• धरानमा नेकपाकै पक्षमा जनलहर उठिरहेको छ 

धरानमा तत्कालीन नेकपा एमालेबाट नगर प्रमुखमा विजयी तारा सुब्बाको निधन भएपछि उपनिर्वाचनअन्तर्गत धरानमा पनि चुनाव हुँदैछ । मङ्सिर १४ गते हुने उपनिर्वाचनको माहोलमा धरान यतिबेला राजनीतिक दाउपेचको केन्द्र बनेको छ । विभिन्न पार्टीका केन्द्रीयस्तरका नेता अहिले आफ्ना उम्मेदवारलाई समर्थन र प्रोत्साहन गर्न धरानमा आइरहेका छन् । आफ्ना उम्मेदवारका लागि जनतासँग मत माग्न घरदैलो अभियानमा समेत हिँडिरहेका छन् । विपक्षी आस्वासनको पुलिन्दा बोकेर सत्तारुढ पार्टीको कमजोरीको बयान गर्दै हिंडेको छ भने सत्तारुढ दल पुनः आफैंलाई जनमत दिन आह्वान गर्दै अघि बढेको छ । यसै सन्दर्भमा नेकपाका स्थायी समिति सदस्य तथा १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य चुनावी मैदानमा होस्टे गर्न आउनु भएकाे छ । उहाँसँगे गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

मङ्सिर १४ गते देशका विभिन्न ठाउँजस्तै धरानमा पनि नगर प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ । विभिन्न राजनीतिक दलले उम्मेदवारी दिएका छन् । यहाँको माहोल कस्तो पाउनु भएको छ ?
– धरान वामपन्थी आन्दोलन, कम्युनिस्ट पार्टीको जगका रुपमा रहँदै आएको ठाउँ हो । हामीले यहाँ शुरुदेखि नै स्थानीय सरकार चलाउँदै आएका थ्यौं । यसै क्रममा धरानका बाटाघाटा बनाउनेदेखि लिएर अहिले खानेपानीको कुरा पनि टुङ्गो लाग्ने लगभग अन्तिम अवस्थासम्म आइपुगेको छ । हामीले यहाँ मठमन्दिरलगायतलाई व्यवस्थित गरेका छौं । अहिले यहाँ एउटा अस्पताल अन्तर्राष्ट्रियस्तरमा विकास हुँदै गइरहेको छ । धरानबाट चतरा जाने मदन भण्डारी राजमार्ग बन्दै छ । वरिपरि ठूलाठूला पुलहरु प्नि बनिरहेका छन् । धरानलाई पर्यटकीय केन्द्र निर्माण गर्ने योजनाका साथ अहिले हामी अगाडि बढिरहेका छौं । यस हिसाबले अरु जुनसुकै पार्टी र उम्मेदवारभन्दा नेकपाले धरानको विकाससका लागि हिजोदेखि राम्रो ढङ्गले काम गर्दै आएको छ । यसरी हेर्दा नेकपाकै पक्षमा जनलहर उठिरहेको छ । प्रकाश राईलाई जिताउन सूर्य चिन्हमा मतदान गर्न जनता मंसिर १४को बेग्र प्रतिक्षामा छन्

यहाँ स्वयम् पनि नेपाल कम्युनिष्ट पार्टीकै तर्फबाट यसै क्षेत्रबाट विजयी सांसद् हुनुहुन्छ । धरानको विकासका लागि यहाँको कस्तो पहल, प्रयत्न रह्यो ?
