धरान  /  नेपालमा मदिरा सेवन गर्ने दर पुरुषको भन्दा महिलाको बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । 

नेपालमा हालै भएको अध्ययनअनुसार मदिरा सेवन गर्ने पुरुष दर ५० प्रतिशतले वृद्धि हुँदा महिलाको दर ५४ दशमलव ९ प्रतिशतले वृद्धि भएको देखाएको हो । सन् २०१३ देखि २०२२ सम्म गरेको सर्वेक्षणले नौ वर्षमा मदिरा सेवन गर्नेको दर अधिक मात्रामा वृद्धि भएको देखाएको छ ।

आइतबार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले धरानमा आयोजना गरेको ‘मदिरा नियन्त्रण तथा नियमन’ सम्बन्धी कार्यशाला गोष्ठीमा प्रस्तुत गरेको तथ्याङ्कले वयस्कहरू (१५–६९ वर्ष०)का मानिसले दैनिक ११.७ प्रतिशतले मदिरा सेवन गर्ने गरेको उल्लेख गरिएको छ । ८ जनामध्ये एक जना मानिसले दैनिक मदिरा सेवन गर्ने गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले उल्लेख गर्नु भयो । 

विश्वमा मदिराको हानिकारक प्रयोगको कारणले गर्दा हरेक वर्ष ३० लाख मानिसहरूको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । जसले सबै प्रकारका मृत्युको ५.३ प्रतिशत प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । नेपालमा हुने सबै प्रकारका मृत्युहरूमध्ये ३.०४ प्रतिशत मृत्यु मदिराजन्य पदार्थका कारण हुने गरेको छ । नेपालमा सन् १९९० र २०१६ को बीचमा मदिराका कारण हुने मृत्यु ३ सय ७५ प्रतिशतले बढेको पाइन्छ ।

सुनसरीका अधिकांश शैक्षिक संस्थाको सटरमा नै मदिरा बिक्री हुने गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभएको छ । मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी कार्यशाला गोष्ठीमा प्रमुख जिल्ला आचार्यले स्कुलको सटरमा रक्सी व्यापार छ । यस विषयमा पालिकाले सोच्ने बेला आएको उहाँको भनाई छ । विद्यालयले सटर बनाएर व्यापार गर्न अनुमति दिने गरेकोले त्यसमा नगरले व्यवसाय गर्न अुनमति दिँदा सोच्नुपर्ने उहाँको भनाई थियो । 

गोष्ठीमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले सबैतिर समस्या रहेको बताउँदै मदिरा नियमनका लागि नियम कानून बनाएर अगाडी बढ्ने बताउनु भयो । 

महिलालाई धेरै चढ्छ रक्सीको मात 

सन् १९९१ देखि २००० बीचमा जन्मेका महिलाले आफ्ना पुरुष साथीले जत्तिकै रक्सी पिइरहेका छन् । यसको नकारात्मक असर देखिन सुरु भइसकेको छ । अमेरिकी सरकारी आँकडाका अनुसार सन् २००० देखि २०१५ को बीचमा ४५ देखि ६४ वर्षका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा ५७ प्रतिशतको वृद्धि भएको छ । जबकी यो वर्गका २१ प्रतिशत पुरुषको सिरोसिसका कारण मृत्यु भएको छ ।

यस्तै २५ देखि ४४ वर्ष उमेरका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा १८ प्रतिशतको वृद्धि देखिएको छ जबकी यसै वर्गका पुरुष साथीमा सिरोसिसका कारण मत्युको संख्यामा १० प्रतिशतको कमी देखिएको छ ।

यतिमात्र होइन, रक्सीको ओभरडोजपछि अस्पतालको इमर्जेन्सी पुग्ने महिलाको संख्यामा पनि वृद्धि भइरहेको छ । तर समस्या यतिमात्र होइन कि महिलाले धेरै रक्सी पिइरहेका छन्, वास्तविकता यो हो कि महिलामाथि रक्सीको असर पुरुषको तुलनामा भिन्न तरिकाले भइरहेको छ ।

वैज्ञानिकका अनुसार महिलाको शरिरबाट निकै सिमित मात्रामा अल्कोहल डिहाइड्रोगेनेज ९एडीएच० इन्जाइम निस्कने गर्छ । कलेजोबाट निस्कने यो इन्जाइमले शरिरमा अल्कोहललाई तोड्ने काम गर्छ ।

हार्वर्ड मेडिकल स्कूलमा मनोविज्ञानका प्राध्यापक र मेकलिन हस्पिटल म्यासाच्यूटएसमा एडिक्शन साइकोलोजिस्ट डन सुगरम्यान भन्छन्, ‘महिलामाथि रक्सीको असर धेरै हुने भएकाले रक्सी पिउने महिलालाई पुरुषको तुलनामा धेरै समस्या हुन्छ ।’

जो महिला धेरै रक्सी पिउँछन् उनीहरुमा पुरुषको तुलनामा रक्सीको लत र मेडिकल समस्या धेरै हुन्छ । यसलाई टेलिस्कोपिङ भनिन्छ – अर्थात् महिला पुरुषको तुलनामा निकै ढिला रक्सी पिउन सुरु गर्छन् तर चाँडै नै त्यसको आदी बन्ने गर्छन् ।

यतिमात्र होइन, महिलामा कलेजो र मुटु रोगसम्बन्धि रोगको आशंका पनि धेरै हुने गर्छ । पुरुषको तुलनामा रक्सीले महिलालाई पुर्याउने असरबारे एक दशक अघिसम्म त्यति जानकारी उपलब्ध थिएन किनभने यस्ता अध्ययन रक्सी पिउने पुरुषमाथि मात्र गरिन्थ्यो ।

सन् १९९० मा जब अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले क्लिनिकल रिसर्चमा महिलालाई समावेश गर्न सुरु गरे स्थितीमा परिवर्तन आएको हो । उक्त अध्ययनमा रक्सीको नशा लागिसकेको महिलालाई उनीहरुको समूहमा राखेर उपचार गरेमात्र उनीहरुको उपचार राम्रो तरिकाले हुनसक्ने निष्कर्ष निस्किएको थियो ।