धरान /  सुनसरी क्षेत्र –२ मा प्रतिनिधी सभा सदस्यमा सत्ता गठबन्धनका सीताराम मेहता र एमाले जसपा तालमेलका भीम आचार्यविच प्रतिस्पर्धा हुदैंछ । पूर्व पर्यटन मन्त्री तथा प्रदेश १ का मुख्यमन्त्रीसमेत भइसकेका भीम आचार्य  र पूर्व यातायात राज्यमन्त्री भएका सीताराम मेहता विहीबार अन्तिमसम्म चुनावी प्रचार दुवैले तिव्र बनाए ।  

२०५१ सालयता नेकपा (एमाले)बाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं. २ रोज्नु भएको छ । आचार्यका लागि यसपटकको नयाँ के पनि छ भने उहाँले आफ्नै क्षेत्रमा आफैंलाई मतदान गर्न पाउनेछन् । २०५१, २०५६, २०६४, २०७०, २०७४ साल गरि पाँच वटा निर्वाचन मध्य पछिल्लोे तीन वटा निर्वाचन सहज रुपमा जित हात पारेका थिए । पाँच वटै निर्वाचनमा आफैलाई भने भोट हाल्न पाएका थिएनन् ।  संयोगवस यस पटक भने आफैलाई भोट हाल्न पाउनुहुने छ ।  

आचार्य सुनसरीको इनरुवा–६ (साविक मधेसा गाविस–९) का स्थायी बासिन्दा हुन् । २०५१ र २०५६ सालमा सुनसरी ४ बाट उठ्नु भएका उहाँ दुवै पटक हार्नु भएको थियो । २०६४ र २०७० सालमा सुनसरी ६ बाट चुनाव जित्नु भयो । २०७४ सालको निर्वाचनमा प्रदेश सभामा सुनसरी–१ बाट चुनाव जित्नु भएको थियो । 

नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहनु भएका नेता आचार्य संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक बन्नु भयो । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुनु भयो । २०७४ को चुनावमा पार्टीबाट सुनसरी–१ (२)बाट विजय भई मुख्यमन्त्रीका लागि दावी गर्नु भएको थियो । उहाँ २० हजार २११ मतका साथ विजयी पनि हुनु भयो । प्रदेश सभामा संसदीय दलको नेतामा दुई भोटमा पराजय हुनु भए पछि शेरधन राई प्रदेश–१ को पहिलो मुख्यमन्त्री बन्नु भयो । नेकपा एमालेमा माधव नेपाल पक्षले पार्टी छाडे पछि कार्यकर्ता रोक्न पार्टीले उहाँलाई मुख्यमन्त्री बनायो । उहाँ मुख्यमन्त्री हुदाँ प्रदेश १ का धेरै नेता कार्यकर्ताहरुलाई माधव नेपालसँग जान रोक्नु भयो । एमालेमा माधवकुमार नेपाल निकट भएर काम गरेका आचार्य २०७८ भदौमा पार्र्टी विभाजन हुँदा एमालेमै बस्नु भयो ।  

गत स्थानीय तह निर्वाचनमा सुनसरी–२ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा एमाले अगाडि छ । उक्त चुनावमा एमालेले ५० हजार ५२९, नेपाली कांग्रेसले ४९ हजार ४७८, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ४०१ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५६३ मत पाएका छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले ८ हजार २१२, राप्रपाले ५ हजार ७०५ र स्वतन्त्रले ४ हजार ५३९ मत पाएका छन् । २ नं. क्षेत्रबाट चुनाव लड्ने यस अघि नै मनस्थिति बनाउनु भएका आचार्याले अगाडीदेखि तयारी गरेका कारण उहाँलाई चुनाव जित्न सहज हुने उहाँ निकट एक नेताले बताउनु भयो । आचार्याले सुनसरीमा विकास निर्माणको काममा बजेट राम्रै हालेका कारण स्थानीयहरु उहाँलाई मतदान गर्न उत्साही छन् । उहाँले यस पटक प्रचार कार्यक्रमलाई पनि परिवर्तन गरि क्षेत्रका सबै बासिन्दालाई भेट्नु भएको छ । उहाँ भन्नु हुन्छ–‘मेरो ७ हजार मतले विजयी हुन्छु । जनताको काम गरेको छु । जनताले चुनाव जितेर मन्त्री हुन सक्ने व्यक्तिलाई रुचाएका छन् । त्यो हैसियत ममा छ ।’ 

उहाँसँग नेपाली कांंग्रेसका नेता सीताराम मेहता चुनावी मैदानमा छन् । २०४९ सालको स्थानीय निर्वाचन हुँदै संसदीय राजनीतिमा आएका सीताराम मेहता पटक पटक सो क्षेत्रबाट चुनाव जिते पनि त्यस क्षेत्रका जनताका लागि खासै राम्रो काम नगरेको आरोप छ । विगतमा उहाँले ‘जनताका नेता, सीताराम मेहता’ भन्ने उपमा पाउनु भएको थियो । तर  त्यो सम्मान बचाएर राख्न नसकेको स्थानीय बताउछन् ।  

उहाँ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट विजयी हुनु भयो । २०७३ सालमा यातायात राज्यमन्त्री हुनु भएको थियो । २ नं. क्षेत्र इटहरी क्षेत्र पर्छ । चुनाव जिते पछि इटहरी क्षेत्रमा फर्केर नगएको उहाँ माथि आरोप छ । 

मेहताले संसदीय निर्वाचनमा जानु अघि कृषि क्रान्ति नारा गाउँमा उठाउनु भएका थिए । तर संसद भवन भित्र छिरे पछि जनताको एजेण्डा विर्सिएको उहाँलाई आरोप छ । अघिल्लो निर्वाचनमा चुनावी नारा बनेको कौवाखोंच–रामधुनी सडकको स्तरोन्नति नगरेका कारण उहाँलाई चुनाव पासो बनेको छ । यसपटक निर्वाचित भए पछि अधुरो रहेका कामहरु पुरा गर्ने मेहताले प्रतिवद्धता जनाउनु भएको छ ।  

२०५६ सालमा पार्टी विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)मा लागेका मेहता सुनसरी सभापति र पार्टी एकतापछि जिल्ला सह–सभापति भएर काम गरेका थिए । 

२०४९ सालको स्थानीय निकाय निर्वाचनमा उनी इनरुवाबाट उपमेयर निर्वाचित पनि भएका थिए । २०५४ सालमा भने उनी मेयरमा पराजित भएका थिए ।  

मेहताले २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदी –हिमाल) लाई ६ हजार १४६ मतले पराजित गरेका थिए । त्यो बेला मेहताले ४१ हजार ४९५ र सुवेदीले ३५ हजार ३४९ भोट पाएका थिए । एमाले र माओवादीको गठबन्धनबाट सुवेदी उठेका थिए । गठबन्धनका उम्मेदवारलाई हराउने मेहतासँग यस पटकको निर्वाचनमा एमालेका प्रभावशाली नेता भीम आचार्यसँग प्रतिस्पर्धा गदैंछन् ।