धरान / पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भए पछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयहरुलाई यातयातमा सहज मात्र होइन आन्तरिक पर्यटकहरुलाई समेत एकै छिन अलमलिने गन्तव्य बनेको छ ।

सप्तकोसी नदीमा पुल निर्माण भए पछि यहाँ आन्तरिक पर्यटकहरु बढेका छन् । कोशी पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरीलगायत स्थानबाट पर्यटकहरु आउने गरेका छन् । कोशी पुलको पारी बेलका नगरपालिका–७ मा स्तरिय होटलहरु प्नि संचालनमा आएका छन् । स्थानीय सरद कोइरालाका अनुसार आधा दर्जन होटलहरुले सेवा दिइरहेका छन् । दैनिक ५०/६० जना पुलसम्म मात्र आएर फर्कनेको संख्या रहेको उहाँले बताउनु भयो । आफ्नो काममा पूर्व पश्चिम हिड्नेहरु पनि १५/२० मिनेटसम्म सवारी रोकाएर फोटो खिच्ने गरेको उहाँले बताउनु भयो ।

कोरोना महामारीको कारण सुनसान रहेको कोशी पुल यसपालीको दशैंमा भरिभराउ भएको छ । सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा दशैको नवमीदेखि फोटो खिच्ने र घुम्ने मानिसको भीड लागेको स्थानीय कालुराम राईले बताउनु भयो । पूर्व पश्चिम यात्रा गर्नेदेखि लिएर कोशी पुल घुम्नैका लागि आउने मान्छेको जमात बढेको छ ।

टिकाको दिनदेखि पूर्णिमासम्म पुलमा साथीभाई, परिवारहरुसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभिएर गफिनेहरु र कोशी नदीलाई नियाल्नेहरुको सङ्ख्या उल्लेख्य रहेको थियो । ‘टिकाको दिनदेखि यहाँ पुल भरी मान्छेको भिड अहिलेसम्म छ । यहाँ आएर मानिसले सामाजिक दुरी नै विर्सिएका छन् ।’– बेलका नगरपालिका –४ का सरद कोइरालाले भन्नु भयो –‘प्राकृतिक दृष्यालोकन गर्न र कोशी नदीमा सञ्चालित जेटबोट चलेको हेर्नेको निकै ठूलो भीड लाग्यो ।’ ५ बर्ष अघि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गर्दा जति भीड थियो, त्यस भीडलाई विर्साउने यस पटकको दशैमा भीड भएको उहाँको भनाई छ ।
एसियाली विकास बैंकको सहयोगमा बनेको पुलको अगस्त ३, २०१५ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गर्नु भएको थियो ।
उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल संचालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ । पुल संचालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौंडा सहजै रुपमा जोडिएका छन् । यो पुलले मध्यपहाडी राजमार्गलाई पनि जोड्न सहयोग गर्छ । हेटौंडाबाट धरान जोड्ने छोटो बाटो पनि खुलेको छ । हाल यो सडक मदन भण्डारी पूर्व पश्चिम राजमार्गको रुपमा स्थापीत भएको छ । पूर्वबाट राजधानीलगायतका पश्चिम नेपालको यात्रा प्रायः यही बाटोहुदैं मानिसहरु तय गदैं आएका छन् ।

पुल नहुदाको पीडा
पुल नबन्दा उदयपुर सुनसरी वारिपारी गर्न वाँसको नाउ बनाएर जोखिमपूर्ण यात्रा यहाँका स्थानीयले गर्दै आएका थिए । रामपुरबाट धरानको दुरी २२ किमी छ । तर उक्त दुरीको शहरमा किनमेल तथा स्वास्थ्य उपचारका लागि आउन रामपुर, फत्तेपुर, कञ्चनपुर, इटहरी हुर्दै करिव १४० किमी दुरी पार गरेर यात्रा गर्नु पर्ने बाध्यता थियो । हाल पुल बने पछि त्यो बाध्यता हटेको छ । पुल बने पछि स्थानीयहरु एकै छिनमा धरान, विराटनगर पुगेर फर्कने गर्छन् ।

स्तरीय प्रविधिबाट बनेको पुल
पुल ७६ करोड ११ लाख रुपैयाँमा निर्माण सम्मन्न भएको थियो । यो रकममध्ये एडिबीको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानी रहेको छ । कालिका कन्स्ट्रसन प्रालिले ठेक्का पाएको थियो ।
दुईसय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीनवटा पिलर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरेर बनाइएको छ । यो उच्च प्रविधिको भएको निर्माण कम्पनिले दावी गरेको छ । यस्तो प्रविधी कर्लाणी पुल र कोशी पुलमा मात्र प्रयोग भएको ठेकेदार कम्पनिले जनाएको छ । ।
सन् २००८(विस.२०६५साल) मा सप्तकोशी नदीमा आएको बाढीले सप्तकोशी ब्यारेजमा असर गरेपछि त्यसको विकल्पको रुपमा एडिबीको सहयोगमा सरकारले यो पुल निर्माण थालेको थियो । सन २०११ नोभेम्बर १४ बाट सुरु भएको पुलको निर्माण ५ बर्षमा सम्पन्न भएको थियो ।
कालिका कन्स्ट्रक्सनका निर्देशक पदम गुरुङले संसारकै स्तरीय प्रविधि ल्याएर पुल निर्माण गरिएको बताउनु भयो । पुलको संभाव्यता अध्ययन झण्डै १३ वर्ष अगाडि गरिएको थियो ।

