• रामचन्द्र अधिकारी

यसपालिको जाडोलाई हत्तपत्त विर्सँदैन । कारण दुई वटा छन् । पहिलो– यसपालि तापक्रम अति न्यूनतममा झर्यो । तराईमा यति कम न्यूनतम तापक्रम(५ डिग्री सेन्टिग्रेड) सायदै भएको बिथयाो । काठमाण्डौँमा पनि अक्सर नहुने गरीको तापक्रम तल आयो । जाडो नविर्सिने दोश्रो कारण तापक्रममा आएको उथलपुथल । यसको अर्थ एकनाशको जाडो भएन तराईमा । जस्तै आज घाम लागे न्यानो भयो जनजीवन यसैअनुसार चल्यो । भोलि अपर्झट ह्वात्तै जाडो आयो । यस्ता एकान्तर वा आलोपालो वा जाडो न्यानोको लुकामारीले जनजीवनलाई प्रताडित बनायो । जाडो हुनुपर्ने एकनाशको हो । यसो नहुनु जलवायुको नियमसंगत भएन ।
जलवायु परिवर्तन आजको सबैको चासोको विषय बनेको छ । चासोको विषय बन्न पनि आवश्यक छ किनकि जलवायु परिवर्तन भइरहँदा मानवलगायत सम्पूर्ण जीव मात्र होइन पृथ्वीको अस्तित्व संकटमा पर्ने संभावना बढेर आएको छ । जताततै यसका प्रतिकूल असरहरु देखिन थालेका छन् । सबैले बेलैमा सचेत नभएमा ठूला संकटहरु आउन बेर लाग्दैन ।
मौसम परिवर्तन भइरहने प्रक्रिया भए पनि हावापानी या जलवायु त्यसरी परिवर्तन भइरहँदैन । यसको एउटा नियमित तालिका हुन्छ सोही अनुसार घुमिरहने हो । जस्तै कि पुस माघ महिनामा जाडो हुने, चैत्र वैशाख सुख्खा हुने, असार साउन भदौमा पानी पर्ने आदि । नेपालको भूभागमा हरेक साल पुस माघमा जाडो हुनुपर्ने जलवायुको तालिका हो । नेपालमा वर्षाको समय वा असार साउन भदौमा पानी पर्नुपर्ने जलवायुको नियमित तालिका मानिन्छ ।
यही तालिकामा भएको उथलपुथल वा अनियमितता नै जलवायु परिवर्तन हो । धेरै मानिसहरुले यथार्थ तथ्य नबुझे पनि जलवायु परिवर्तनको प्रभाव भने महसुस गरिरहेका छन् । मानिस जलवायु परिवर्तनका आधारहरुमा जेलिएका छन् । जस्तैः गर्मीका महिनाहरुमा दुई दशकअघि सम्म दिन र रातको तापक्रममा निकै फरक पाइन्थ्यो । यसको अर्थ दिन जति गर्मी भएपनि रातहरु निकै सेलाउँथे । अहिलेका दिनमा दिन रातको तापक्रममा उबेलाको जस्तो फरक पाइन्न । जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा प्रकाशन गरेको एक प्रतिवेदनमा ताता रातहरुको संख्या बढिरहेको उल्लेख गरेको छ । तर ठीक विपरीत प्रमाण पनि कतिपय ठाउँबाट रेकर्ड गरिएको सोही प्रतिवेदनमा लेखिएको छ । अर्थात् चिसा दिनको संख्या घटिरहेको छ र चिसा रातहरुको संख्या बढिरहेको छ । यसको अर्थ दिन र रातको तापक्रमको फरक नियमसीमाभन्दा पनि बढ्ता छ ।
पछिल्ला वर्षहरुमा लामा लामा खडेरी पर्ने गरेका छन् । पानी नपर्ने दिनका संख्याहरु बढिरहेका छन् । साथै एक साथ मुसलधारे पानी पर्ने दिनहरुको संख्या पनि बढिरहेका छन् । यसको अर्थ धेरै दिन पानी नपर्ने अनि एकै दिन ठूलो पानी पर्ने । जलवायु परिवर्तन भइरहेको छ भन्ने यो एउटा बलियो प्रमाण हो ।
