धरान / मङ्सिर ४ गते हुने सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १(१) प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता उमेश थापा प्रतिस्पर्धामा हुनुहुन्छ ।
युवा पुस्ताको नेतृत्व गर्न थापा जनताको घरदैलोमा मत मागिरहनु भएको छ । जनताका असन्तुष्टिको विकल्प दलहरूबाटै दिइनु पर्दछ र त्यो सम्भव छ भन्ने उदाहरण उम्मेदवारहरू मध्ये थापा अग्रपङ्क्तिमा हुनुहुन्छ ।
प्रदेश सभामा राजनीतिक भूमिका खेल्न लामै राजनीतिक अनुभव चाहिन्छ । आफ्नो क्षेत्रको भूगोल, विकास आवश्यकता, जनभावना बुझेका हुनुपर्दछ । नारामा मात्र होइन विचारले स्वतन्त्र हुनुपर्दछ । राजनीतिक, सामाजिक गतिशीलता बिना उमेरले मात्र युवा भनेर नेतृत्व गर्न सकिन्न ।
नेपाली काँग्रेस, प्रदेश १ समितिका महामन्त्री समेत रहनु भएका थापा भन्नुहुन्छ–‘‘राजनीतिमा जनभावना अनुकूल काम गर्न सक्नु पहिलो कुरा हो ।’ नेतृत्वमा पुगेपछि पार्टीको नीति, घोषित प्रतिबद्धता कार्यक्रमलाई जनभावना अनुकूल उनीहरूकै सहभागितामा कार्यान्वयन गर्नु पर्दछ । यसले पार्टीको सफलता, पार्टी प्रणालीप्रति जनतामा विश्वास अभिवृद्धि गराउने उहाँको धारणा छ ।
नेतृत्व गर्न चाहिने निर्णायक क्षमताका लागि स्वतन्त्र विचार उहाँमा विद्यमान छ भन्ने देखाउँछ । राजनीति सँगै सामाजिक सेवाको क्षेत्रमा उहाँ गतिशील युवाको रूपमा सुनसरी जिल्ला भरी नै उहाँ चिनिनुहुन्छ । विद्यार्थीकालबाटै राजनीतिमा लाग्नु भएका थापा युवाहरूका अगुवा नै हुन ।
२०४६ सालमा नेविसंघको विद्यालय तहका कमिटी सभापति बनेका थापा, त्यसै बेला भएको पहिलो जनआन्दोलनमा सक्रिय आन्दोलनकारीको रुपमाा देखिनु भएको थियो । विद्यार्थीकालमै उहाँमा सामाजिक सेवाको क्षेत्रमा रुचि थियो । यसले उहाँलाई २०५५–२०५९ साल सम्म नेपाल परिवार नियोजन सङ्घको युवा संयोजक जिम्मेवारी र जिल्ला समिति सदस्य समेत दिलायो ।
सामाजिक सेवाको क्षेत्रमा उहाँको सक्रियता यतिमा रोकिएन । २०६९ सालमा थापा नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम संयोजक बन्नु भयो । लगत्तै २०७० मा भएको रेडक्रसको निर्वाचनमा उहाँ सभापति निर्वाचित हुनु भयो । रेडक्रसको दोस्रो कार्यकालमा पनि पुनः निर्वाचित थापा हालसम्म सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । यसबिच २०७७ मा उहाँ केन्द्रीय सदस्य पनि हुनु भयो ।
प्रत्याशी थापाको विद्यार्थी राजनीतिको क्रम २०४८ सालमा नेविसंघ सुनसरी–१ क्षेत्रीय सचिव रहेका थापा २०५१ मा सुनसरी जिल्ला सचिव हुनु भयो । लगत्तै उहाँ नेपाली काँग्रेसको युवा राजनीतिमा प्रवेश गर्नुृ भयो । २०५९ नेपाल तरुण दलका सुनसरी जिल्ला सदस्य बननु भयो । २०६७ मा सम्पन्न नेपाली काँग्रेसको बाह्रौँ महाधिवेशनमा थापा महाधिवेशन प्रतिनिधि र पार्टीको जिल्ला समिति सदस्य बननु भयो । २०७२ मा भएको तेह्रौँ महाधिवेशनमा उहाँ महासमिति सदस्य चयन हुनु भयो । २०७३ सम्म काँग्रेस सुनसरी जिल्ला सदस्य रहनु भएका थापा २०७८ मा सम्पन्न चौधौँ महाधिवेशनबाट नेपाली काँग्रेस प्रदेश १ महामन्त्रीमा निर्वाचित हुनु भएको थियो ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको २०६२÷०६३ को दोस्रो जनआन्दोलन परिचालनमा थापाले नेपाली काँग्रेसको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो । युवा देखी नै राजनीति र सामाजिक क्षेत्रमा समानान्तर नेतृत्व गर्दै आएका युवा नेता थापासँग आन्दोलन, सङ्घर्षको पनि गहन अनुभव छ ।
