काठमाडौं । ललितपुरको बालकुमारीमा कोरिया जाने सपना बोकेका दुईजना युवकको आन्दोलनका क्रममा शुक्रबार  ज्यान गएको छ । त्यसलगतै उच्च अदालत पाटनले यसअघि सिपबिल्डिङ सेक्टरमा परीक्षा दिएका सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको छ । 

‘सिपबिल्डिङ सेक्टर’ र ‘म्यानुफ्याक्चरीङ सेक्टर’ कोरिया सरकारले आफ्नो देशमा कामदार माग गर्ने कोटाहरु हुन् । कोरियाली सरकारले नेपालबाट ‘सिपबिल्डिङ सेक्टर’ र ‘म्यानुफ्याक्चरीङ सेक्टर’ लगायतका विभिन्न क्षेत्रहरुका लागि कामदारहरु माग गर्दै आएको छ ।

तर, यी विभिन्न क्षेत्रहरुमध्ये एक वर्षमा कुनै एउटै सेक्टरका लागि मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले व्यवस्था गरेको छ । कोरिया जानका लागि गत असार महिनामा नै ‘सिपबिल्डिङ सेक्टर’ लागि विज्ञापन खुलाई परीक्षा समेत भयो । जसमा ३५ हजार बढीले आवेदन दिएका थिए ।

त्यसको लगतै सन् २०२३ समाप्त हुनै लाग्दा गत मंसिर महिनाको अन्तिमतिर आर्थत डिसेम्बर महिनामा कोरियाको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ का लागि भारी मात्रामा विज्ञापन खुल्यो । जसका लागि १ लाख ४३ हजार भन्दा बढीले फर्म भरिसकेको ईपीस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले बताउनुभएको छ । 

तर, उच्च अदालत पाटनले दुई युवकको ज्यान गइसकेपछि सिपबिल्डिङ सेक्टरमा खुलेको विज्ञापनमा परीक्षा दिइसकेकालाई पनि मंसिरको अन्तमा खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको छ ।

यसअघि उच्च अदालत पाटनकै आदेशपछि सिपबिल्डिङमा आवेदन दिइसकेका १८ जनालाई मात्रै ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भर्न इपीएस कोरिया शाखाले सहमति जनाएपछि विवाद सुरु भएको हो ।

जहाँ म्यानुफ्याक्चरीङ सेक्टरमा फर्म भर्न नपाएका युवाहरु आन्दोलित भए । जसका कारण भौतिक पूर्वाधार तथा यातायात तथा मन्त्री प्रकाश ज्वालाकोे गाडीमा आगो लाग्यो, दुईजना युवकको मृत्यु समेत भइसकेको छ ।

 घटनाको छानबिन गर्न समिति गठन

कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 


काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य हुनुहुन्छ । 

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा छ । 

विज्ञप्तिमा इपिएस परीक्षा फारम भर्ने विषयलाई लिएर त्यहाँ जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी, आर्थिक, भौतिक, एवं मानवीय क्षतिप्रति गृहमन्त्रालयले दुःख व्यक्त गरेको छ ।

ज्यान मार्न पाइँदैन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

 नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जनताको ज्यान मार्न पाइँदैन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

उनीहरुले अस्कल क्याम्पसलगायत क्षेत्रबाट जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सरकारी गाडी तोडफोडको प्रयास पनि गरेका छन् ।

आज दिउँसो ईपीस परीक्षाको विषयलाई लिएर भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि घटनामा दुई जनाको मृत्यु भएको विषयको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको हो ।