‘वेटिङ प्राइमिनिस्टर’ केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्रमशः नजिक हुँदैछन्। निकटता बढाउनु दुवैको वाध्यता हो। खासगरी मोदीलाई ओलीसँग सम्बन्ध नबढाई भएको छैन। अनि,ओलीलाई पनि मोदीको विश्वास नजिती भएको छैन।
कुरा ओली र मोदीको फोन वार्ताको मात्र होइन। अनेक कोणबाट देख्न सकिन्छ – ओली र मोदीबीचको तीतो सम्बन्ध क्रमश तातो हुँदैछ, किन ? ओली र मोदी आपसी सम्बन्ध बढाउन किन वाध्य छन् ? यसबारे चर्चा गरौं :
मोदीको वाध्यता
समय बदलिईरहन्छ। परिवन्द बदलिईरहन्छ। युग बदलिईरहन्छ। भारतलाई गरुढ ठान्ने,आफूलाई सर्प मान्ने नेपालले नाकावन्दीको गज्जबसँग प्रतिकार गर्यो। नेपाल–भारतको आपसी सम्बन्धमा ‘नाकावन्दी र प्रतिकार’ टर्निङ प्वाइन्ट थियो। त्यो प्रकरणबाट नेपालमा भारतीय प्रभूत्वको श्रेष्ठता ओरालो लाग्यो।
भारतीय बुझाईमा नेपालमा चिनियाँ प्रभाव बढ्दैछ। यो सत्य हो, किनभने नेपालमा चीनबाट रेल र तेल आयो भने मात्र बिकास हुन्छ भन्ने मान्यता बलियोसँग स्थापित हुँदैछ। यस्तो मान्यता नीतिगत तहमै समेत प्रतिविम्बन हुन थालिसकेको छ। भारतका लागि यो प्रीतिकर कुरा होइन। चिनियाँ रेल र तेल भनेको प्रकारान्तरले भारत निर्भरता घटाउनु हो।
अर्को सत्य के हो भने वाम गठवन्धनले चुनाव जितेको छ। भारतसँग कडा अडान लिनसक्ने केपी ओली सम्भवत प्रधानमन्त्री बन्नेछन्। भारतका लागि यो पनि खुशीको कुरा होइन।
दक्षिण एशियामा चिनियाँ प्रभाव बढेको बढ्यै छ र भारतको परम्परागत प्रभूत्व ओरालो लागेको लाग्यै छ। नेपालमा भारतीय प्रभूत्व घट्दै गएर चिनियाँ प्रभाव बढ्दै गएको देख्छन् भारतीय बुद्धिजीवीहरु। र, यसमा दोष दिन्छन् मोदीको नेपाल नीतिलाई। नेपालमा भारतीय नीतिलाई काउन्टर दियो एमालेले। झन एमालेले माओवादीलाई काँधमा बोकेर वाम गठवन्धन बनायो। त्यसपछि भारत झन कर्नरमा पर्यो। गठवन्धन बन्न नदिन भारतले गरेको प्रयाश छ्याङगै देखिएको थियो।
न वाम गठवन्धन फोर्न सक्यो, न चुनाव जित्नबाट रोक्न सक्यो भारतले। त्यसपछि बदलिएको परिवेशमा ओलीलाई नै नफकाई नहुने परिवन्दमा पर्यो भारत। राजनीति र कूटनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने सबैले बुझेकै कुरा हो।
अब वाम सरकार बनिसकेपछि भारतसँग दुईटा बाटो हुनेछ। एउटा बाटो हो – विगतमा जस्तै दवाब दिने,तर्साउने र थर्काउने। अर्को हो फकाउने। जति तर्साउने थर्काउने काम गर्यो उति चीनतिर ढल्कन नेपाल वाध्य हुन्छ भन्ने भारतले नाकावन्दीको बेलादेखि नै बुझेको हो। तसर्थ, थर्काउने होइन फकाएर स्वार्थ सिद्धी गर्ने बाटोमा भारत गएको छ। यही कारण ओलीसँग सम्बन्ध सुधार्न चाहन्छ उ।
अहिले ओलीको सरकार बन्न दिइएन भने पनि त्रिशंकु संसदमा केही महिनापछि ओलीले पासा पल्टाइदिन सक्छन्। संसदीय गणितले यही देखाउँछ। माओवादी र एमाले मिलेनन् भने पनि संसदमा सबैभन्दा सुविधाजनक र निर्णायक अवस्थामा एमाले नै रहिरहने छ। त्यसैले ओलीलाई विच्काउनुभन्दा फकाउनुमै भारतले आफ्नो हित देख्यो।
