धरान / सांस्कृतिक शहरको रुपमा चिनिएको धरान उपमहानगरपालिकामा निजी क्षेत्रबाट संचालित संग्रालयहरु भावी पुस्ताका लागि जिउदो इतिहास भएको छ । कुनै सरकारी लगानी विना निजी स्तरमा संचालन गरिएका संग्रालयहरुमा एतिहासिक बस्तुहरु संग्रह गरिएको छ ।  उक्त सामग्री आगन्तुकका लागि मात्रै नौला लाग्दैनन्, नेपालीहरुको प्राचिन सामग्रीको विषयमा अध्ययन गर्ने अध्येताहरुको लागि पनि ‘अनुसन्धान’ गर्ने थलो बनेको छ ।

सेछ संग्राहालय

बासु बराल र एलिना मगरले संचालन गरेको होटलमा यस्ता ऐतिहासिक बस्तु राख्दा होटलको गरिमा समेत बढाएको छ ।
निजी स्तर सेछ होटलले ४ वर्ष अघिदेखिको नेपालीहरुका मौलिक परम्परागत सामग्रीहरुको संकलन गरेर मिनी संग्राहालय बनाएको हो । यहाँ पूराना तामा, चाँदीका सिक्काहरुसँगै मौलिक भाडाकुडाहरु संग्रहित छन् । निजी स्तरबाट पूर्वमा यति धेरै संकलन गरेको सायद यो नै पहिलो भएको इतिहास बुझने जानकारहरु बताउँछन् । बासु बरालका अनुसार २ सय वर्ष पुरानो धान नाप्ने पाथीदेखि मुगल युगको कुरुवासम्म रहेको छ । ‘नेपालीहरुको मौलिक प्राचिन सामग्रीहरु सयभन्दा बढी छन् ।’ होटल सञ्चालक बरालले भने । १८७३ विसको छापा लगाएको छ ।
पर्यटन अभियान्तासमेत रहेका बरालले नेपाली पर्यटकहरु भारतको सिमला घुमाउने क्रममा त्यहाँ निजी स्तरबाट सञ्चालन भएको यस्तै संग्राहालय देखे पछि उनले पनि शुरु गरेको उनी बताउछन् । संग्राहालयमा १९ प्रकारका काशका बटुकाहरु छन् । त्यस्तै ड्याग्रो, खैजडीदेखि लिएर मुर्चुङ्गा, विनायोलगायतका साँस्कृतिक सामग्रीहरु पनि रहेका छन् । पुराना जे सामान हुन्छ त्यही किनेर संकलन गर्ने गरेको बरालले बताए ।
६ लाख ५० हजार रुपैया खर्चेर उक्त सामग्रीहरु राखिएको उनले बताए । पुराना सामान जो लोप हुन लागेका छन्, त्यस्ता सामाग्री भेट्दा खरिद गरेर ल्याउने गरेको उनले बताए । ‘यो संग्राहालयले हालका पुस्ता र आउँदो पुस्तालाई मार्गनिर्देशन गर्ने छ । त्यो बेलामा प्राचिन कुराहरु लोप भइसकेका हुनेछन् ।’–बरालले भने–‘उनीहरुले यसको महत्व संग्राहालयमा आइपुगे पछि थाहा पाउनेछन् । विदेशी पर्यटकहरुको लागि पनि यो सामग्री विशेष हुन सक्छ । किनकी उनीहरुका लागि पनि अध्ययन, अनुसन्धानको केन्द्र बन्न सक्छ ।’
यलम्बर स्मृति संग्रालय
