- गिदोन लामिछाने
सन् १९६९ साल अघि नेपालमा गोर्खा पश्चिमका २२ वटा राज्य, गोर्खा पूर्वका २४ वटा राज्य, उपत्यकामा ३ वटा मल्ल राज्य र उपत्यका पूर्व ३ सेन राज्यहरु गरी जम्मा ५२ वटा गणराज्य थिए । ति सबै राज्यको आफ्नै राज्यनीति, अर्थतन्त्र, सैन्य अवस्था आदि थिए । उबेलाको नेपाल भनेको काठमाण्डौं उपत्यकालाई मात्रै चिनिन्थ्यो । गोर्खाका राजा पृथ्वीनारायण शाहले गोर्खा साम्राज्यको विस्तारका क्रममा बलपूर्वक अन्य राज्यहरुलाई कब्जामा लिए र सन् १९६९ मा नेपाल नामकरण गरिएको हो । आधुनिक नेपालको इतिहास उनै पृथ्वीनारायण शाहको एकीकरण पछिको अवस्थालाई बुझिन्छ । आधुनिक नेपाल बन्नुभन्दा पहिला हरेक राज्यका आ–आफ्नै मौलिक परम्परा, संस्कृति, धर्म, भाषा लिपि आदि थिए । पृथ्वीनारायणले नेपाललाई एकात्मक शैलीमा शासन चलाए । उनले एकल नश्लीय जातीय तथा एकल धार्मिक हिन्दु राज्यको स्थापना गरेका हुन् । अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । नेपालको संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको सिद्धान्तलाई आत्मसाथ गरिएको छ । नेपालको संविधान २०७२ को मुलअंश प्रस्तावनामा नै लेखिएको छ, ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै...;’ उल्लेख गरिएको छ ।
कतिपय विद्धानहरुले पनि नेपालमा अहिले इसाई समुदायलाई विदेशी शत्रुका रुपमा घोषणा गर्दै इसाई मतलाई अस्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेको पाइन्छ । उनीहरुका अनुसार नेपालमा लोकतन्त्र आएपछि नेपालमा इसाईहरु भित्रिएका हुन् भन्ने बुझाई पाइन्छ यो सरासर गलत हो । अहिले भन्दा ४ सय वर्ष पहिलादेखि नेपालमा इसाईहरु रहेका छन् । कतिपयले ब्रिटिश सेनामा नेपालीहरु लाहुरेका रुपमा भर्ना भएको र त्यसपछि मात्रै नेपालीहरु इसाई भएको अनुमान लगाएर प्रथम विश्वयुद्ध सन् १९१४–१९१८ पछि मात्रै नेपालमा इसाई मत भित्रिएको चर्चा परिचर्चा गरेको पाइन्छ । कतिपयले सन् १९३९–१९४५ सम्म भएको दोश्रो विश्वयुद्धपछि इसाई मत नेपालीहरुले मानेको अनुमान गरिएको छ । तर नेपाली इसाई इतिहास यति छोटो छैन । नेपाल देश बन्नु भन्दा पहिलाबाट नेपालमा इसाईहरु थिए भन्ने तथ्य कतिपयलाई थाहै नहुन सक्छ । गोरखामा पृथ्वीनारायण शाह जन्मनु भन्दा करिब १ सय वर्ष अघि नै नेपालमा इसाईहरु थिए । नेपालमा इसाई विश्वासको प्रचार सन् १६२६ बाट भएको हो । सन् १६२८ मा त तत्कालिन कान्तिपुर राज्यका राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसनरी जेसुइट फादर जुआन काब्रललाई ताम्रपत्र