धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहको ओपिडी सेवामा विरामीको अत्याधिक चाप भई जेष्ठ नागरिकलाई स्वास्थ्य सेवाको सुविधा लिन समस्या भए पछि शनिवार अस्पताल बाहिर पनि जेष्ठ नागरिकलाई सेवा दिनु भएको छ ।
परिवर्तनका लागि सामाजिक अभियान, धरान नामक संस्थाको संयोजनमा पाक्षिक रुपमा उहाँले यस्तो सेवा दिनुभएको हो ।
डा. साहले यो शनिवार नयाँ र पुराना बिरामी गरी ३० जना जेष्ठ नागरिकहरुले सेवा लिनु भएकोे छ ।
७० वर्ष भन्दा माथिका बुवाआमाहरुलाई सजिलो तथा स्वास्थ्य सचेतना होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताउनु भयो । धरान–१ स्थित धरान मोडल कलेजमा आयोजित उक्त कार्यक्रममा वर्षा अग्रवाल, दिपेन्द्र निरौला, भोजराज श्रेष्ठ, मोहन श्रेष्ठ, वासुदेव बराल, त्रिभुवन बराल, जेनिश शाक्य लगायतका अभियानकर्मीको उपस्थिति रहेको थियो ।
बुवालाई जाँच गराउन ल्याएको र यहाँ सहजता पूर्वक जाँच गराउन पाउँदा साहै खुशी लागेको धरान – १२ निवासी अलंकार पलिखेले बताउनु भयो । त्यसैगरी आफ्नो आमालाई जाँच गराउन ल्याएका धरान–२ निवासी प्रमेश श्रेष्ठले पनि आयोजकप्रति आभार प्रकट गरे ।
प्रतिष्ठानको ओपिडी सेवामा हस्तामा दुई पटक सेवा दिदैं आउनु भएका डा. साहले एक पटकमा ३ सयभन्दा बढि विरामीको जाँच गदैं आउनु भएको थियो । उहाँको ओपिडी सेवा लिन विहान ६ बजेदेखि बेलुका १० बजेसम्म पनि पालो कुरेर बस्नु परेको विरामीहरुले बताउँदैं आउनु भएको छ । अन्य बरिष्ठ चिकित्सकहरुले २० जनादेखि ६० जनासम्म मात्र विरामी ओपिडीमा हेरेर फर्काउने गरेका छन् । तर डा. साहले आएका विरामी रातीसम्म पनि हेरे पठाउदैं आउनु भएको छ ।

सबैको भरोसा डा. प्रशान्त को हुन ?

dr Prasant1 धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटुरोगीको उपचारका लागि पछिल्लो समय सस्तो गन्तव्य बनेको छ । प्रतिष्ठानमा मुटुरोगको सबैखाले उपचार हुन थालेपछि प्रदेश १ र २ तथा भारतको विहारका आधा भागका बिरामीहरू प्रतिष्ठान आउन थालेका छन् । प्रतिष्ठान मुटु रोगको उत्कृष्ट गन्तव्य बन्नुमा थोरबहुत देन डा. प्रशान्त साहलाई जान्छ ।
प्रशान्त साह ४० नकटेका डाक्टर मध्येका युवा डाक्टर हुन् । २०३८ सालमा सिरहा नगरपालिकामा जन्मेका साह पढ्नकै लागि भनेर ३५ वर्षअघि काठमाडौं छिरेका थिए । बाबा रामचन्द्र साह सिंचाइको इञ्जिनियर हुनुहुन्थ्यो । हजुरबुबा जमुनी साहका नाति नातिनीहरूलाई पढाउनुपर्छ भन्ने सोच थियो । त्यही भएर प्रशान्त गाउँबाट खाजा–सामल बोकेर काठमाडौं छिरे । थापाथली–११ मा उनको बसाइ थियो । एउटै कोठामा ८ जनाको परिवार बस्थे । दाइ, बहिनी र काकाका छोराहरू अनि आमा–बाबा गरेर ८ जनाको बसाइ थियो । सेन्टजोसेप स्कुलमा उनी कक्षा १ मा भर्ना भएका थिए । १९९८ मा प्रथम स्थानमा एसएलसी पास गरे । त्यो समयको काठमाडौं बसाइ उनका लागि सुखद् थिएन । मधेसी समुदायको मान्छे उपत्यकामा टिक्न निकै गाह्रो थियो । तर उनले देखेको सपना पूरा गर्न हरेक पीडा सहेर आफ्नो अध्ययन पूरा गरे । काठमाडौंले नपचाएर उनका काकाका छोराहरू बीचैमा स्कुल छाडेर गाउँ फर्किए । तर डाक्टर बनेर गरिब दीन–हीनहरूको सेवा गर्ने चाहनाले काठमाडौंको मधेश दृष्टिकोण पचाए । ‘म मधेशको केटो १०–१२ वर्षसम्मको काठमाडौं बसाइमा लामो अनुभव सँगालेको छु’–डा. प्रशान्तले भने ।
सन् २००० मा आइएस्सी सकाएर उनी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको इन्ट्रान्स दिन आए । छात्रवृत्तिमा नाम निकालेपछि सन् २००६ सम्म धरानको बसाइ भयो ।