– मैले चुनाव जितिसकेपछि केही दीर्घकालीन महत्वका काम गर्ने सोच बनाएको थिएँ र त्यसैअनुसार अघि बढिरहेको छु । धरान–चतराका ठूलाठूला चारवटा पुलहरु बनाउन शुरु गरें । अहिले लगभगलगभग कुनै आधि र कुनै पूर्ण निर्माणको अवस्थामा पुगेका छन् । धरानबाट विष्णुपादुका जाने बाटोमा ठूलो पुल बन्दैछ । यहाँबाट जङ्गल तलतिर पनि दुईवटा ठूला पुल बनिरहेका छन् । कालोपत्रे बाटो पनि बन्दैछ । धरानलाई महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने खेलक्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले यस पटक हामीले साढे सात करोड रुपैयाँ रङ्गशाला र खेल विकासका लागि रकम विनियोजन गरेका छौं । यसमा एउटा अत्यन्तै महत्वपूर्ण कबर्ड हल र स्टेडियमको कामलाई अघि बढाउँछौं । धरानमा सम्भावना र चुनौतीका दुईवटा काम अघि सारेका छौं । सर्दू र सेउती कोरिडोरका रुपमा विकास गर्ने र सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यअनुसार भर्खरै पनि हामीले ८ करोड रुपैयाँ सर्दू कोरिडोरका लागि विनियोजन गरेका छौं । बहुवर्षीय योजनाका लागि लगभग १ अर्बको बजेट ठेक्का लगाउँदैछौं । यसबाट एयरपोर्टका लागि जग्गा उपलब्ध गराउने, कोरिडोर निर्माण गर्ने, सुकुम्बासीहरुको व्यवस्थापन गर्ने, छेउछाउमा पिचबाटो बनाउने, नदी नियन्त्रण गर्ने र सुन्दर पर्यटकीय स्थल बनाउने काम गर्छ । त्यसैगरी सेउती करिडोरको विकास योजना अघि सार्दै रानी–किमाथाङ्का बाटो दुईतिरबाट लाने योजना अघि सारेका छौं । र, बीचका खहरे नियन्त्रणका काम पनि हामीले गरिरहेका छौं ।
धरानलाई पर्यटकीय स्थलका रुपमा अघि बढाउन केबलकारको योजना अघि सारेका छौं । एउटा बहुजातीय सङ्ग्राहलय बनिरहेको छ । त्यसमा मैले नै बजेट शुरुवात गरेर अहिले निरन्तरता दिइएको छ । यहाँ धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि महत्वपूर्ण बजेट छुट्टिएको छ । खासगरी विजयपुर, विष्णुपादुकामा बजेट विनियोजन भएको छ, यसले धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि भूमिका खेल्नेछ ।
धरानमा हामीले पर्यटनको प्रदेश कार्यालय स्थापना गर्ने निर्णय पनि गरेका छौं । स्वास्थ्यको पनि प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेका छौं । हामीले प्रदेश प्रमुखको कार्यालय पनि धरानमै राख्ने अनौपचारिक सल्लाह गरेका छौं । यो प्रक्रियामा जानेबित्तिकै यसलाई पनि अघि बढाउँछौं । धरानका बाटाघाटा आदिइत्यादिको विकासका कुरा त छँदैछन् । धरानलाई महत्वपूर्ण बाटाले वरिपरिका गाउँहरुलाई जोड्ने अर्को योजना छ । विष्णुपादुकादेखि धनकुटा जोड्ने, सुलीकोटलाई पर्यटकीय स्थलका रुपमा विकास गरी धरानसँग जोड्ने, झुम्का, चतरा, चक्रघट्टीदेखि कालोपत्रे सडकले जोड्ने र धरानलाई महत्वपूर्ण बजार र केन्द्रका रुपमा विकास गरिनेछ । एउटा अन्तर्राष्ट्रिय स्वास्थ्य केन्द्रका रुपमा धरानलाई विकास गर्ने हाम्रो उद्देश्य छ । स्वास्थ्य केन्द्र, खेल केन्द्र, शिक्षाको केन्द्र र पर्यटनको हिसाबले धरानलाई पूर्वको गेटवेका रुपमा विकास गर्ने हिसाबले हामीले कार्यक्रममा हालिरहेका छौं ।
शुरुवातमै झ्याप्पै काम देखिँदैन, अलिकति टाइम त लाग्छ । तर जे कार्यक्रम हामीले शुरु गरेका छौं, त्यसले धरानको मुहार फेर्छ ।

सुनसरी क्षेत्र नं. १ ‘ख’ यहाँ विजयी भएको क्षेत्र, अपेक्षित बजेट विनियोजन हुन सकेन भनिन्छ नि ?
– खेल केन्द्रको कुरा भयो, सर्दूसेउती कोरिडोरको कुरा भयो । आसपासका स्थानीय तहसँग जोड्ने पक्की बाटो मदन भण्डारी राजमार्गमा बनेका पुलहरु, विष्णुपादुकामा बनेका पुलहरु हाम्रो पहलमा निर्माण भएका छन् । मैले सानातिना कुराहरू भन्दा पनि ठूला मेघा प्रोजेक्टहरुमा जोड दिइरहेको छु । बाँकी सानातिना कुराहरु नगरपालिकाले अघि बढाउँछ ।

धरानको विकासका लागि नेकपाले बजेट विनियोजनलगायत विकासका काममा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग कस्तो समन्वयकारी भूमिका निर्वाह गर्छ ?
