• सरस्वती शर्मा छेत्री

छोटा रांगारुन चियाबारी,  दार्जिलिंङ । 

सुब्बा भाषामा इजा हाङ्गमालाई राजकुमारी भनिन्छ। इजा मन्जुला तामङ्ग सुब्बा अनि नविन सुब्बाको सुन्दर संसारमा फक्रिएकी एक सर्व गुण सम्पन्न भएकी   राजकुमारी हुनुहुन्थ्यो । उत्तर पूर्वाञ्चलबाट एउटै नेपाली छोरी इजा हाङमा मात्र थिइन् जसले महाराष्ट्रको पूणेस्थित अन्तर्राष्ट्रीय प्रतिष्ठित शैक्षिक संस्थान सिम्बायोसिस  प्रविष्टि पाउनु भएको थियो ।  

तर विधिको कस्तो  विधान यति सुन्दर अनि होनहार छोरीलाई बाइस बर्षको कलिलो उमेरमा कालले थाहै नपाई टपक्क टिपेर लग्यो । मुटुको टुक्रा प्राण भन्दा  पनि प्यारो छोरी आफुबाट कहिले नफर्किने गरि टाडा हुदाँ कुन आमा बाबुको चित्त बुझ्छ होला कल्पना पनि गर्न नसकिने कुरा होइन । आमा बाबु रोए  कराए ईश्वरसँग आस्था टुटेर गयो तर के गर्नु जीउने  वाध्यता, जीवन पछि मृत्यु निश्चित छ यो कटु सत्य हो । सबैलाई थाहा भएको कुरा भएता पनि यसलाई स्वीकार गर्न गाह्रै पर्छ ।

सन्तानको पीडा जस्तो दुखदायी पीडा संसारमा अर्को कुन पीडा होला ।  इजा हाङमा  उच्च शिक्षा हासिल गरेर फर्कि आफ्नै जन्म भूमिमा आफ्नै क्षेत्रका दाजुभाइ, दिदी, बहिनी मित्रहरुका शिक्षित जमातलाई  लिएर केही गर्छु भन्ने ठूलो संकल्प बोकेकी छोरीको स्मरणमा केही  सोची कष्टकर स्थितिमा दृढ सङ्कल्प,दह्रो इच्छाशक्ति बनाइ  कर्तव्यपरायण माता पिताले वाध्यता भित्र पनि प्रथम पुण्यतिथिको अवसरमा इजालाई जीवन्त राख्न केहि गर्न पर्छ भनि संकल्प गर्नु भयो । दरिलो मन बनाइ घुम हिटी छेउ दुई तल्ले प्रार्थना भवन इजा पियर हलकों निमार्ण गरिएको छ । यो पियर हलकों तल्लो तल्ला  सामाजिक, धार्मिक, सांगठनिक कार्यक्रमहरुको निम्ति खुल्ला राखि दिनु भएको छ ।  

मन्जुला तामङ्गले वाल्यकालदेखिनै कविता कोर्ने गर्नुहुन्थ्यो । तर उहाँले आफुले लेखेका कविताहरुलाई प्रकाशमा ल्याउनु भएको थिएन । विद्यालय पढ्दा साथीहरुलाई प्रेम पत्र लेखिदिए आफ्नो भाषा अव्बल बनाउनु भएकी मञ्जुलाले कविता लेखेर आफ्नो लाइवेरीमा थन्काउनु भएको थियो । प्राण प्रिय छोरीको  मृत्युले आधात बनेकी  आमाको तर्फबाट छोरीको वियोगमा कविता मार्फत आफ्नो मनमा उकुसमुकुस भएको भावनाहरु पोखाउन थाल्नुभयो । र पछिबाट यस मार्मिक भावनालाई स्मारिकामा समावेश गरियो । 

 इजा स्मारिकाको जन्म 

इजा स्मारिकाको जन्म ६ जनवरी २०१४ मा भएको थियो । यस स्मारिका भित्र इजाले पहिलो माता पितालाई लेखेको पत्रदेखि लिएर जन्म देखि लिएर मृत्यु हुन भन्दा केहि दिन अघिका तस्वीर,मर्माहत आमा मन्जुला तामङ्गको दग्ध हृदयले लेखेको छोरीको  मार्मिक कथा, कविता साथै अन्य विशिष्ट व्यक्तिहरुको इजा प्रतिको कारुणिक लेख  रहेको पत्रिका हो । 

दोस्रो  बाल पत्रिका ईजा उद्यान  १२ अगस्त २०१८ मा इजा को २८ औ जन्मदिनको अवसरमा छोरीलाई समर्पण गर्दै माता पिताले निकाल्नु भएको थियो ।