दिएर सम्मान समेत गरेका थिए । उ बेला देखि नै काठमाण्डौ (किर्तिपुर÷कान्तिपुर) को भाद्गाउँबाट नेपाली इसाईहरुको सुरुवात भएको हो । आजभन्दा ४ सय वर्ष अगाडी नेवार समुदायका मात्रै ७६ जनाले येशु ख्रीष्टलाई ग्रहण गरेका थिए । सन् १७०७ मा इटालीको रोमबाट ६ जना केपुचिन फादरहरु ४ वर्ष लामो पैदल यात्रापछि नेपाल आएका थिए । सन् १७१५ बाट विदेशी मिसनरीहरु स्थायी रुपमा नेपाल बसोबास गरेर इसाई धर्मको प्रचार प्रसार गरेका हुन् । सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाण्डौंमा ‘द एजम्प्सन अफ आवर लेडी’ नामको चर्च नै शुरु गरेका थिए । काठमाण्डौंमा सन् १६६१ मा बेल्जीयमका मेसनरी अल्बर्ट र अष्ट्रियाका मिसनरी जोहान आएका थिए जुन बेलासम्म उपत्यकामा सयौंको संख्यामा नेपालीहरुले इसाई मतलाई ग्रहण गरेर इसाई बनिसकेका थिए । जुन समय आधुनिक नेपालका निर्माता तथा हिन्दु अभियान्ता पृथ्वीनारायण शाहले काठमाण्डौंमा पाइला पनि टेकेका थिएनन् ।
गोरखाली राजा पृथ्वीनारायण शाहले सन् १७६९ मा काठमाण्डौं उपत्यका कब्जा गरेपछि केपुचिन फादरसहित नेवार समुदायका ५७ जना नेपाली इसाईलाई देश निकाला गरेका थिए । उनीहरु भारतको पटनास्थित बेतियामा पुगेर बसोबास गरे । तर स्मरण रहोस् बाँकी रहेका १९ जना नेपाली इसाईहरु नेपालमा नै थिए । खुलेआम इसाई हुँ भनेर धर्म प्रचार गर्न नपाए पनि उनीहरुले भित्रभित्रै भुसको आगोझैं येशु ख्रीष्टको सुसमाचार प्रचार गरेर कैयौलाई इसाई बनाई सकेका थिए । नेपालमा सबैभन्दा पहिला नेवारहरुले येशुमा विश्वास गरेका थिए । सन् १७६९ देखि सन् १९५० सम्म झण्डै १८० वर्षसम्म नेपालमा इसाईहरुलाई राज्यको तर्फबाट प्रतिबन्ध लगाइयो तर नेपाली भूमिमा जन्मेका उपत्यकाका आदिवासी नेवारहरुलाई आप्रवासी गोरखालीहरुले खेदाएका हुन् । गोरखाली राज्यसत्ताले इसाइहरुको खेदो गरेको हो । दमन गरेको हो । सतावटमा पारेको हो । तर उनीहरुले यो कुरा बुझ्नु आवश्यक छ की, नेपाल देश बन्नुअघि नै नेपाली इसाईहरु थिए । हिन्दुधर्मलाई राज्यको धर्म बनाउनु अघि नै नेपालमा इसाईहरु थिए । पृथ्वीनारायण शाहको जन्म ७ जनवरी १७२३ मा गोरखामा भएको हो, त्यो भन्दा ९७ वर्ष अघि नै नेपालमा इसाईहरु थिए ।