– स्थानीय सरकारले गर्नुपर्ने काम पनि अघि बढेकै छ । तारा सुब्बा मेयर हुँदाखेरि विकासले गति लिएको थियो । बीचमा मेयर सा‘ब नहुँदा अवश्यै पनि विकासको काममा केही अवरोधहरु आएका छन् । अब मेयरको चुनावपछि नगरपालिकाले गर्ने विकासका कामहरुलाई अधिकत्तम सदुपयोग गर्दै नगरपालिका अगाडि जान्छ । प्रदेश र केन्द्रले पनि काम गर्छ । केन्द्रका तर्फबाट हामीले मदन भण्डारी राजमार्गदेखि लिएर ठूलाठूला पुलहरु बनाउँदैछौं । केबलकार शुरु गर्ने योजना अघि सारेका छौं । निजी कम्पनीमार्फत भए पनि हामीले सहजीकरण गरेको खासगरी मैले नै धेरै अगाडिदेखि प्रोत्साहन गरेको हो । थाउजेण्ड बुद्ध पनि निर्माणाधीन अवस्थामै छ । धार्मिक पर्यटकीय स्थलको विकासमा पनि बजेटहरु परेको छ । मेरै पहलमा बहुजातीय सङ्ग्राहलय स्थापना भएको छ । म पर्यटन मन्त्री हुँदा ५० लाख दिएर शुरु गरेको थिएँ । बीचमा छुटाएको रहेछ । पछि पुनः थप्न लगाएको छु । यसरी हाम्रै पहल र प्रयत्नमा तीनै तहका सरकारले धरानको विकासका लागि कामहरु अघि बढाएका छन् ।
सुकुम्बासी, भूमिहीन, शैक्षिक बेरोजगारलगायतका समस्या समाधानतर्फ नेकपा कसरी अगाडि बढ्छ त ? आम मतदाताको ताजा प्रश्न हो यो ।
– सुकुम्बासी, भूमिहीनको समस्या राष्ट्रिय समस्या हो । यसका लागि एउटा राष्ट्रिय आयोग बनाएर काम अघि बढाउने र आगामी पाँच वर्षभित्रमा यो समस्या समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको सोचाइ हो । भूमिसम्बन्धी कानून लगभगलगभग बनेर पारित हुने अवस्थामा छ । सायद त्यो राष्ट्रपतिले प्रमाणीकरण गर्न लालमोहोर लाउन बाँकी होला । यो प्रक्रिया अघि बढिसकेपछि सुकम्बासी, भूमिहीनका लागि अधिकार सम्पन्न आयोग बन्छ । त्यसले धरानलगायत धेरैतिरका समस्या हल गर्छ । सुकुम्बासीका अन्य समस्या हल गर्नका लागि हामीले स्थानीय र प्रदेश सरकारबाट आवासलगायतका कार्यक्रम ल्याउन छलफल गरिरहेका छौं ।
बेरोजगारी समस्या हाम्रो देशमा धेरै ठूलो समस्या हो । यो राष्ट्रियस्तरको समस्या हो । सिङ्गो कम्युनिस्ट पार्टीले राष्ट्रिय स्तरमै केही कामहरु गर्ने योजना अघि बढाएका छौं । त्यो भनेको ठूला मेघा प्रोजेक्टहरु शुरु गर्ने, पर्यटनका महत्वपूर्ण कार्यहरु अघि बढाउने, उत्पादनमा आत्मनिर्भर बन्नका लागि कृषिका ठूलाठूला प्रोजेक्टहरु अघि बढाउने र यस क्षेत्रमा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने साथै आगामी १० वर्षभित्रमा कोही पनि युवालाई विदेश जान नपर्नेखाल्को स्थिति सिर्जना गर्ने भन्ने हाम्रो कम्युनिस्ट पार्टीको सोचाइ छ । त्यसैअनुसार हामी अघि बढिरहेका छौं । यद्यपि शुरुवातका केही वर्षहरुमा कानून बनाउनु पर्नेलगायत कामले ढिला त अवश्यै भएको छ । तर हामीले जुन टार्गेट राखेका छौं, त्यसअनुसार अघि बढ्छौं ।
शिक्षालाई पनि केही परिवर्तन गर्ने कुरा सोचिरहेका छौं । अहिलेको बेरोजगार उत्पादन गर्ने शिक्षालाई परिवर्तन गरेर ७० प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशतमात्र साधारण शिक्षाका रुपमा अगाडि लाने भन्ने हाम्रो कार्यक्रम छ । यसै योजनाअनुसार केही विद्यालयले त्यस्ता कार्यक्रम राखेर अघि पनि बढिरहेका छन् । तर गति अलि सुस्त छ, त्यसलाई हामी छिटो बनाउँछौं ।

निर्वाचनको माहोल छ, नेकपाका उम्मेदवारको विजय सुनिश्चित गर्न यहाँहरुको स्तरबाट कस्तो अभियान चलाउनु भएको छ ?