सेछमा जस्तै यलम्बर स्मृति संग्राहालय संस्थागत तवरबाट सञ्चालन भएको धरानको अर्को संग्राहालय रहेको छ । यहाँ किरात राई जातिहरुको सस्कार, संस्कृतिका प्राचिन, मौलिक तथा ऐतिहासिक सामग्रीहरु उपलब्ध रहेका छन् । किरात राईको तीन चुला पनि त्यहाँ भेट्न सकिन्छ । २०५७ सालदेखि सुरुवात गरिएको संग्राहालको मूख्य उद्देश्यले नयाँ पूस्ताहरुलाई र अध्येताहरुको लागि अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्ने नै रहेको किरात राई यायोक्खाका सदस्य उपेन्द्र चाम्लिङले बताए । यहाँ २५० वर्ष अघिदेखिका सामग्रीहरु संग्रहित छन् । किरात राईहरुले प्रयोग गर्ने ओइता (कपास र दाना छुट्यानको लागि प्रयोग गरिने काठको सामग्री) सबैभन्दा पूरानो मानिन्छ । ओखलढुंगा, खोटाङ, भोजपुर, सोलुखुम्बूलगायत क्षेत्रबाट संकलन गरिएको छ । ‘भेटेसम्म पूराना सामग्रीहरु संग्रहित गरिरहेका छौं ।’ राई भन्छन्, ‘संग्रह गर्ने क्रम जारी छ ।’ त्यहाँ हतियारदेखि राईहरुले दैनिक प्रयोग गर्ने मौलिक र प्राचिन सामग्री देख्न सकिन्छ । हुक्का, चर्खादेखि ड्याग्रो, हतियारहरु, पकाउने भाडाकुडाहरु, शिकार खेल्ने सामग्रीहरुसमेत संग्रहित रहेका छन् । राईहरुसँग सम्बन्धित मौलिक, तथा प्राचिन सामग्रीहरु कतिपयलाई थाहा छैन् यो यो चिजहरु प्रयोग गर्छन् भनेर पहिचान होस् भनेर स्थापना गरिएको उनीहरुले बताएका छन् । यो धरान–१० स्थित किरात राई यायोख्खा भवनमा रहेको छ ।
छथरे समाजको संग्राहालय
नीजी क्षेत्रबाट स्थापना गरिएको अर्को छथरे समाजको संग्राहालयमा लिम्बू र लिम्बूवानका पूराना दस्तावेजदेखि लिएर छथरबासी लिम्बुहरुको प्राचिन हातहतियारदेखि दैनिक प्रयोगमा आउने थाल, बटुकाहरुसमेत संग्रहित रहेका छन् । ४ वर्ष अघिदेखि सुरु धरान–१५ मा भएको ‘सानबहादुर–कुमति पारघरी छ थरे संग्राहालय’ ले लिम्बु र लिम्बुवानको विषयमा खोज अनुसन्धान गर्नेहरुको लागि पनि एउटा गतिलो अनुसन्धान स्थल बनेको छ । भक्तमान लिम्बुको वावा आमाको सम्झनामा समाज सहयोग गरेकाले उनीहरुको नाममा स्थापना गरिएको हो ।
अहिलेका पूस्ताहरुलाई लिम्बुजन्य प्राचिन र एतिहासिक सामग्रीहरु कस्ता थिएँ भन्ने ज्ञान दिलाउन पनि संग्राहालय स्थापना गरिएको छथरे समाज धरानका महासचिव भैरव आङ्लाले जानकारी दिए ।
पहिला पहिला लिम्बूहरुको ऐतिहासिक हातहतियार कस्तो थियो, के थियो भन्ने विर्सिएको अवस्थामा अवका पुस्ता यसको महत्व बुझुन् भन्नका लागि यो संग्रालय महत्वपूर्ण रहेको छ । यहाँ लिम्बूहरुको प्राचिन हातहतियार, प्राचिन लालमोहरहरु, र लिम्बु र लिम्बूवान सम्बन्धी खोज अनुसन्धान गरिएको पुस्ताहरु संग्रहित छन् । यहाँ १८३१ भन्दा अघिका लालमोहरहरु सुरक्षित तवरले राखिएका छन् ।
तस्विरः धरान–१ स्थित होटल सेछको रिसेप्सन कोठमा राखिएको मिनी सग्रालय । तस्विरः देबेन्द्र कार्की