भारतमा उदायका हिन्दुहरु भारतमा शासन गर्न असफल बनेका थिए । सन् १६१३ देखि ब्रिटिसले भारतमा शासन गरेको थियो । ब्रिटिसबाट भारत १५ अगष्ट १९४७ मा स्वतन्त्र भएको हो । भारतमा इष्ट इण्डिया कम्पनी सन् १६०० डिसेम्बर ३१ मा स्थापना भएको र सन् १८७४ जुन १ मा बन्द भएको हो । यहि कम्पनीका माध्यमबाट ब्रिटिशले भारतमा शासन गरेको हो । भारतबाट भागेर ११ औं शताब्दीको अन्त्यतिर नेपालको पश्चिम क्षेत्र लमजुङ, गोर्खा हुँदै नेपाल प्रवेश गरेका हिन्दुहरुले जयस्थिति मल्लको पालामा सन् १३३५ तिर भक्तपुर राज्यमा वेद र मनुस्मृतिमा आधारित जात व्यवस्थाको स्थापना गरेका थिए । वि.सं. भारतीय उज्जैन राज्यका ब्राह्मण राजा विक्रम आदित्यको नाममा स्थापना भएको । विक्रम सम्बत् भारतमा भने लागु भएको छैन तर नेपालमा विक्रम सम्बतको अधिकारिक प्रयोग राजा पृथ्वी वीर विक्रम शाहको पालामा सन् १९०१ सालबाट (वि.सं. १९५८) मात्रै शुरु भएको हो । त्यो भन्दा पहिला सक् सम्बत्, नेपाल सम्बत्, येले सम्बत् आदिको प्रयोग गरिन्थ्यो । त्यसअघि वि.सं. हिन्दुहरुले मात्र प्रयोग गर्थे ।
सन् १७९२ मा विलियम केरीले नेपाली भाषामा बाइबलको नयाँ करालाई अनुवाद गरेको थिए भने सन् १९१४ मा पुरै बाइबल नेपाली भाषामा पादरी गंगाप्रसाद प्रधानले भारतको दार्जिलिङमा बसेर अनुवाद गरेका थिए । नेपाली इसाईहरु पहिचानका लागि होइन मानिसले मानव भएर बाच्न पाउने वातावरण सृजनाका लागि परिवर्तन चाहन्छन् । जस्तै जातीय, बर्गिय, लिङ्गिय, क्षेत्रीय आदि असमानता र विभेदमुक्त समतामुलक समाज बनाउने इसाईहरुको जोड रहन्छ । हिन्दुहरुको पहिचान भनेको ब्राह्मणवाद, पुरेत्याँईवाद, जातिवाद, सतिप्रथा, छुवाछुत प्रथा आदि हुन् त्यसाई इसाईहरुले अस्वीकार गर्दछन् । नेपालको सतिप्रथा इसाईहरुकै कारण हटेको हो भने छुवाछूत प्रथा पनि इसाईकै कारणले हट्नेवाला छ ।
मानव उत्पत्तिलाई ‘भूमिको माटो परमेश्वरले लिनुभयो, आफ्नै स्वरुपमा बनाउनु भयो र जीवनको स्वास नाकको प्वालबाट फुकिदिनु भयो । नर र नारी नै उहाँले बनाउनु भयो ।’ त्यसैले इसाई विश्वासमा लैङ्गिक विभेद वा भेदभाव छैन, मानव समाज निर्माण हुन नर र नारी दुवैको महत्व र आवश्यकतालाई जोड दिएको छ । सृष्टिको पहिलो पुरुषलाई आदम र स्त्रीलाई हब्बा भनिन्छ । त्यसपछि नोआको पालामा जलप्रलय भयो र उक्त समयमा नोआकी पत्नि, छोराहरु सेम, हाम र यपेत र उनका पत्निहरु गरी जम्मै पृथ्वीमा ८ जना मानिस जीवित रहे र उनीहरुकै सन्तान आज संसारका करिब ८ अर्ब मानिस हुन भनि इसाई मतले स्वीकार गर्दछ । जसमध्ये विश्वको आधा जनसंख्याले इसाई मतलाई अंगिकार गरेका छन् । विश्वमा झण्डै ४ अर्ब मानिस इसाई धर्ममा आस्था राख्दछन् । यो विश्वको सबैभन्दा ठूलो धर्म हो भने नेपालका १० धर्ममध्ये ५ औं स्थानमा इसाई मत मान्नेहरुको संख्या रहेको छ । इसाई मत मान्नेहरु प्रति घण्टा बृद्धि भइरहेको छ ।