– उम्मेदवार घरदैलो कार्यक्रम गरिरहनु भएको छ । साइड टु साइड वडाहरुले पनि उम्मेदवार नआएको दिनमा समेत घरदैलो कार्यक्रम अघि बढाउने काम गरिरहेका छन् । जनतालाई कन्भिन्स गर्ने काम अघि बढाएका छौं । अहिले अनेकौं खाल्का दुष्प्रचारहरु गरिएको छ । काम गर्दै जाँदा केही मिस्टेकहरु भएका हुनसक्छन् । त्यसलाई बढाइचढाइ गरेर विपक्षीहरुले प्रचार गर्ने, ट्याक्सलगायतका चिजहरुको बढी दुष्प्रचार गर्नेलगायत गरिएको छ । यसमा हामीले जनतालाई सम्झाउनु पर्ने छ । हामीले सबै योजनाहरु दिएका छौं । जनतालाई बुझाउँदै अघि बढ्नुपर्ने अवस्था छ । हाम्रा सबै कार्यकर्ता, नेता साथीहरु जनताका घरदैलोमा गएर आफ्नो काम अघि बढाइरहनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई नै भोट किन दिनुपर्ने यहाँ के भन्नु हुन्छ ?
– पहिलो कुरो त प्रकाश राई व्यक्तिगत रुपमा पनि धेरै राम्रो मान्छे हो । कम्युनिस्ट आन्दोलनमा लामो इतिहास पनि छ । धरानमा बसेर काम गरेको गरै हुनुहुन्छ । हाम्रो यहाँको पार्टीको इञ्चार्ज पनि हो । उहाँ सोझो, इमान्दार कुनै पनि बेइमानी र लप्पनछप्पन नभएको मान्छे हुनुहुन्छ । स्वच्छ छवि भएको मान्छे योजना सञ्चालन गर्न सक्ने मान्छे भएर हामीले टिकट दिएका हौं । दोस्रो कुरा उहाँ कम्युनिस्ट पार्टीको मान्छे हो । हामी कम्युनिस्ट पार्टीले समाज रुपान्तरण गर्ने कार्यक्रम बोकेका छौं । हामीले विकास र समृद्धिका कार्यक्रम अघि सारेका छौं । र त्यो कार्ययोजनाअनुसार तीनै तहका सरकारहरु अघि बढ्छन् । यत्तिको गतिलो पार्टी नेपालमा कुनै छैनन् । यहाँ हाम्रो प्रतिस्पर्धी नेपाली काङ्ग्रेस हो । नेपाली काङ्ग्रेस लगभग आउट डेटेड, टेस्टेड र फेल्ड पार्टी हो । आजसम्म पटकपटक बहुमतको सरकार, पटकपटक विभिन्न ठाउँमा नेतृत्व गर्दा पनि नेपाली काङ्ग्रेसले आजसम्म जनतालाई देखाउन लायक, भन्न लायक एउटा कार्यक्रम पनि ल्याएको छैन, गरेको छैन । बरु बिगारेको छ । हाम्रो देशमा भएका सार्वजनिक संस्थानहरु सबै कौडीको मोलमा काङ्ग्रेसले बेच्यो । प्लेनहरु बेच्यो, किनेन । उद्योग र सार्वजनिक संस्थान खोलेन, बेरोजागारी बढ्यो । कृषि क्षेत्रका अनुदान कटौती गरियो । तथाकथित निजीकरण, उदारीकरणको नाममा जनतालाई सहुलियत दिने कुराहरु हटाइयो । र, सामाजिक सुरक्षा र विकासको कुनै पनि कार्यक्रम काङ्ग्रेसले अघि सार्न सकेन ।
हामीले विगतमा आक्कल झुक्कल सरकार चलाउँदाखेरि हामीले सामाजिक सुरक्षाका सघन कार्यक्रमहरु अघि बढाइरहेका छौं । वृद्ध भत्ता, विधुवा भत्ता, बिमाका कार्यक्रम कम्युनिस्ट पार्टीले नै ल्याएको छ । विकासका लागि गाउँ, नगरमा बजेट दिने काम गरेको छ । त्यो बजेटले आज जेजति अलिअलि कालोपत्रे बाटाहरु नगरभित्र छन्, ती सबै नेकपाको आक्कलझुक्कल बनेको सरकारले ल्याएका नीतिहरुका उपज हुन् । विकास र समृद्धि नेकपाबाहेक अरुले गर्न सक्दैन । प्रकाश राई नेकपाको उम्मेदवार हो । व्यक्तिगत रुपले असल मान्छे हो । त्यसकारणले उहाँलाई भोट हाल्नुपर्छ ।
अन्य उम्मेदवारसँग तुलना गर्न मिल्छ ?
