धरान  / सुनसरी क्षेत्र नम्बर ३ बाट काँग्रेसका विजयकुमार गच्छदारको अपराजित यात्रामा ब्रेक लगाएकी नेकपा एमालेकी नेतृ भगवती चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । 

२०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहनु भएकी उहाँ त्यति बेला वन तथा भू–संरक्षण राज्यमन्त्री बन्नु भएको थियो ।  २०७० र २०७४ को निर्वाचनमा भने विजय गच्छदारले धधली गरेर संसदीय यात्रा गर्न पाउनु भएको थिएन । 

गत मंसिर ४ गते भएको निर्वाचनमा गच्छदारलाई पराजित गदैं उहाँ प्रतिनिधत्री सभा सदस्य बन्नु भएको थियो । चौधरीले प्रचण्ड नेतृत्वको सरकारमा महिला तथा बालबालिका मन्त्रालयको जिम्मा पाउनु भएको छ । 

जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुनुहुन्छ । ५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा अनबरत रुपले लाग्नु भएको छ । उहाँले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालन गरेर देश भरका विपन्न महिलाहरुको आर्थिक उन्नतीमा टेवा पु¥उदैं आउनु भएको छ । 

भगवती चौधरीको सामाजिक जीवन  

भगवती चौधरी वर्गिय, क्षेत्रीय र लैङ्गिक असमानताले गाँजेको समाजबीच पूर्वी नेपालमा एउटी साहसी महिला नेतृको उदय भयो । जो पहाडजस्ता समस्या र चुनौतीसँग जुध्दै सुनसरीसँगै मुलुकका ४० भन्दा बढी जिल्लाका ग्रामिण भेगका महिलाको अनुहारमा उज्यालो ल्याउन अहोरात्र लागि रहनुभएको छ । 

लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय सुनसरी निवासी भगवती चौधरी राजनीतिमा समेत स्थापित नाम हो । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ लाई आधार क्षेत्र बनाएर नेकपा एमालेको राजनीतिमा होमिनुभएकी चौधरी लघुवित्त कार्यक्रम मार्फत महिलाको आर्थिक र सामाजिक जीवनस्तर उकास्न अहोरात्र खटिइरहनु भएको थियो ।  

सुनसरीको दुहवीमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था मुलतः गरिबीको रेखामुनी रहेका तथा न्यून आय भएका ग्रामिण भेगका महिलाको जीवनस्तर उकास्न तल्लिन छ । आर्थिक अधिकारबाट वञ्चितिकरणमा परेका विपन्न समुदायका महिलाको अनुहारमा खुसी ल्याउन आर्थिक सशक्तिकरणकी अभियान्ता भगवती चौधरी हरवखत कोशिस गरिरहनु भएको छ ।

चौधरी पूर्वी तराईको अल्पसंख्यक जनजाती थारु समुदायको परिवारमा जन्मिनु भएको हो । परिवारकी कान्छी छोरी उहाँ सानै उमेरदेखि सहयोगी भावनाको हुनुहुन्थ्यो । मध्यमवर्गीय किसान परिवारमा जन्मनु भएकी उहाँ आफ्नो परिवारमा मात्रै होइन, छरछिमेक र समुदायमा पनि छोरीको शिक्षा र हकका लागि लड्नुहुन्थ्यो । हजुरबुवा र हजुरआमाबाट पढ्ने हौसला पाउनु भएको उहाँलाई आफुजस्तै उमेरका केटाकेटीहरु खासगरी मुसहर समुदायका बालबालिका विद्यालय जानबाट वञ्चित भएको देख्दा असाध्यै दुःख लाग्थ्यो । उहाँमा साथीहरु र दिदी–बहिनीको शिक्षाका लागि अभिभावकसँग मुकाविला गर्ने क्षमता सानैदेखि थियो । अहिले पनि विद्यालय शिक्षाबाट वञ्चित भएका डेढ सय बालबालिकालाई आफ्नै क्षत्रछायाँमा शिक्षादिक्षा दिइरहनुभएको छ । साथै, आजका युवाहरुलाई प्राविधिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले गाउँमै प्राविधिक कलेज समेत स्थापना गरिदिनु भएको छ । 