नेपालमा जातिगत तथ्याङ्कका आधारमा इसाईहरुको संख्या निकालिएको छैन तर जस्तो संचरना छ, त्यहि अनुपातमा इसाई मत स्वीकार गर्ने संख्या छ । इसाई भित्र जातिगत चर्च तथा संगठन हुँदैनन् तर नामको पछाडी लेखिने थरलाई भने परम्परागत थर नै लेखिन्छ त्यो उसको चिनारी मात्र हो । थरका आधारमा तहगत संरचना हुँदैन । एउटा इसाईले स्वऐच्छिक भेटी, दशांस तथा सरसहयोग समेत गर्दछ तर दबाव हुँदैन । इसाई मत अनुसार पुर्नजन्म, चक्रिय प्रणालीमा होइन मात्र पुर्नउत्थानमा विश्वास हुन्छ । मान्छेसँग आत्मा, शरीर र प्राण हुन्छ । आत्मा र शरीर अलग हुँदा प्राण सिद्धिन्छ, शरीर मरणशील हुन्छ तर आत्मा नमर्ने हुन्छ, आत्मा स्वर्ग र नर्क मध्ये एउटा स्थानमा प्रवेश गर्छ । इसाईहरुलाई जातिच्यूत गरेर म्लेक्ष्य बनाउने भनेको हिन्दुहरुले नै हो । अहिले ६५ प्रतिशत दलित इसाई भए भन्ने कुरा तथ्यहीन, कपोलकल्पित र निराधार मिध्या आरोप मात्र हो । सबै जातिका मानिसहरु इसाई बन्नेक्रममा छन् । जुनसुकै जातिबाट पनि इसाई बन्न पाउँछ । इसाई भएपछि जातीय मुक्ति हुन्छ भन्ने कुरा सत्य हो, किनकी इसाईहरु भित्र जातीय भेदभाव हुँदैन, सबैलाई समान व्यवहार गरिन्छ र सबै एउटै ईश्वरका सन्तान हुन् भन्ने भातृप्रेम रहन्छ । इसाई भएपछि दीर्घ रोगीले निशुल्क औषधी पाउँछ भन्ने गलत हो, किनकी इसाईहरुले दबै तथा ओखती बाड्दैनन् तर प्रार्थनाद्धारा धेरै जनाले चंगाई पाउँछन् र निको हुन्छन् त्यो चाहिँ सत्य हो । पुरोहित र धामी झाँक्रीमा खर्च गर्नुपर्दैन भन्ने सत्य हो । तर विदेशी पैसा आर्जन हुन्छ भन्ने कुरा गलत, झुठ र वाइयात हल्ला मात्र हो ।
त्यसैले नेपाल एक धर्मनिरपेक्ष मुलुक हो । नेपालको संविधान २०७२ को भाग ३ को धारा २६ को उपधारा १, २ र ३ अनुसार यो देशका हरेक नागरिकले आफुले चाहेको र अवलम्बन गरेको धर्मको अभ्यास गर्न पाउँने, धार्मिक स्थलको संरचना निर्माण गर्न पाउने तथा धार्मिक गुठि बनाउँन पाउने तथा आफ्नो धर्मको प्रचार र विकास गर्न पाउँने छन् भनेर स्पष्ट हुँदाहुँदै त्यसलाई चुनौती दिँदै हिन्दु अतिवादीहरुले चर्च भत्काउने तथा अगुवाहरुलाई कालोमोसो दल्ने, विभिन्न लाञ्छना लगाएर धाकधम्की दिने जस्ता कार्य गरिनु खेद्जनक र भत्र्सनायोग्य छ । राज्यले धर्मनिरपेक्षतालाई अङ्गिकार गरिसकेको हुनाले मुलुकी (संहिता) ऐन २०७४ को परिच्छेद ९ को धारा १५५ को (१) तथा धारा १५७ को (१) बमोजिम कडाभन्दा कडा कारबाही गर्नु पर्दछ ।
(लेखक, नेपाल ख्रीष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष हुन् ।)