• डा. रोसन कलवार 

बरिस्ठ कन्सलट्यान्ट (हाडजोर्नी, नशा, चोटपटक)  तथा अध्यक्ष (नेपाल चिकित्सक संघ, धरान सुनसरी)

बिरामीले अस्पताल पुग्नुअघि घटना स्थल देखी नै अस्पताल बाहिर एम्बुलेन्स वा हेलिकोप्टरमै  दक्ष स्वास्थ्यकर्मी (इमर्जेन्सी मेडिकल टेक्निसियन)बाट पाउने आकस्मिक सेवालाई प्रि-हस्पीटल केयर भनिन्छ।  बिरामी ओसारपसार गरेर मात्र प्रि-हस्पिटल केयर हुँदैन। प्रि-हस्पिटल केयरमा अनिवार्य मेडिकल टिम पनि हुनुपर्छ। कुनै स्थानमा विभिन्न कारणले हुने दुर्घटना, प्राकृतिक प्रकोप, भौगोलिक जटिलता वा अन्य जुनसुकै कारणले बिरामीलाई बचाउन एम्बुलेन्स वा हेलिकोप्टरको सेवा चाहिन सक्छ। त्यस्तो अवस्थामा एक एक सेकेन्ड समयको महत्त्व हुनसक्छ। बिरामीको अवस्था हेरेर त्यही अनुसारको स्वास्थ्यकर्मीसहितको मेडिकल टोली उक्त स्थानमा पुगेर उनीहरुको उद्धार गर्नुपर्ने हुन्छ। तर धेरै जनालाई प्रि-हस्पिटल केयर भनेको थाहा नै हुदैन। यसलाई मानिस बिरामी भएपछि ओसारपोसार गर्ने सर्भिस मात्र भनेर बुझेको पाइन्छ। जुन अन्यथा हो।

प्रि-हस्पिटल केयर भनेको बिरामीले दुर्घटना स्थल देखि नै प्राप्त गर्नु पर्ने आकस्मिक उपचार हो जुन आपतकालिन मेडिकल टिमद्वारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा वा हेलिकोप्टरमा दिनु पर्ने हुन्छ। प्रि-हस्पिटल केयरको कन्सेप्टको अभावमा हाम्रो देश नेपालमा बचाउन सकिने बिरामी पनि मृत्युवरण गर्नु परेको वा थप अपांग भइ बाच्नु परेको अवस्था सर्वबिदित्तै छ। तर अझै पनि स्वास्थ्य सेवाका सरोकारवालाहरु, स्थानीय सरकार लगायत  धेरै जनालाई यसको खास विशेषता के हो भन्ने कुरा थाहा नभए जस्तो लाग्छ। कोही बिरामी भए वा दुर्घटनामा परेमा उक्त व्यक्तिको उपचारका लागि उद्धार गर्न पर्यो भने सिधै एम्बुलेन्स वा हेलिकोप्टर बोलाएको देखिन्छ। तर त्यसमा को को आउँछन्, के सेवा हुन्छ, इमर्जेन्सी मेडिकल टिम हुन्छ की हुँदैन जस्ता कुरा सोधेको पाइँदैन। यो कुरा बिरामीपक्षले बुझ्नु राम्रो हुन्छ। बिरामी ओसारपसार सर्भिस भित्रनै प्रि-हस्पिटल पर्ने कुरा हो र इमर्जेन्सी मेडिकल टिम सहित नै बिरामीको ओसारपसार हुँदा तत्काल देखिएका समस्याहरुबाट ज्यान जोगाइ राख्दै, थप स्वास्थ्य क्षति र अपाङ्ग हुनबाट जोगाउदै बिरामीलाई अस्पतालसम्म ल्याउन सकिन्छ जसका कारण बाटोमा बिरामीमा धेरै कम क्षति हुन पाउछ।

झन रुखबाट झरेको, भीरबाट लडेको, सडक दुर्घटना वा अन्य कुनै दुर्घटना मा पर्दा शरिरको कुनै पनि अंगमा समस्या भएको हुन सक्छ। त्यस्तो अवस्थामा विरामीको ओसारपसारमा एकदम केयर आवश्यक पर्छ। उसलाई उठाउने, एम्बुलेन्समा राख्ने, झार्ने र अस्पतालको बेडसम्म पुर्याउदा चोटपटक घाउ लागेको तथा  भाचिएको स्थानमा थप क्षति हुन नदिन सावधानी अपनाउन जरुरि हुन्छ।

हामी कहा एम्बुलेन्सहरु ट्याक्सीको पर्यावाची मात्रै भएको हामी मध्ये धेरैले भोगेकै हुनुपर्छ। अनि अस्पतालसम्म पुग्ने सडक झनै विरक्त लाग्दो र जोखिमपुर्ण छ। शरीरको कुनै पनि अंग भाचिएर अस्पताल लादैं गर्दा त्यो विरामीको हालत कस्तो हुन्छ भनी अनुमान गरि साध्य छैन्। झन हतार गरेर जसरी पायो त्यसरी बिरामी बोक्दा, ओल्टाउदा पल्टाउदा, एम्बुलेन्सबाट बेडमा झार्दा र एक बेडबाट अर्को बेडमा सार्दा कति दुखाइ बढछ र नशाहरु तथा मेरुदण्ड स्पाइनल कर्डमा क्षती भै ज्यानै गएको  वा सदाको लागि पक्षघात पारालाइसिस भएको तितो अनुभव धेरैलाई होला नै। दुर्घटना भइसके पछिको असावधानीले भाचिएको हड्डीहरु हल्लिदा ओर्दा चुच्चा चुच्चिहरुले नशा, मान्शपेशि, लिगामेन्ट आदि थप क्षतिग्रस्त हुन्छ र उपचार गर्न गार्हो भै समयमा निको हुदैंन ।