बंगलादेशका नागरिक नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद यूनुसबाट प्रभावित भएर ग्रामिण आर्थिक सवलीकरण, महिला उत्थान र सामाजिक कार्यमा समर्पित नेतृ चौधरीले देशका तीन लाख बढी महिलामा वित्तीय पहुँच पुरयाउनु भएको छ । ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत वित्तीय साक्षरता र सामाजिक सचेतनाहरु फैलाउँदै फरवार्ड माइक्रोफाइनान्सबाट ग्रामिण महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा दिनेश चौधरी स्मृति प्रतिष्ठान मार्फत सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहनु भएको छ । 

स्पष्टवक्ता, कुशल नेतृत्वकर्ता भगवती चौधरीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ । चौधरीसँग महिला सशक्तिकरण, ग्रामिण अर्थतन्त्र सवलीकरण र युवा स्वरोजगारका विषयमा योजना र लक्ष्यहरु रहेका छन् । 

अध्ययन, तालिम र विभिन्न कार्यक्रममा सिलसिलामा २२ भन्दा बढी देश पुगिसक्नुभएकी चौधरीले आफुलाई स्वदेशमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत आफुलाई उभ्याउने अभियानमा हुनुहुन्छ । विभिन्न अन्तराष्ट्रिय सभा, सम्मेलन र गोष्ठिहरुमा सहभागी हुँदा उहाँको भूमिका सशक्त हुने गरेको छ । 

यूनिसेफले बंगलादेशको ढाकामा गरेको बालबालिका शिक्षा सम्बन्धि तालिममा महत्वपुर्ण रुपमा सहभागीता जनाउनु भएकी चौधरीले जर्मन, इटाली, अष्ट्रेलिया, ब्राजिल जस्ता मुलुकले मारेको आर्थिक विकासको फड्कोबाट नेपालले कसरी लाभ लिन सक्छभन्ने अध्ययन गर्नुभएको छ भने नेपालमा आफ्नो संस्थाले गरेको प्रगतिको कथा सुनाउन वहाँ विश्वका विभिन्न मुलुकहरु गइरहनुहुन्छ ।

राजनीतिक जीवन

सामाजिक र आर्थिक रुपमा भगवतै चौधरी जति प्रसिद्ध हुनुहुन्छ, राजनीतिक रुपमा पनि उत्तिकै चर्चित हुनुहुन्छ । जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लाग्नु भएकी चौधरी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुनुहुन्छ । उहाँ २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत हुनुभयो ।  सुनसरीको दुहबी २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साविक औराबनी गाविस (हाल गढी गाउँपालिका)मा पर्छ । उहाँले २०४८ सालदेखि पार्टी राजनीति सुरु गर्नु भएको थियो ।  २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य, ०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनु भएकाे छ ।

२०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पहिलोपल्ट भाग लिँदै ३० औं वर्षदेखि  विजयकुमार गच्छदारसँग प्रतिष्पर्धा गर्दै झिनो मतान्तरले पराजित हुनुभए पनि जनताका मन र मस्तिष्कमा बसिसक्नु भएको थियो । त्यसपछि पनि अनवरण समाजसेवा सँगै राजनीतिमा संलग्न उहाँ  नेकपा एमालेबाटै २०७४ सालको आम निर्वाचनमा पुनः विजयकुमार गच्छदारसँग नै प्रतिष्पर्धामा उत्रनु भयो । सुनसरी क्षेत्र नं‍. ३ का जनतालाई गरिबीको रेखामुनीबाट उकास्दै विकासको राजधानी बनाउने सपना देख्नुभएकी चौधरी उक्त निर्वाचनमा पनि झिनो मतान्तरले पराजित भएपनि आफ्नो उद्देश्यबाट किञ्चित विमुख हुनुभएन । 

यही मंसिर ४ गते को आम निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट पुनः उमेद्वारी पाई अत्याधिक मतले उहाँ प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएको थियो ।