धरान / कर्ण श्रेष्ठ धरान १ मा बसोबास गर्ने पुराना व्यवसायी हुुनुहुन्छ । धरानका आम चासोका विषय र सरोकारका विषयमा चासो र चिन्ता गरिरहने मध्य उहाँ पनि एक हुनुहुन्छ । धरानमा खानेपानीको दीर्घकालिन समाधानका लागि सरकारबाट कुनै काम नहुँदा उहाँ चिन्तित पनि हुनुहुन्छ । 

राणा, पञ्चायत, प्रजातन्त्र र उन्नत लोकतन्त्र सबै खेप्नु भएको श्रेष्ठ धरानमा खानेपानीको समस्या राणाकालदेखि नै भोग्दैं आएको बताउनु हुन्छ । 'समस्या राणाकालदेखि थियो । नयाँ व्यवस्था आयो । शासक फेरिए । शासन फेरियो । तर धरानको खानेपानीको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन् ।'- उहाँ भन्नुहुन्छ,-'अव यस विषयमा नागरिक नै जागरुक हुनु जरुरी छ ।' 

दलहरुले धरानको खानेपानी समस्या समाधान गर्न नसकेको उहाँ बताउनु हुन्छ । पछिल्लो समय धरान उपमहानगरको मेयर हर्कराज राई(साम्पाङ) भएर आए पछि समाधान होला भन्ने धेरै आशा र भरोसो धराने जनातामा थियो तर उहाँको पनि प्रचारबाजीमा सिमित भएको उहाँको बुझाई छ । धरानको खानेपानी समाधानका लागि अव नागरिक स्तरबाट जुटेर समाधान गर्नु पर्ने उहाँको जोड छ ।  धनकुटाको मुलघाट माथि भैसेघाटमा तीव वटा पानीका भङगाला भएको उक्त पानी धरान ल्याउन सहज र सुलभ हुने उहाँको सुझाव छ । नागरिक स्तरमा नेतृत्व गरेर पानीको लागि अभियान सुरु गरे आफु व्यक्तिगत रुपमा एक करोड सहयोग गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनु भएको छ । दलहरु, अहिलेको मेयरले धरानको खानेपानी दीर्घकालका लागि व्यवस्थापन गर्न सक्दैंनन् । दीर्घकालिन समस्या समाधानका लागि अव नागरिक स्तरबाट अभियान चलाएर पानीको व्यवस्थापन गर्न सकिने उहाँको भनाई छ । धनकुटाको मुलघाटबाट पानी ल्याउन सहज हुने उहाँ बताउनुहुन्छ । 

धरानको भूमीगत पानीको श्रोत कम छ । कोशी प्रोजेक्ट भारतले चलाउदा यहाँका प्राकृतिक श्रोत सबै कोशी व्यारेज लगियो । ढुङगा गिटी बालुवा निकाल्ने र यहाँका बोट विरुवा काटेर उजाड पार्ने काम हुँदा पानीको श्रोत सुकेर गएको उहाँको भनाई छ । 

अव पानीको दीर्घकालिन व्यवस्थापनका लागि सबै एकजुट भएर लागे श्रोत पनि उठाउन कुनै समस्या नपर्ने उहाँ बताउनु हुन्छ ।