जुन किसिमले हिउँदमा जाडो हुनुपर्ने हो सो नभइरहेको छ । कुनै साल कात्तिक मंसिरमा एक्कासी कडा जाडो हुने र पुस र माघका दिनमा भने तातो हुने जस्ता प्रमाणहरु पाइएका छन् । त्यसैगरी भदौ महिना पर्याप्त गर्मी नभईकन सकिएका पनि छन् कुनै कुनै सालमा । फागुन चैतमा चल्ने पश्चिमा हुरी केही वर्षयता विरलै भएको छ । हिउँदे वर्षाको आयतन बढेको छ । नेपालमा करिब ८० प्रतिशत पानी मनसुनका बेला पर्ने एउटा नियम स्थापित भएको छ । तर अहिले यो नियमको उलंघन हुन थालिसकेको छ । मनसुनपूर्वको पूर्वमनसुन वर्षा समेत हिमाली भेगमा पछिल्ला वर्षहरुमा घटिरहेको छ ।
पहाडतिरका हिउँदका दिन पनि निकै न्याना भएको पाइए पनि मधेशका हिउँदहरु झन् झन् चिसा हुँदै गएको सोही प्रतिवेदन पुस्तकमा लेखिएको छ ।
पृथ्वीको तापक्रम वर्सेनी वृद्धि हुँदै आएको छ । यो पृथ्वी उत्पति हुँदा आगोको डल्लो जस्तो तातो थियो । क्रमशः यति सेलायो कि माइनस २४ डिग्री भयो । फेरि पछि कार्वनडाइअक्साइडको उत्पति र आयतनमा वृद्धि भएसँगै तापक्रम पनि उकालियो । अहिले यो धराको औसत तापक्रम १५.८ डिग्री सेन्टिग्रेड भएको छ । सन् १८०० देखि सन् १९०० सम्मको एक वर्षको अवधिमा पृथ्वीको औसत तापक्रममा ०.६ डिग्री सेन्टिग्रेड बढेको छ । अब आउँदो सय वर्षमा औसत तापमान ५.८ डिग्री सेन्टिग्रेड बढ्ने अनुमान गरिएको छ (युएनएफसीसी,२००३)। नेपालमा प्रतिवर्ष अहिले हिमाली भेगमा ०.०६ डिग्री सेन्टिग्रेड र अरुतिर लगभग ०.०४ डिग्रीका हिसाबले तापमान बढेको विभिन्न संस्थाहरुको अध्ययन प्रतिवेदनले देखाएको छ । यहाँ विवादित कुरा चाहिँ जलवायु परिवर्तनले तापमान वृद्धि भएको हो कि तापमान वृद्धिले जलवायु परिवर्तन भएको हो भन्ने छ । साधारण अर्थमा तापमान वृद्धि भएसँगै जलवायु परिवर्तन भएको बुझाइ छ । जति तापमान जति बढेर आयो उति परिवर्तनका छालहरु उछालिएका छन् ।
तापक्रम बढेपछि हिमालको हिउँ द्रुतत्तर पग्लिन्छ । प्रमाणस्वरुप हिमनदीका लम्बाइ छोटिइरहेको छ । सालना हिमनदीको लम्बाइ ३० मिटरदेखि ६० मिटर छोटिएका खबर छन् ।
पछिल्ला वर्षहरुमा चट्याङ्को संख्या साह्रै औधि बढोत्तरीमा छ । हरेक साल धेरै मानिसहरुले यस प्रकोपबाट ज्यान गुमाएका समाचारहरु आएका छन् । यो जलवायु परिवर्तनको अर्को गतिलो प्रमाण हो । असिना पर्ने दिनको संख्या र असिना पराइको उत्तजेकता पनि सहीनसक्नुको बन्न थालेको छ । असिना पर्ने,बिजुली औधि चम्किने र गड्याङ गुडुङ गर्ने खास सिजन वैशाख जेठ हो । तर आजकाल यी महिनामा यी प्राकृतिक प्रकोप सीमित हुन सकेका छैनन् । भदौ असोजमा समेत आकाश गर्जिएको सुनिरहेका छौ, यसैपालि कात्तिकमा असिना परेकै हो पूर्वी तराईमा ।
जलवायु परिवर्तन भएकै कारण सुख्खा र खडेरीको राप बढेर आगलागी र डढेलोको प्रकोपमा वृद्धि भएको छ । सन् २००९ मा नेपालमा वसन्त ऋतुमा ६३४ स्थानमा डढेलो लागेको अन्तरिक्षबाट लिइएका तस्वीरलाई उल्लेख गर्दै विभिन्न पत्रिकाहरुले प्रकाशन गरेका थिए । अघि अघि यति विधि डढेलो हुने नगरेको अनुभव धेरै मानिसहरुसँग छ ।