एमबिबिएस दोस्रो वर्ष पढ्दैदेखि उनले स्टेथेस्कोप (मुटुको धड्कन जाँच गर्ने मेसिन) किनेका थिए । त्यही बेलादेखिको उनकोे मुटुरोग विशेषज्ञ हुने सङ्कल्प थियो । एमबिबिएस सकेपछि हाउस अफिसरको रूपमा आकस्मिक कक्षमा काम गरिरहेका थिए, एमडी अध्ययनका लागि भारतधको चण्डिगढमा रहेको पिजिआई कलेजमा इन्टर्नल मेडिसिन अध्ययनका लागि छात्रवृत्ति पाए । २००६ मा एमडी सकाएर उनी धरानमै फर्किए । एमबिबिएस अध्ययन गर्दैदेखि उनको साथमा पृथा बस्नेत थिइन् । पृथाले गाइनोकोलोजीमा एमडी गरिन् । उनले इन्टर्नल मेडिसिनमा । सँगै फर्किएर बीपी प्रतिष्ठानमा काम गरे । डा. प्रशान्तले डेढ वर्ष सिनियर रेसिडेन्टलको रूपमा काम गरेपछि भारतको एम्स कलेजमा मुटुरोगमा डिएमका लागि नाम निकाले । उनी बीपी प्रतिष्ठानलाई डेढलाख जरिवाना बुझाएर फेरि अति विशिष्ट सेवाका लागि डिएम गर्न दिल्ली हाँकिए । विद्यार्थी जीवन, भारतको बसाइ रमाइलो थिएन । २४ सै घण्टा काम गर्नु पर्ने, नेपालीहरूलाई भारत सरकारले डिएम गर्ने विद्यार्थीहरूलाई पे गर्दैनथ्यो । उनको पढाइमा पृथाले सपोर्ट गरिन् । २०१५ मा उनले मुटुरोग विशेषज्ञको उपाधि हासिल गरे ।

उनलाई जागिर दिन दिल्लीमै नेपालका नाम चलेका अस्पतालहरू पुगेका थिए । मासिक ७ देखि १० लाखसम्म अफर गरेका थिए । तर उनलाई पढाउने कार्डियोलोजीका हेड प्रा.डा. बेहेलले पहिलेकै स्थानमा फर्कन प्रोत्साहन गरे । ‘तिमीजस्तो डाक्टरले सरकारी अस्पतालमा आउने गरिब, निमुखाहरूलाई सेवा गर्न आवश्यक छ । तिम्रो इमानदारिता, लगनशीलता जो पैसा अभावमा सरकारी अस्पतालमा जान्छन्, त्यहाँ फिट हुन्छ’ भनेर गुरुले भनेको अझै सम्झिरहेको उनी बताउँछन् । त्यसो त उनलाई अध्ययनको बेला साथ दिने पृथा पनि प्रसूति विभागमा बीपी प्रतिष्ठानमै थिइन् । त्यही भएर पनि उनी प्रतिष्ठान फर्किए । उनले डिएम गर्न जानु एक वर्षअघि नै पृथासँग विवाह गरेका थिए ।