इजा स्मारिका अनि इजा उद्यान दुवैका सम्पादक वरिष्ट नाटककार सुनील राई प्रणामीले गर्नु भएको थियो । इजा प्रेयर हल उद्धाटन  देखि यता यस हलभित्र बीस पच्चीस जति नानीहरुले  आध्यात्मिक, नैतिक, शैक्षिक, अनि सांस्कृतिक गतिविधिमा अभ्यस्त रही  आफ्नै साथै यस हलको सरंक्षण साथै चौतफी उन्नतिको निम्ति सृजनशील वाल समुह पनि गठन गर्नु भएको छ । 

यस पत्रिका यही नानीहरुले सृजना गरेको पत्रिका हो ,यस पत्रिकाले नानीहरुमा उत्साह र प्रेरणा बढोस भनि यो प्रकाशित गरेका हुन् उनीहरुले ,यस पत्रिकामा केही विशिष्ट साहित्यकारहरुको प्रबुद्ध विचार, भावना अनि उनीहरुको सन्देशले नानीहरूलाई प्रोत्साहित तुल्याउने कार्य पनि गरेको छ। श्रीमती मञ्जुला  सुब्बा अनि श्रीमान नविन सुब्बालाई यस सृजनशील कार्यको निम्ति आभार व्यक्त नगरि बस्न सकिदैंन । 

उहाँहरुले इजा स्मारिकाको विमोचन देखि यता आध्यात्मिक, साहित्यिक, समाजसेवी, साङ्गीतिक, पत्रकारिता, चित्रकला, अनुवादक ,खेलाडी, नाटककार, रङ्गमञ्च कलाकार आदि जो आफ्नो भेक देखि लिएर बाहिर   वरिपरिका विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दै आउनुभएको छ । यस भित्र पनि कति यस्ता व्यक्तिहरु छन् उनीहरुको कार्य विशिष्ट छ तर हामी माझ  उनीहरु ओझलमा परेका थिए । कति यस्ता पनि छन् हामीले नाम सुनिरहेको छौ तर देखेका पनि छैनौ यस्ता समाजका विशिष्ट तर खरानी भित्रका  आगोका झिल्काहरुलाई सम्मान इजा प्रकाशनले गर्दै आएको छ। यसले यस संस्थाको झन गरिमा बढाएको छ । 

इजा

तिम्रो यादमा धड्किने मुटु

फ्यॉक्न सक्तिनॅ । 

आऊ अब नयाँ संसारमा डुलौ । 

मेरा खाता, डायरी, कलमहरुमा 

सुटुक्कै बस्नू 

मैले केही लेखिरहॅदा 

कलमसॅगै हिडिरहनु  । 

कल्पनाका नगरीमा म डुबिरहॅदा 

भावना बनी

तिमी शब्दहरुमा नाचिरहनू ।  

(श्रीमती मञ्जुला तामङ सुब्बा द्वारा छोरी इजाको वियोगमा लेखिएको कविता, कविता सङ्ग्रह ‘इजा अर्ध्य ‘बाट)

खुशीको कुरा इजा प्रकाशनले २०२३  देखि इजा स्मृति युवा सम्मान पुरस्कार शुरू गरेको छ। यो पुरस्कार इजाको जन्म दिनको अवसर पारेर घूममा नै प्रत्येक वर्ष दिने इजा प्रकाशनले जनाएको छ । यो एउटा उत्कृष्ट कामको थालनी हो । यसले लेखन कलामा झन लाग्ने प्रेरणा मिल्ने छ ।  

यो पुरस्कार पाउने प्रथम नारी पत्रकार, साहित्यकार, गजलकार निर्दोषिका तामङ रहनुभएको छ । इजा प्रकाशनले अन्तर्राष्ट्रीय स्तरमा पनि यस पुरस्कारलाई शुरू गर्ने निधो जानकारीले अव नेपाल लगायत मुलुमासमेत सेवा गर्ने व्यक्तिहरु पुरस्कारका भागीदारी हुने कुरामा दुर्ई मत छैन् । 

आफ्नो मुटुको टुक्राको यादहरूले समेटिएको इजाहाङ्मामाको स्मृतिमा उहाँको  मौलिक प्रकाशित भएको मूल्यवान कृति हो इजा अर्ध्य । 

यो कविता सङ्ग्रह १२।०८।२०२१ को दिन घूम वालुङ  किदुकमा विश्व नेपाली साहित्य महासंघ भारत शाखा अनि इजा प्रकाशनको सयुंक्त  आयोजना भव्य  अनि सभ्य रूपमा लोकार्पण   भएको  थियो। 