 त्यसैले यस्ता जटिलता हुन बाट बचाउन केही सामान्य सावधानी अपनाउनु जरुरी छ: 

१. एम्बुलेन्स ट्याक्सी जस्तो नबनाऔं। चालक र सहचालकलाई कम्तिमा प्राथामिक उपचारको तालिम प्रदान गरौं , जनचेतना जगाउ। सकेसम्म एम्बुलेन्समा मेडिकल टिम खडा गरौं। बिदेशमा जस्तै बिद्यालय, कार्यालय, प्रहरी, ट्राफिक कार्यालय आदि लगायत सबै नागरिकलाई आधरभुत जीवन सहारा (Basic Life Support, BLS) तालीम समय समयमा गराउ। यसको लागि नेपाल चिकित्सक संघ स्थानीय सरकार र सरोकारवालाहरु सङ्ग सहकार्य गर्न तयार छ र समन्वयको लागि हार्दिक अपिल गर्दछ। 

२. चोटपटक लागेको विरामीलाई सही किसिमले अस्पताल पुर्याउने वातावरण बनाउ। 

३. विरामीलाई एक स्थानबाट अर्को स्थानमा सार्दा वा लादा मेरुदण्डलाई बचाउन विशेष ध्यान दिउ।

४. चोटपटक लागेका विरामीलाई स्पाइन बोर्डमा राखेर सार्नु पर्छ । यसो गर्दा विरामी थप प्यारालाइसिस हुनबाट जोगाउन सकिन्छ। स्पाइन बोर्ड नभएको अवस्थामा एउटा दर्हो लगभग ६X३ फिटको प्लाइ बोर्ड प्रयोग गर्न सकिन्छ । यही बोर्डमा राखेर दुर्घटना स्थलबाट एम्बुलेन्समा, एम्बुलेन्सबाट बेडमा, एक बेडबाट अर्को बेडमा, X-ray, CT गर्ने बेडमा  सार्न सहज हुन्छ, दुखाइ पनि कम हुन्छ र थप क्षति हुन बाट पनि जोगिन्छ।

५. विरामीलाई अस्पताल ल्याउदा सावधानी नअपनाउदा कतिपय विरामीको बाटो मै मृत्यु हुने गरेको छ। त्यसैले प्रि-हस्पीटल केयर अत्यन्त आवश्यक छ। यस विषयमा हामी सबै सचेत बनौं र मानिसको ज्यान जोखिमबाट जोगाऔं। 

हड्डी भाचिए के गर्ने?  के नगर्ने?

१. भाचिएको ठाउँलाई सर्पोट दिनु पर्छ। उक्त भागलाई चलाउनु वा हल्लाउनु हुँदैन। भाच्चिएको हड्डीलाई धेरै चलाएमा उक्त भागमा भएको मान्शपेशी, नशा आदि थप च्यातिने र क्षति भै सदाको लागि अपांग   हुनसक्छ।

२. शन्कास्पद भाचिएको हड्डीको चारैतिर नजिकै उप्लबध पत्रिका, किताब, कार्डबोर्ड आदिको सहायाताले उप्लब्ध रुमाल, गमछा, सल, बेडशिट आदिले ठिकको धेरै टाइट नहुने गरि बेरेर सपोर्‍ट दिनुपर्छ र सक्दो चाडो अस्पतालमा लानुपर्छ। काँधको हड्डी भाचिएमा कुनै कपडा, लुगा वा सलले सहारा दिनु पर्दछ। तिघ्रा, नलि खुट्टा आदिको हड्डी भाचिए अर्को तिघ्रा, नलिखुट्टा सङ्ग बाधेर स्थिर पार्न सकिन्छ। 

३. यदी हड्डी भाचिएर घाउ भएमा वा शरीरबाट बाहिर निस्कएमा त्यसलाई संक्रमणबाट बचाउन सलाइन पानी वा सफा पानीले धोइ सफा  कपडाले ढाक्नु पर्दछ। 

४. गम्भीर चोटपटक लागेका विरामीलाई स्पाइन बोर्डमा सारेर मात्रै गाडीमा राख्नुपर्छ।

५. उद्दार गर्दा आफ्नो सुराक्षाको पनि ख्याल राख्नुपर्छ।

६. नजिकको प्रहरी, उद्दारकर्ता, अस्पताल, एम्बुलेन्स आदिलाई पनि तुरुन्त खवर गर्नुपर्छ।

दुर्घटना हुनु भन्दा दुर्घटना हुन नदिने उपायहरु अपनाएर आफू लगायत पुरै समाजलाइ जोगाउन प्रेरित गरौ।

(लेखक नेपाल चिकित्सक संघ धरान सुनसरी शाखाका अध्यक्षा तथा विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका बरिस्ठ हार्डजाेर्नी विशेषज्ञ तथा प्रोफेसर पदका प्रत्यासि हुनुहुन्छ)

IMG-20240219-WA0002