पाँचथर । पाँचथरमा एक करोड २८ लाख रुपैयाँमा लगानीमा बनेको पक्की पुल प्रयोगविहीन भएको छ । विसं २०७३ सालमा निर्माण सम्पन्न भएको हिलिहाङ गाउँपालिकाको वडा नं ४ पञ्चमी र वडा नं ५ सुभाङलाई जोड्ने सुभाङ खोला पुल प्रयोगविहीन भएको हो ।
यो पुल रहेको ठाउँभन्दा करिब सय मिटरमाथिबाट तमोर करिडोर बनेपछि तीन वर्षदेखि पुल प्रयोगविहीन अवस्थामा छ । करिडोर निर्माणपछि पुलसम्म पुग्ने कच्ची सडक पनि क्षतिग्रस्त भएको छ । अहिले यो पुल सुभाङ खोलाको वारिपारिका कृषकको आवतजावत बाहेक अन्य काममा प्रयोगमा छैन ।
हिलिहाङ–५ का खगेन्द्र योङहाङका अनुसार वर्षायाममा सुभाङ खोला पार गर्न समस्या भएपछि यहाँ पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिमा स्थानीयवासीबाट माग भएको थियो । तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार र जिल्ला विकास समिति पाँचथरको संयुक्त लगानीमा १६ दशमलव ३० मिटरको पक्की पुल निर्माण भएको थियो । एक करोड २८ लाखको लागतमा इलामको गजुरमुखी निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गरेको थियो ।
पुल सञ्चालनमा आउनासाथ करिडोर निर्माण शुरु भयो । अहिले यो पुल रहेको ठाउँबाट करिब सय मिटरमाथि करिडोरमा कल्भर्टबाट गाडी आवतजावत गर्ने गरेका छन् । करिडोरबाटै गाडी आवतजावत गर्न थालेको तीन वर्ष नाघिसकेको छ । तमोर करिडोर निर्माणको सर्वेका क्रममा यही पुललाई प्रयोग गर्न स्थानीयवासीले जोड दिए पनि प्राविधिक जटिलताले सम्भव नभएको योङहाङको भनाइ छ ।
यो पुल प्रयोग गरी करिडोरका ट्रयाक निर्माण गर्न हिलिहाङ–४ तर्फ उपयुक्त नभएको र पुल सिङ्गल लेनको भएकाले भविष्यमा प्रयोग हुन नसक्ने भनेर प्राविधिकले भनेँु, योङहाङले भन्नुभयो, ुत्यसैले करिडोरले यो पुललाई प्रयोग गरेन ।
हिलिहाङ–५ का तिलक सुहाङ राज्यको ठूलो लगानी खेर जाने अवस्था आएको बताउनुहुन्छ । ुपुल बनिनसक्दै नयाँ सडक निर्माण भयो । राज्यको ठूलो लगानी यतिकै खेर गयोु, सुहाङले भन्नुभयो, दीर्घकालीन सोच राखेर बनाइएको भए राज्यको लगानी खेर जाने थिएन ।ु पुल निर्माण भएको दुवैतर्फ धान उत्पादन हुने खेत थियो । एकातर्फ कृषकको खेती मासिएको छ भने बनेको पुल झाडीले छोपिँदै गएको छ । यो पुलबाट करिब चार वर्ष गाडी ओहोरदोहोर गरेको हिलिहाङ–४ का डम्बर आचार्यको भनाइ छ ।
तमोर करिडोर अहिले सञ्चालनमा रहेको ट्रयाक पुलको पारिपट्टि जलुके पहिरोले क्षतिग्रस्त बनेको छ । विगतबाटै पहिरोको समस्या रहेको यस ठाउँमा सडक स्थायी हुन नसक्ने भएकाले सुभाङ खोला पुल प्रयोग गरी नयाँ ट्रयाकलाई कालोपत्र गरिनपर्ने स्थानीयवासीको माग छ ।