हालका वर्षहरुमा खण्डवृष्टि,अतिवृष्टि,अनावृष्टिजस्ता वर्षासँग सम्बन्धित असन्तुलनहरु हामीले भोगिरहेका छौँ । कृषिक्षेत्र यसको ठूलो मारमा परेको छ । किसानहरुले परम्परादेखि अपनाउँदै आएको खेती प्रणालीमा नै परिवर्तन ल्याएका छन् । समयमा पानी नपर्ने भएपछि धान रोपिने खेतहरुमा दलहन,तेलहन वा अन्य नगदेबाली वा कोदो रोप्ने अभ्यासहरु हुन थालेका छन् । पहिला बारीमा आली लगाएर वा विराएर खेत बनाइन्थ्यो भने अब खेतका आलि भत्काएर बारी बनाउन थालिएको छ । यो कुराले अवश्य जलवायु परिवर्तन भएको छ भन्नलाई आधार दिएको छ ।
हावापानी परिवर्तनको अर्को आधारको रुपमा हामी जैविक विविधताको विचलनलाई लिन सक्छौँ । तराईका गर्मी फाँटहरुमा पाइने लामखुट्टे आजकाल पहाडी क्षेत्रमा मात्र नभई उच्च पहाडी भेगमा पनि पाइने गरेको छ । मधेशका सरिसृपहरु भित्री मधेश हुँदै पहाड उक्लिन थालिसकेका छन् । जीवजन्तुले जलवायु परिवर्तनको सूचना दिइरहेका छन् । पहाडी भेगतिर तापक्रम वृद्धि कारण मधेशमा फल्ने धान उता पनि फल्न थालेका छन् । धेरै वनस्पति खासमा वनमारा झारहरु पहाडतर्फ उकालिएका छन् ।
बोटविरुवा र जनावरको जैविक घडी (चक्र) अर्थात् वायोलोजिकल क्लक विथोलिन थाल्यो । यो जलवायु परिवर्तन भएको दमदार संकेत हो । सबै जीवहरुको सिजनअनुसारको बाहिरी र शरीर भित्रको गतिविधि चलेको हुन्छ । समयअनुसार चल्ने यस्तो चिज वायोलोजिकल क्लक वा जैविक घडी हो । जस्तै विरुवाको फुल्ने,फल्ने,पात झर्ने ,पाउलिने,बोक्रा खुत्तिने निश्चित समय हुन्छ । आजकाल उसको नियमित समयअनुसार यस्तो नभएको पाइएको छ । उदाहरणका लागि चैत्रमा फुल्ने गरेको गुँरास पुसमा नै फुल्यो भन्ने समाचार आएका छन् । स्याउको पनि त्यस्तै ,समय अगावै फूल र फल । वनस्पति मात्र होइन जनावरमा पनि यस्तो देखियो । कुकुरहरुको प्रजनन् समय वातावरणको तापक्रम घट्न थालेपछि हो । तर मधेशका कुकुरहरुमा प्रजनन्क्रिडा असार साउन महिनामा भएको देखिन थालिएको छ । नेपालमा अफगानिस्तानबाट एउटा चरा वसन्तमा घुम्न आउँछ । कोइली जातको यो चरालाई ‘काफल पाक्यो’ भन्छौँ हामी । भारतको बिहार हुँदै आउने यो चरा केही वर्ष अघिसम्म वैशाखको पहिलो साता नेपालको तराईमा र अन्तिम साता पहाडमा पुगी एक महिनाका लागि बस्थ्यो । काफल पाक्ने समयमा काफल पाक्यो भन्दै आउने भएकोले यसको उस्तो नाम रहेको हो । आजकाल यो चरा करिब १५ दिनदेखि एक महिना अगावै आउने गरेको छ । यो चरो यति अघि आउनु नै एउटा आधार हो भने काफल पनि अगावै पाक्न थाल्यो कि अनुसन्धान गर्नुपर्ने विषय हो ।
जलवायु परिवर्तन के हो कसरी भइरहेको छ,यसको के असर छ अनि कसरी यसलाई व्यवस्थापन गर्न सकिने या यसै अन्तर्गत आफू व्यवस्थित बन्दै जाने भन्ने बारे अनुसन्धान र जनचेतना आजको आवश्यकता बनेको छ ।