 यस कविता संग्रहमा इजाको अविश्मरणीय यादहरु बाहेक आफ्नो वरिपरि घटिरहेको घटनाहरुलाई समेटेर समाजलाई परिवर्तन गरेर नयाँ युगतर्फ  डोर्हाउने सकरात्मक  प्रगतिशील विचारहरु उहाँको कवितामा हामी पाउछौ । यर्थाथमा जीवनको नियतिलाई  नजिकबाट  नियाल्दै  आफै भुक्तभोगी भएर होला यी सबैलाई स्वीकार गर्दै कविताको हरफहरु सुन्दर शव्दहरुले भरिएको छ । उहाँको कविताले मन तृप्त हुन्छ कविता मोहक अनि सुन्दर छ । 

इजाकै नाममा मञ्जुला तामङ सुब्बा र नविन सुब्बाले साहित्यिक अनि सामाजिक गतिविधिहरूलाई समेटेर   इजाको दशौ पुण्यतिथिमा इजा प्रकाशनको विधिवत उद्घाटन  २१ अगस्त २०२२ मा गर्नु भयो । यसपछि २०२३ मा उहाका दुर्इ वटा कृति एकै साथ लोकार्पण भएका थिए । शृङ्खला कविता सङ्ग्रह कुहिरोभित्र घूम जोरबङ्गलो अनि केही अक्षर केही भाव तरङ्ग मुक्तक सङ्ग्रह निकै पठनीय संग्रहहरु हुन । 

जनजिब्रोमा सजिलोसँग अटाएको नाम घूम जोरबङ्गलो दुर्इ विभिन्न स्थानको नाम भएता पनि सबैलाई सजिलो लाग्ने यस शृङ्खला भित्र घूम जोरबङ्गलोका भौगौलिक, ऐतिहासिक, साहित्यिक, सांस्कृतिक, सामाजिक पाटाहरुलाई एकत्र  गरि यहाँको विविध विषयबारे बहुमूल्य वर्णन गरि लेखिएको कविता शृंङ्खला हो । 

छोरी इजालाई समर्पण गरिएको   दोस्रो मुक्तक सङ्ग्रह  केही अक्षर केही भाव( तरङ्गमा समाजलाई केही न केही सन्देश  मञ्जुला सुब्बाले  दिएकै छिन्। । 

इजा प्रकाशनले आज पर्यन्त धेरैवटा कृतिहरु  पनि प्रकाशित गरि सकेको छ। आफ्नो मात्र नभएर अन्य साहित्यकारहरको कृति पनि प्रकाशन गदैं आएको छ । सुनील राईको घरमा के के छन् (नाटक सङ्ग्रह २०१९), सरस्वती शर्मा छेत्रीको अगेनाको धुवाँ (कथा सङ्ग्रह  २०२२), सचिन राई दुमीको मुक्तकसरह (मुक्तक सङ्ग्रह २०२३) रहेका छन् । आउने दिनमा धेरै पुस्तकहरु इजा प्रकाशनबाट प्रकाशित हुने छन् । यसबाहेक पनि इजा प्रकाशनले महिनामा एकपल्ट विभिन्न स्थानमा गएर साहित्यिक कार्यक्रम पनि गरिरहेको छ। 

मञ्जुला तामङ सुब्बाले अन्य विधामा  पनि कलम चलाइरहनु भएको छ । उहाँको अनुपम  पुस्ताहरुले आउने दिनमा नेपाली साहित्यलाई थप टेवा पुग्छ भन्ने हामी आशावादी छौ। यस बाहेक उहाँ  कुशल उद्धोषिका साथै  अल इण्डिया रेडियो खरसाङका नियमित वार्ताकार पनि हुनुहुन्छ । 

हुनत इजालाई हामी कसैले पनि सशरीर यस जगमा ल्याउन सक्दैनौ न त हृदय धात भएका माता पिताको मर्म नै कम गर्न सक्छौ । जसले यस पीडालाई भोगेका छन् उनीहरुलाई मात्र थाहा छ तर इजा हामी सबैको हृदयमा साहित्य रुपी अर्ध्य भएर कवयित्री मन्जूला तामङ्ग सुब्बाको कविता, कथा ,मुक्तक  मार्फत बाचिरहने छिन् । जय इजा, जय नेपाली साहित्य  ।

कुहिराे भित्रकाे घूम जाेरबङगलाे कविता शृङ्खला र मञ्जुला