सप्तरी / मधेश प्रदेशको सप्तरी जिल्लामा ४ वटा निर्वाचन क्षेत्र छन् । चार वटा निर्वाचन क्षेत्र मध्य सबै भन्दा बढी मतदाता रहेको क्षेत्र सप्तरी –१ हे ।  निर्वाचन कार्यालयका अनुसार सप्तरी–१ मा ५८ हजार दुई सय २९ पुरुष, ५४ हजार ९ सय ५८ महिला र अन्य ८ गरि कुल १ लाख १३ हजार एक सय ९५ मतदाता रहेका छन् ।
यति धरै मतदाता भएको निर्वाचन क्षेत्रमा प्रतिनिधी सभा सदस्यका लागि मात्र २१ जना र प्रदेश सभाका लागि २५ जना उम्मेदवार मैदानमा छन् ।  
२०७४ सालको निर्वाचनमा  जनता समाजवादी पार्टी(जसपा) का डा. सूर्यनारायण यादवले जित्नु भएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेको उम्मेदवार हुनुहुन्थ्यो । पटक पटक राजनीतिक दलका उम्मेदवारहरुले जित्दैं आएको सप्तरी–१ मा २०७९ सालको संघ प्रदेश सभा निर्वाचनमा दलका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती थपिएको छ ।  
यसपटक जसपा–एमाले तालमेलबाट मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह उम्मेदवार हुनुहुन्छ । यस्तै सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह चुनावी मैदानमा हुनुहुन्छ । उहाँ समाजवादी र माओवादी केन्द्रको साझा उम्मेदवार हो । तर पूूर्वसंविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले स्वतन्त्र उम्मेदवारी दिए पछि सत्ता गठबन्धनलाई चुनाव अप्ठ्यारो परिस्थिति  बनेको छ ।
त्यसो त सप्तरी तिरहुत गाउँपालिका डिमनका युवा इन्जिनियर कविन्द्र यादवको प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिनु भए पछि दलका उम्मेदवारलाई चुनौती थपिएको छ ।
पछिल्लो समय राजनीतिक दलहरुका नेताबाट जनता निरास भए । दलका नेताहरुले जुन सपना बाढे, त्यो पुरा गरेनन । जनताले दशकौंदेखि भोग्दैं आएको दुख पीडामा दलका नेतृत्वले मलम लगाउन सकेनन् । त्यही दलका नेताहरुको विकल्पमा २०७९ सालको स्थानीय तह निर्वाचन पछि स्वतन्त्र व्यक्तिहरु नेतृत्वको लागि अगाडी आएका छन् । स्थानीय तहमा स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी उम्मेदवारले लोकप्रिय काम गरेका कारण यही मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरु बढे । स्वतन्त्रहरुको भीडमा केही सक्षम, पढे लेखेका आसलाग्दा युवाहरु पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिए पछि दलहरुका उम्मेदवारहरुलाई चुनौती थपिएको छ ।
इन्जियरिङ पेसामा रहनु भएका यादव सप्तरी–१ का जनताको सेवा गर्न चुनावी मैदानमा हुनुहुन्छ । २०३७ सालमा डिमनको ग्रामिण भेगमा जन्मिनु भएको यादव राजनीतिमा पढे लेखेका युवा आउनु पर्छ भन्ने मान्यताले उम्मेदवारी दिएको बताउनु हुन्छ । उहाँले सन् २००४ मा इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङमा भारतको मध्य प्रदेशस्थित मौलाना आजाद प्राद्योगिक विश्वविद्यालयबाट विई गर्नु भएको छ । चाइनाको नान्छाङ विश्वविद्यालयबाट सन् २०१८ मा एमविए गर्नु भएको छ ।
कविन्द्रको क्षेत्रमा मतदाताहरुले उहाँलाई रुचाइरहनु भएको छ । उहाँको घरदैलो कार्यक्रममा स्थानीयहरु उत्साहित भएर लागेका छन् । उहाँले आफ्नो क्षेत्रमा गुणस्तरिय शिक्षा, उच्चस्तरिय स्वास्थ्य  सेवा, सडक, सिचाई, विजुली र स्थानीय स्तरमा जनताका सानातिना समस्यालाई मुल एजेण्डा बनाउनु भएको छ । चन्द्र नहरको स्तरोन्नती, ग्रामिण भेगमा पिच सडक, सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन, महिलाहरुको सुरक्षाजस्ता विषय उहाँको प्राथमिकतामा रहेका छन ।
