दलको नाम फरक–फरक भएकाले त्यसमा कुनै पनि विवाद गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ।
तर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीको नाम आफ्नो पार्टीको नामसँग मिलेकाले र छोटकरीमा नाम राख्न बाधा पुगेको भन्दै विरोध जनाउँदै आएका छन्।
उनले नाम परिवर्तन नगरे त्यसविरुद्ध सर्वोच्च अदालत जाने चेतावनी यसअघि दिइसकेका छन्। कट्टेल नेतृत्वको पार्टी २०७० साल साउन १२ गते आयोगमा दर्ता भएको थियो।