मुलुकमा भएका ठुला ठुला राजनीतिक परिवर्तनले जनतामा जागेका आकाङ्क्षा पुरा भएन, नेताहरूले भ्रष्टहरूलाई संरक्षण गरेकाले जनता निराश भएको उहाँको भनाई छ । दलहरूप्रतिको असन्तुष्टिका जिम्मेवार नेताहरू हुन । ‘दल होइन दलको नेतृत्व परिवर्तन हुनुपर्दछ त्यसको लागि युवा पुस्ता नेतृत्व लिनका लागि तयार हुन जरुरी छ ।’–उहाँ भन्नुहुन्छ ।
अबको राजनीति चुनाव जितेर सत्ताको सुखभोगमा अलमलिने होइन जनताका माझ रहेर उनीहरूका आवश्यकता पुरा गर्नमा केन्द्रित हुनुपर्ने थापाले बुझाई छ । राजनीति र सामाजिक सेवाको क्षेत्रमा लामो समय गाउँ गाउँ जनताका माझ बिताएको अनुभव सुनाउँदै उहाँ भन्नु हुन्छ–‘प्रदेशकै समस्या, विकासको आवश्यकता र जनभावनाको अनुभव मेले बटुलेको छु ।’
उहाँले चुनावी संकल्प–पत्र पनि जारी गर्नु भएको छ । ८१ बुँदाको सङ्लपहरूमा उल्लेख भएका बुँदाहरूले प्रदेश १(१) को मात्र होइन समग्र क्षेत्रकै विकासमा नयाँ फड्को मार्न सक्छ । तर ती कुराहरू सङ्लपहरू हुन । पाँच वर्षकै कार्यकालमा सबै पुरा हुने भने होइन ।
‘जनताको प्रतिनिधित्व गर्न अग्रसर हुनेलाई यहाँका आवश्यकता, जनताको भावना के के छन् भन्ने बुझ्न र थाहा हुन जरुरी हुन्छ ।’ संकल्पपत्र त्यसको एउटा दस्ताबेज हो । प्राथमिकताको आधारमा काम गर्ने पूर्व योजनाको सूचि हो । समयकाल क्रममा सोही कामहरू पुरा गर्दै समृद्धिको चरणमा पुग्ने संकल्प–पत्र भोलि जनताले जनप्रतिनिधिलाई प्रश्न गर्ने आधारको रूपमा रहने उनको भनाई छ ।
धरान नक्सामा उपमहानगर त बन्यो तर यसमा गाभिएका गाउँहरूमा सडक सम्पर्क, आधारभूत सहरी आवश्यकता भने बन्न सकेको छैन । यसको पूर्तिका लागि संकल्पपत्रमा दर्जन जाति सडक, पुल, ग्राभेलका योजनाहरू औँल्याइएका छन। पछिल्लो समय कृषि क्षेत्रमा स्थानिय समुदायका सक्रियता बढेको छ । उपमहानगरको कृषि क्षेत्रको व्यवस्थित विकास र बजारीकरणमा योजनाहरू औँल्याइएका छन ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भए पनि यहाँका बिरामीहरूले भेण्टीलेटर नपाउँदा समेत बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न पुरानो धरान अस्पतालको खाली जग्गामा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल निर्माणको योजनालाई संकल्पपत्रमा औँल्याइएको छ । बिपी अस्पताल बनेपछि स्वास्थ्य मन्त्रालयको उक्त जग्गा लामो समयदेखि उपयोग विहीन छ । बेलाबेलामा बिपीले क्लिनिक सञ्चालन गरे पनि जनतालाई परिणाममुखी सेवा दिन सकेको छैन ।
धरानमा पाँचकन्या र विष्णुपादुका गाविस गाभिएपछि खानेपानीको ठुलो दिर्घकालिन योजना चाहिएको छ । यसलाई प्राथमिकता राखेर संकल्पपत्रमा वृहत् खानेपानी योजनाका लागि सङ्घीय र सकारबाट बजेट ल्याउने पहलको प्रस्ताव गरिएको छ । सप्तकोशी नदीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन र धरान–लेउती सुरुङ मार्गसँग धरानलाई जोडेर तमरबाट पानी ल्याउने सम्भाव्यताका संकत पनि सङ्कल्प पत्रमा गरिएको छ ।
‘संकल्पपत्रका बुँदाहरूमा ठुला दिर्घकालिन योजनाका कुराहरू पनि छन, त्यसका लागि सङ्घीय र प्रदेश सरकारमा गठबन्धनकै पहुँच हुने मतदाताहरूलाई बुझिदिन आग्रह गर्दछु ।’–उहाँ भन्नु हुन्छ । संकल्पपत्रमा यहाँको आर्थिक, सामाजिक, विविध भाषिक, सांस्कृतिक, धार्मिक क्षेत्रका विकास, निर्माण संम्बर्धन सहित पर्यटनमा फड्को मार्न केबुलकार र धरान–विराटनगर रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गराउने प्रस्तावमा समेत ध्यानाकर्षण गराइएको छ ।