धनकुटा  / तमोर कोरिडोर सडक आयोजनाको धनकुटाको मुलघाट देखि पाँचथरको गणेशचोक खण्ड कालोपत्रे हुने भएको छ । तमोर कोरिडोर सडक आयोजना मूलघाट कार्यालयले मंगलबार उक्त खण्डको ११० किलोमिटर सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरेको हो । 

रु पाँच अर्ब ७६ करोडको लागतमा उक्त खण्ड आसफाल्ट प्रविधिबाट कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको तमोर कोरिडोर सडक आयोजना मूलघाट कार्यालयका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार बोलपत्रको अवधि एक महिनाको रहेको छ । 

पूर्वी पहाडको बहुप्रतिक्षित आयोजना पर्यटकीय दृष्टिले आकर्षक र नमूना बनाउन लागिएको हो । यसका लागि आसफाल्ट प्रविधिको प्रयोग गर्न खोजिएको नेपालीले जानकारी दिनुभयो । “यो प्रविधिको प्रयोग बजारी क्षेत्र र तराईमा रहे पनि पहाडमा एकदमै कम हुन्थ्यो”, उहाँले भन्नुभयो, “यो प्रविधिको प्रयोगका लागि छुट्टै मेसिनको प्रयोग हुन्छ ।” पहाडी क्षेत्रका सडक कालोपत्रेका लागि बिबिएसटी प्रविधि प्रयोग हुने गरेको थियो । तीन वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने योजनासहित कार्यालयले ठेक्का आह्वान गरिएको जनाएको छ । 

यो सडक निर्माण भए पछि  पाँचथर, ताप्लेजुङलगायतका यात्रु काठमाडौंलगायत पश्चित यात्रा गर्नु पर्दा छोटो दुरीमा मुलघाट, चतरा हुदैं मदनभण्डारी राजमार्ग प्रयोग गरेर यात्रा गर्न सकिन्छ । 

कार्यालयले पहिलो चरणमा तमोर कोरिडोरको मूलघाटदेखि सुभाङखोलासम्मको खण्ड तथा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुभाङखोला–गणेशचोक (फेदापा) खण्ड कालोपत्रे गर्न लागेको हो । “यो खण्ड ग्राभेल भइसकेकाले कालोपत्रे गर्न लागिएको हो”, आयोजनाका प्रमुख नेपालीले भन्नुभयो, “तमोर कोरिडोरको सुभाङखोला–लिम्बुनीपुल–ओलाङचुङगोला खण्ड सडक ग्राभेल भइरहेको छ । ग्राभेल सकिएपछि कालोपत्रे सुरु हुन्छ ।” सडक कालोपत्रेको ठेक्का लागेपछि डिजाइन गर्ने योजनाबमोजिम सडकको डिजाइनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

कालोपत्रे हुन लागेको एक सय १० किलोमिटर खण्डमा सात स्थानमा मोटरेवल पुल निर्माण गर्नुपर्ने हुन्छ । सातवटै पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको नेपालीले जानकारी दिनुभयो । ओलाङचुङगोलादेखि चतरासम्मको तमोर कोरिडोर सडकको कूल लम्बाइ दुई सय ३८ किलोमिटर छ । कालोपत्रे आह्वान भएकोबाहेक बाँकी खण्डमा आठ वटा पुलसमेत निर्माण गर्नुपर्नेछ । 

विसं २०६५ मा निर्माण थालिएको यो सडक मुलुकलाई उत्तर–दक्षिण जोड्ने सबैभन्दा द्रुत मार्ग हो । अघिल्लो सरकारले कोरिडोरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार गरी बहुवर्षीय ठेक्का सम्झौताका लागि राष्ट्रिय योजना आयोग पठाएको थियो । कालोपत्रे हुने खण्डमा गत वर्ष नै ट्र्याक खोल्ने तथा ग्राभेल बिच्छ्याउने कार्य सकिएको थियो । सरकारले कोरिडोर निर्माणका लागि बजेट छुट्ट्याई स्रोत सुनिश्चितता गरेपछि कालोपत्रे हुन लागेको हो । 

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटालाई तमोर नदीको किनारैकिनार हुँदै अघि बढ्ने सडकले धनकुटाको मूलघाट हुँदै सुनसरीको धरान तथा चतरासम्म जोड्दछ । कोरिडोरको ग्राभेल भएको खण्ड कालोपत्रे हुने भएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । ट्र्याक खोलिएपछि दुई वर्षअघिबाट यस सवारीका साधन यस सडकमा नियमित सञ्चालनमा आइसकेका छन् ।