राजनीतिक दलहरुले मधेशका जनताहरुका लागि कुनै लोकप्रिय र उनीहरुको आर्थिक, सामाजिक राजनीतिक उन्नती हुने कुनै काम नगरेकाले उहाँ राजनीतिक मैदानमा आएको उहाँ बताउनु हुन्छ । पैसा बाढेर र जनतालाई मासु चिउरा खुवाएर चुनाव जित्ने आफ्नो मनसाय नभएको बताउदैं जनताको मन जितेर चुनाव जिति यस क्षेत्रको कायपलट गर्ने धोको भएको उहाँ बताउनु हुन्छ । सप्तरी–१ का जनताको आग्रहमा आफु उम्मेद्वार भएकाले जनताले आफुलाई विजयी गराउने उहाँको बुझाई छ ।
यस्तै सप्तरी क्षेत्र नं. १ (१) प्रदेश सभा सदस्यका लागि दलका उम्मेदवारलाई चुनौती दिन सहकारी अभियानमा २५ बर्षदेखि लाग्नु भएका सप्तकोशी नगरपालिका–१ का शम्भुबहादुर खड्काले पनि उम्मेदवारी दिनु भएको छ । लामो समयदेखि माओवादी केन्द्रमा काम गर्नु भएका सामाजिक अभियान्ता खड्का एक बर्ष अघि नै पार्टी परित्याग गरि स्वतन्त्र रहनु भएको थियो ।
खडकाले दलिय सिन्डिकेटद्वारा लादिएको जातिबाद क्षेत्रीयताबाद तथा नाताबादका विरुद्ध र दलिय संरक्षणमा भइरहेको ब्यापक भ्रष्टाचारका विरुद्धमा मेरो उम्मेदवारी रहेको बताउदैं आउनु भएको छ । फराकिलो अन्तरमा उहाँ विजयी हुने सप्तरी–१ का स्थानियको आंकलन छ । राजनितिक दलहरुसँग रुष्ट भएका नेता कार्याकर्ताहले आंकलन गरेका छन् ।
 सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको त्रियुगा सहकारीको सञ्चालक समितिको अध्यक्ष भएर बिगत २५ बर्ष देखि सहकारी आन्दोलनमा हुनुहुन्थ्यो । २० हजार भन्दा बढि सहकारी सदस्यहरुसँग घुलमेल भएका खड्का तिनै सहकारी सदस्यहरुको सहयोगले निर्वाचन जित्ने उहाँको दावी छ । राष्ट्रिय सहकारी बिकास बोर्डको बोर्ड सदस्य पदबाट राजिनामा दिएर चुनावी मैदानमा होमिनु भएको खड्का त्रियुगा सहकारी संस्था फत्तेपुरको अध्यक्ष हुनुहुन्छ । उहाँले १३ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरि मैदानमा उत्रिएका छन् ।
सप्तरी क्षेत्रमा १ (१) मा एमाले र जसपा गठबन्धनका उमेदवार राजकुमार लेखी र सत्ताधारी गठबन्धनबाट माओवादीबाट बेचनप्रसाद चौधरीको उम्मेदवारी रहेको छ । नेपाली काङ्ग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र रुपमा पूर्व सांसद हेमराज तातेडले पनि उम्मेदवार दिए पछि  स्वतन्त्रबाट उठ्नु भएको खड्काको माहौल बढेको छ । प्रदेश सभामा अन्य ११ जनाको उम्मेदवारी परेको छ ।
स्वतन्त्रबाट प्रतिनिधी सभामा कबिन्द्रसहित सर्वेन्द्र नायक, नारायण ठाकुर, विद्यानन्द लेखी, दिलिप चौधरी, प्रकाश नाटाहा, फजिल मन्सुरी, डा. रोहित पोखरेल गरि कुल २१ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहनु भएको छ । कविन्द्र यादव र जसपाका नवलकिशोर विच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउछन् ।  
 यस क्षेत्रमा सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकागरि पाँच पालिका पर्दछ ।

सप्तरी–१ का जनताको सेवा गर्न मेरो उम्मेदवारी–स्वतन्त्र उम्मेदवार कविन्द्र यादव