डा. प्रशान्त पूर्वका धेरैका भरोसा हुन् । उनले सयौंको जीवन बचाइदिएका छन् । सयौं मान्छेको जीवन मात्र होइन, उनले सम्पत्तिसमेत बचाइदिएका छन् । मुटुको सानो उपचार गर्न पनि भारतको विभिन्न स्थानमा जाँदा लाग्ने खर्च बचाइदिएका छन् । भारतभन्दा सुलभमा बीपी प्रतिष्ठानले मुटुको उपचारका लागि सेवा प्रदान गर्दै आएको छ । प्रशान्तजस्ता विशेषज्ञ चिकित्सक राजधानीबाहिर कमै मात्र बस्छन् । राम्रो ज्ञान भएका तर बिना सेवा सुविधा मोफसलमा सेवा गर्ने केही डाक्टरहरूमध्ये उनी पनि एक हुन् । मुटुरोगसम्बन्धी सेवा विस्तार गर्ने मोफसलको बीपी पहिलो अस्पताल हो । तर लामो समयदेखि सेवा विस्तार गरे पनि छुट्टै कार्डियो अस्पताल सेवा विस्तार गर्न सकेको छैन । दक्ष जनशक्ति भए पनि स्रोत र साधनको अभावले उनले सोचेजस्तो सेवा दिन पाएका छैनन् ।

तर मुटुरोगको उपचार गर्ने गङ्गालाल हृदयरोग केन्द्र वा भारतका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ । प्रतिष्ठानमा मुटुको दुई प्रकारले उपचार गर्ने गरिन्छ, चिरफार गरेर र चिरफार नगरी । क्याथल्याव नहुँदा सामान्य जाँचहरू इको, टिएमटी, होल्टर, इसिजीमात्र हुने गरेका थिए । सुपर स्पेसियालिटी सेवा विस्तारसँगै चिरफार गरेर र नगरी उपचार गर्न सक्ने दक्ष डिएम इन्टरभेन्सन कार्डियोलोजी गरेका चिकित्सकहरू नियुक्त भएपछि पूर्वका मुटुरोगीले टाढाको अस्पताल धाउनु परेको छैन ।
मुटुको शल्यक्रिया नै गरेर उपचार गर्नुपर्नेमध्ये भल्भ फेर्ने, रिपेयर गर्नुपर्ने, प्वाल टाल्नुपर्ने, रक्तधमनी रिपेयर गर्नुपर्ने, भास्कुलर, धमनी फुटेर हुने समस्या, मुटुभित्रको ट्युमर, फोक्सोको क्यान्सर, फोक्सोको इन्फेक्सन ट्युवरक्लोसिस आदि शल्यक्रिया सेवा विस्तार भएको छ । त्यसका लागि डा. प्रशान्तको पनि ठूलो देन छ ।
उपत्यकाबाहिर मुटुरोगको सबैखाले उपचार हुने मुलुकको एकमात्र स्वास्थ्य गन्तव्य प्रतिष्ठान मात्र हो । प्रतिष्ठानमा सुपर स्पेसियालिटी सेवा दिने मुटुरोग विशेषज्ञहरू मेडिसिन विभागीय प्रमुख प्रमुख प्रा.डा. सञ्जीव शर्मा, डा. प्रशान्त साह, डा. प्रह्लाद कार्की, डा. नवीन पाण्डे, कार्डियो थोरासिक सर्जन डा. लोकेश जैसवाललगायत छन् । निम्नतम् सेवा सुविधामा मोफसलमा सेवा दिने यी चिकित्सहरू पूर्वमा दुर्लभ छन् ।
सादा जीवन उच्च विचारका डा. प्रशान्त अहिले पनि एमबिबिएस पढ्दा खरिद गरेको स्थेटेस्कोपले नै बिरामीको जाँच गरिरहेका छन् । बिरामीको उपचारको समर्पणले उनलाई बिरामीहरूले ‘भगवान’ नै मान्ने गरेका छन् । प्रतिष्ठानमा हप्तामा दुई दिन आइतबार र बुधबार मुटुको ओपिडी सेवा उनले दिँदै आएका छन् । दैनिक ६ सय बिरामीको जाँच उनले गर्छन् । राति ८ बजेसम्म उनको ओपिडी चलिराखेको हुन्छ ।

(देवेन्द्र कार्कीले तयार गरेको २०७६ असोज २ गते ब्लाष्ट दैनिकमा प्रकासित सामाग्री यहाँ साभार गरिएको  हाे । स‌. )