हुनत भारत समग्र नेपाली राजनीतिलाई नै यो ट्रयाकबाट बाहिर लैजान चाहन्थ्यो। तर, सम्भव भएन। संविधान भत्काउन खोज्यो,संशोधनको बहानामा नेपाललाई अस्थिरतामा लैजान खोज्यो। तर, नेपाललाई यो संविधान अनुसारको बाटोमा अगाडि जान रोकियो भने चिनियाँ प्रभाव झन् बढ्ने बुझ्यो। त्यसैले चुनाव रोक्न खोजेन, अब सरकार बन्न पनि रोक्न सक्दैन।
नेपालको बदलिँदो राजनीतिक परिवेशमा शीर्ष पात्र ओली नै हुन्। ओलीलाई रोक्न नसकेपछि विश्वाशमा लिनु नै भारतले बुद्धिमानी ठान्यो।
प्रष्ट छ, ओलीलाई फकाउनु भारतको रहर होइन वाध्यता हो। कूटनीतिमा रहरको कुनै स्थान हुँदैन। नेपाल नीतिको कोर्स करेक्सन गर्ने क्रममा छ भारत। ओलीसँग सम्बन्ध सुधार नगरी कोर्स करेक्सन हुन सक्दैन भन्ने भारतले बुझेको हुनुपर्छ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी साँझ बिहानै प्रचण्डको निवास किन जान्छन्रु चिया खाँदै चेस खेल्नलाई हो तरु चेस खेल्न नै गएका हुन् तर राजनीतिक चेस। राजनीतिक चेसमा भारतसँग हालका लागि धेरै चाल छैन। ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिँदैन, रोक्न खोजियो भने प्रत्यूत्पादक हुन्छ भन्ने भारतीय बुझाई हुनसक्छ।
ओलीको वाध्यता
कुनै राजनीतिक प्रलय भएन अनि प्रचण्डले आफ्नो राजनीतिक जीवन अन्तिम पटक लिलामीमा चढाएनन् भने अब ओली प्रधानमन्त्री बन्नेछन्। ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न भारतले प्रयाश गरेन या गरिरहेको छैन भन्न मिल्दैन। तथापि, अब ओलीलाई फकाउनु भारतीय वाध्यता हो।
ओलीका पनि वाध्यता छन्।
आजकाल ओलीले भारतलाई प्रहार गरेर खासै बोलिरहेका छैनन्। भारतसँग सिधै टक्कर परेको बेला जसरी जतिबेला पायो त्यतिबेला घोचपेच गरिरहन ओलीको हैसियतका नेताले नमिल्नु स्वाभाविक पनि हो। अनि, चुनावको बेला जसरी सार्वजनिक खपतका लागि अनेक कुरा बोलिरहनुपर्ने वाध्यता पनि अहिले ओलीलाई छैन।
प्रधानमन्त्री बन्न जति कठिन छ, टिक्न त्योभन्दा कठिन छ भन्ने ओलीले नबुझ्ने कुरै भएन। प्रधानमन्त्री बनेपछि चीनसँग सम्बन्ध विस्तार गर्दै रेल र तेलको सपना साकार बनाउने जिम्मा ओलीको हुनेछ। यसको अर्थ यो होइन कि उनले भारतसँग चाहिँ सम्बन्ध बिगार्नु पर्छ।
भारतसँग सम्बन्ध सुधार्नु पनि ओलीको प्रमुख दायित्व हुनेछ। युग परिवर्तन कसरी भइसक्यो भने नेपालका प्रधानमन्त्रीको सफलता या असफलताको मुख्य आधार घरेलु नीति हुन्थ्यो, अब विदेश नीति पनि हुने दिन आएको छ। नेपालको विदेश नीतिले मूलत सम्बोधन गर्नुपर्ने भारत र चीनलाई नै हो। चीन या भारतमध्ये एकसँगको सम्बन्धमा चुक्ने प्रधानमन्त्री अब सफल हुन गाह्रो छ।
यहाँनेर लेखिहालौं – नेपालका प्रमुख दुई राजनीतिक खेलाडी सधैं पर्दा पछाडि हुन्छन्। ती हुन् भारत र चीन। पर्दा पछाडि को छ भन्ने छ्याङ्ग भईसकेको छ।
चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्न सजिलो छैन। भारत आफूलाई विशेष व्यवहार गरियोस् भन्ने चाहन्छ। नेपालको प्राथमिकतामा चीनभन्दा आफू नै हुनुपर्छ भन्ने भारतीय धारणा खुल्लै देखिन्छ। तर, नेपाल यो चाहँदैन। खासगरी विगतका ओली यसो गर्न तयार थिएनन्। अब पनि नहोलान्।
प्रधानमन्त्रीका रुपमा भारतसँग सम्बन्ध बढाउनैपर्ने वाध्यता ओलीलाई हुनेछ। यो उनको दायित्व पनि हुनेछ। भारतसँग सम्बन्ध बिग्रेर राजनीति भाँडियो भने ओलीलाई सजिलो हुने छैन। भारतले रिमोट कन्ट्रोल दबाउनासाथ मधेसी आन्दोलन र जनजाति आन्दोलन उठ्छ र दुःख दिन्छ भन्ने ओलीले बुझेका छन्। त्यसैले भारतलाई विश्वासमा लिनैपर्ने वाध्यतामा ओली पनि छन्।
भारतले दुई नम्बर प्रदेशलाई वार्गेनिङ चिप्सका रुपमा प्रयोग गर्ने खतरालाई नेपालमाथि झुण्डिएको भारतीय तरवार मान्न सकिन्छ। यो तरवार पनि ओलीले देखेका छन्। त्यसैले चीनलाई नचिढ्याउने र भारतलाई नबिच्काउने ओली नीति अपरिहार्य हुनजान्छ।
कुन पहिला ?
प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमण भारतको गर्ने ‘चलन’ छ। यो चलनभित्र नियालेर हेर्यो भने विकराल अवस्था देखिन्छ। यो ‘चलन’को पाश्र्वमा नेपालमा रहिआएको भारतीय प्रभूत्व दृष्टिगोचर हुन्छ। यो चलन तोडेर चीन भ्रमण गरेका थिए प्रचण्डले। त्यसपछि उनले घुमाउरो पारामा माफी माग्नुपरेको थियो।
कुन देशको पहिलो भ्रमण गरिन्छ भन्नेले खास अर्थ राख्छ, खास संकेत दिन्छ, सम्बन्धको समग्र आयाम प्रभावित हुन्छ। तसर्थ,ओली प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतकै गरुन् भन्ने भारतीय मनसुवा देखिन्छ।
ओलीका लागि यो परीक्षा पनि हो। र, भारतको पनि परीक्षा हो, खासगरी मोदीको। ओलीले पहिलो विदेश भ्रमण भारतको गरेनन् भने भारतमा त्यसको दोष मोदीको टाउकोमा जानेछ। मोदीको गलत नीतिका कारण नेपाल भारतीय प्रभावबाट बाहिर जाँदैछ भनेर दिल्लीमा हल्लीखल्ली हुनेछ जो मोदीका लागि प्रीतिकर हुने छैन। र, कुरा हल्लीखल्लीको मात्र होइन, नेपालमा चिनियाँ प्रभाव बढेको ठहर्छ पनि।
विकल्पमा मोदीले नै पहिले नेपाल भ्रमण गर्ने कुरा आएको छ। यसो गर्दा पनि एउटा प्रश्न उठ्छ, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण चाहिँ के हुन्छरु चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, ओलीको भारत चीन भ्रमण अनि मोदीको नेपाल भ्रमण सतहमा देखिने कुरा हुन्, सतहभित्र कूटनीति सम्बन्ध परिचालन अर्कै ढंगले भइरहेको हुन्छ।
बाहिर जे देखिन्छ त्यो राजनीति हो, भित्र जे हुन्छ त्यो कूटनीति हो, खासगरी नेपाल भारतको आपसी सम्बन्धमा। अहिले भित्रभित्रै ओली र मोदीको सम्बन्ध सुधार भइरहेको प्रतीत हुन्छ, आशा गरौं, यो सम्बन्ध राष्ट्रिय हितकै लागि हुनेछ। सरलपत्रिकाबाट