– अन्य उम्मेदवारले त यसो खेलोफड्को गर्ने मात्र हो । जित्ने कुरा त सायद सोच्नु भा’छैन होला अरुले । खेलोफड्को गर्ने, उम्मेदवार हुने, मान्छे चिनिनेसम्म उहाँहरुले गर्नुहोला, जित्ने त अब त्यस्तै हो । धरानमा नेकपालाई अरुले जित्ने भनेको चाहिँ भ्यागुतोले हात्ती खान्छु भनेजस्तो हो । सम्भव छैन ।
विपक्षी पार्टीले नेकपाका विरुद्ध सुने–भेटेसम्मका नकारात्मक प्रचार गर्दैछन्, धरानका साविकका केही मुख्य प्रशासनिक कार्यालय अन्तै सार्नुमा कम्युनिस्ट पार्टीको दोष छ भन्छ नेपाली काङ्ग्रेस ।
पहिलो कुरा, हाम्रो सरकारले यहाँबाट कुनै कार्यालय लगेको छैन । अरु सरकार भएका बेला गयो होला । नेकपाको सरकार भएको बेला गएको छैन । हामी लान पनि दिँदैनौं । दोस्रो कुरा पर्यटन र स्वास्थ्यको प्रदेशस्तरको कार्यालय धरानमा राख्ने भनेका छौं । निर्णय नै गरिसकेका छौं । तेस्रो कुरा प्रदेश प्रमुखको कार्यालय यहाँ राख्ने भनेर भनिरहेकै छौं । चौंथो कुरा बीपी प्रतिष्ठानमा जेजति नेपाली काङ्ग्रेसका पालामा पदाधिकारी नियुक्ति भएका छन्, त्यसका विकृति पनि देखिएकै छन् । छानविन र अनुसन्धानको प्रक्रिया अघि बढिरहेकै छन् । जति पनि बिग्रिएको अरुको कारणले बिग्रिएको छ । अब हामी यसलाई सपार्छौं । बीपीमा स्ट्रङ्ली प्रोफेश्नल मान्छेहरुको व्यवस्थापन गरेर अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने हामीले सोचाइ राखेका छौं । र, विपक्षीका अन्य फण्डाको त के कुरा गर्नु, भन्ने कुरा केही नपाएपछि भन्ने चिजहरु उहाँहरुले भनिरहनु भएको छ । एकै रातमा सबै कुरा त सप्रिँदैन केही समय चाहिँ लाग्छ ।
धरानको विकास निर्माणमा नेकपाको आगामी योजना केके छन् ?
धरानको सन्दर्भमा भन्दैछु, धरानलाई पूर्वको एउटा सुन्दर पर्यटकीय नगरी, अन्तर्राष्ट्रिय स्वास्थ्य केन्द्रका रुपमा, खेल केन्द्रका रुपमा, शिक्षाको केन्द्रका रुपमा यसलाई हामी विकास गर्छौं । सिङ्गो राष्ट्रिय हिसाबमा भन्दा कृषिको विकास, आत्मनिर्भरताको विकास, उद्योगहरुको विकास, बाटोघाटो, सिचाइ, विद्युत, पर्यटनलगायत ठूला संरचनाको विकास गर्दै रोजगारी प्रवद्र्धन गर्ने नेकपाको मुख्य उद्देश्य हो ।