पुलको विशेषता

KOSHIPULL1
कालिका कन्स्ट्रक्स प्रालिका निर्देशक पदम गुरुङका अनुसार कोशी पुल निर्माण भौगोलिक हिसावले कठिन थियो । पानी माथि तीन बटा पिलर निर्माणका लागि ‘पायल फाण्डेशन भएको ८ मिटर चौडाई र २६२ मिटर लम्वाईको पुल निर्माणका लागि पिलर पानी मुनी २० मिटर खनिएको छ । उक्त पानीमुनी खन्न क्यानाडाबाट डब्बल रोटरी मेसिन(डिआर४०) कम्पनिले ल्याएको थियो । उक्त मेसिनले आफै खन्ने र खनेका स्थानमा पायप पनि आफै लगाउछ । जसका कारण खनेका स्थानमा पानी पर्न पाउदैन । २० करोडमा कम्पनिले ल्याएको मेसिन कोशी नदिमा पुल बनाउन प्रयोग भएदेखि अन्य कुनै काममा प्रयोग नभएको निर्देशक गुरुङले बताउनु हुन्छ ।

पूर्वपश्चित जोड्ने विकल्पमा कोशी पुल
भारतले सप्तकोशीमा व्यारेज बनाएको छ । उक्त व्यारेजको अवधी ५० बर्षको थियो । आयु सकिएको ५ बर्ष विति सकेको छ । उक्त पुल कुनै पनि बेला भत्कन सक्ने भएकाले नेपालको पूर्व र पश्चिम जोड्न यही पुल विकल्प हो ।
हाल सुनसरीको पकलीस्थित कान्छीचोक, नहडा, चतरा, कोशीपुल, उदयपुरको रामपुर, सप्तरीको फत्तेपुर, कञ्चनपुर निस्किने ५१ किमी अर्को सडक निर्माण भइसकेको छ । यस सडकलाई गाईघाट जोड्ने काम पनि सम्पन्नभएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत ४ लेनको सडक उदयपुरको बेलटार, भिमा हुदैं गाईघाटसम्म सडक निर्माण भइसकेको छ । केही स्थानका खोलामा पुल निर्माण हुन मात्र बाँकी रहेको छ ।

आर्थिक चहल पहल
पुल निर्माण अघि सुख्खा रहेका उक्त क्षेत्रमा आर्थिक चहलपहल समेत बढेको छ । विगाहाको १ लाख पर्ने जग्गा हाल रोपनीको ५ लाखसम्म विक्रि भईरहेको स्थानीय रमेश राईले बताउनु भयो । यहाँ व्यापार व्यवसाय पनि फष्टाएको छ । तर यति बेला भने कोरोना महामारीका कारण आर्थिक मन्दी छ ।

उत्पादन शहर पु¥याउन सहज
पूर्वी पहाडी जिल्लाका कृषि उपजको प्रमुख बजार धरान हो । त्यहीँबाट व्यापारीले ती उत्पादन इटहरी, विराटनगर, काँकडभिट्टा हुँदै भारतका विभिन्न सहरमा बेच्ने गरेका छन् । नगन्य मात्रामा ताजा सागसब्जी भारत निर्यात हुने गरेको छ । उदयपुर, खोटाङ, भोजपुरका उत्पादन धरान लान हाल सजिलो भएको चतराका व्यापारीहरुले बताउछन् ।
पुल सञ्चालन भएपछि उदयपुरका बेल्टार बसाहलगायत स्थानबाट मात्र आफ्ना उत्पादन सहज रुपमा बेच्न पाएका छन् । ‘पुल निर्माणले उदयपुरको पूर्वी भेगको चौदण्ढी र बेलका नगरपालिकाका स्थानीयलाई ठूलो राहत मिलेको छ ।’–स्थानीय दीपेन्द्र राईले भन्नु भयो ।

कोशी पुलको अर्को आकर्षणः जेट बोट

IMG-20190201-WA0000
बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । यसले शुरु गरेको चतरामा हाल ४ वट कम्पनिले ७ वटा सानाठूलोबोट सञ्चालन गदैं आएका छन् ।
वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि चार ४ वटा कम्पनिले साना ठूला गरेर ७ वटा जेट बोटबाट कोशी पुलदेखि बराहक्षेत्र हुदैं भोजपुर, धनकुटाको त्रिवेणी घाट र सिम्लेसम्म सेवा दिदै आएका हुन । १८ जनादेखि ६० जनासम्म अट्ने बोटहरु सप्तकोशीमा संचालन हुदैं आएका छन् । उक्तबोट चढ्न पनि कोशीपुलमा आन्तरिक पर्यटकहरु प्ुग्ने गर्छन् ।
धरानबाट २५ मिनेटमा पुगिने चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न ५ मिनेट लाग्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभरी नै समय खर्चनु पर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा गर्न सकिन्छ ।
सप्तकोशी नदि हुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याएको हो । यसले उदयपुर र भोजपुर र खोटाङको सिमाना रानीटारसम्म बोट संचालनका लागि सरकारबाट अनुमति पाएको छ । रानीटारसम्म पुग्न चतरा, रामपुर, बसाहा, चौदण्डीगढी हुदै रानीटार पुग्न सडक यातायातबाट ६ घण्टा लाग्छ । भोजपुर सदरमुकामबाट रानीटारसम्म झर्न ९ घण्टा समय लाग्छ । चतराबाट बोटबाट ३० मिनेटमै पुग्न सकिने बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिका सञ्चालक विमलमान श्रेष्ठले बताउनुभयो । 

KOSHIPULL3