काठमाण्डौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, प्रशिक्षण विभागले २०८० भदौ २४–२६, काठमाण्डौँमा आयोजना गरेको ‘गुणस्तरीय शिक्षाका लागि विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापन’ अभिभावक अधिकार विषयक प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । 

नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कार्यकारी निर्देशक डा. गणेश पौडेल र शिक्षा नीति तथा अभ्यास केन्द्रका निर्देशक टीका भट्टराईले आजको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्नुभयो । 

म मेरो विद्यालय कस्तो बनाउन चाहन्छु ? यो मूल प्रश्नको उत्तर मूलतः विव्यसले नखोजेसम्म विद्यालय नबन्ने दाबी पौडेल सरको रह्यो । विव्यस पदाधिकारी मूलतः ३ वर्षका लागि हुन्, केही जानेका हुँदैनन्, हामीजस्ता पढालेखा पनि हुँदैनन्, झोंक चलाए भने कक्षामा गइदिन्न, कसले मलाई के गर्न सक्छ ? भन्ने मान्यता विकास भएसँगै कतिपय सामुदायिक विद्यालय चौपट भएका केही दृष्टान्तहरू उहाँले पेश गर्नुभयो ।

यस्तो दयनीय अवस्थामा समेत अविलम्ब सुधारको खाँचो औंल्याउँदै यसमाथि पनि विद्यालय सञ्चालनका आधारभूत शर्तहरूको फेहरिस्त लिएर पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यतालिका र मूल्यांकन विधिका आधारमा विव्यसले जिम्मेवारीपूर्वक अग्रसरता लिनुपर्ने तर्क कार्यकारी निर्देशक पौडलको थियो । कानूनले दिएको सेवासुविधा लिने तर कानूनतः कर्तव्यनिर्वाह नगर्ने शिक्षक विद्यालयको शैक्षिक गुणस्तरको प्रश्नमा वृद्धि–विकासका लागि स्वयंमा बाधक हो, अर्थात् घुमाउरो अर्थमा व्यवसायिक शिक्षाको पक्षपोषक हो उहाँको दाबी रहेको थियो ।

निजी विद्यालयको प्रभावमा राज्यको नीति बन्ने, बनेको त्यो नीतिको प्रकाशमा नेतृत्व चल्ने, नेतृत्व स्वयंले निजी विद्यालय सञ्चालन र व्यवस्थापनमा अग्रसरता लिने गरेको कारण समुदाय समर्पित सामुदायिक विद्यालयको अन्तरव्यवस्था खस्किएको निर्देशक भट्टराईको तर्क थियो । हामीले आफ्नो सन्तान कस्तो होस् ! तिनले पाउने शिक्षादिक्षा कस्तो होस् ! के चाहन्छौँ ? शिक्षाले समाजमा समानता ल्याउनुपर्ने तर किन ल्याउन सकेन ! शिक्षा केका लागि– ज्ञानआर्जनका लागि ? केही गर्नको लागि ? सहअस्तित्व कायम गर्नको लागि ? आफ्नोपन विकास गर्नको लागि ? यस्ता कैयौं असरल्ल प्रश्नैप्रश्न र अपेक्षाको बीचमा विद्यालय शिक्षा गुणस्तरीय भएन भनिन्छ । भएन भने सुधार केमा ? कसरी गर्ने ? कसले गर्ने ? कहिले गर्ने ? हो, यहिँनेरबाट विव्यसले अग्रसरता लिनुपर्ने राय उहाँको थियो । 

प्रजातन्त्र स्थापनापछि सामुदायिक शिक्षाको क्षेत्रमा समुदायको उपस्थिति ह्रास आएको छ । निजी विद्यालयले आफ्नो मुनाफामा आधारित आवाज उठाए । यो आवाज सुनियो, यसको प्रभाव रह्यो तर लक्षित समुदायका बालबालिका र अभिभावकका बारेमा आवाज उठाइएन । यसनिम्ति महासंघले यो खालको अग्रसरता लिनुपरेको छ । विव्यसलाई अधिकार छ तर यससम्बन्धी आवश्यक ज्ञान र शिक्षा छैन । यसको पूर्णताको लागि प्रशिक्षक प्रशिक्षण राखिएको हो भन्दै अध्यक्ष गुणराज मोक्तानले आजको कार्यक्रमको अध्यक्षता गर्नुभयो । 

कार्यक्रम सञ्चालन सचिव एवम् प्रशिक्षण विभाग प्रमुख काशीराज दंगाल गर्नुभएको थियो भने संस्थापक अध्यक्ष कृष्ण थापा, महसचिव देवी खड्का, बलराम पोखरेल, अनुप सुवेदीलगायत सातवटै प्रदेशबाट रहेको प्रतिनिधिमूलक सहभागिता निकै उत्साहजनक र उर्वर थियो । 

शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा चल्ने त्रीदिवसीय कार्यक्रमको आज पहिलो दिन हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकसँगको सक्षम सहकार्यले मात्र सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर कायम हुने रहने अर्थमा निकै फलदायी र सिकाइपूर्ण रहेको सहभागी युवराज बास्कोटा बताउनुहुन्छ ।