धरान / बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । एक साता अघि पहाडमा बाढी पहिरो आएर रोकिएको जेट बोट बुधबारदेखि पुन संचालनमा आएको प्रालीका प्रवन्ध निर्देशक विमलमान श्रेष्ठले जानकारी दिएका छन् ।
बाढी आउदा, ढुङ्गा, काठलगायत सामाग्रीले बोटलाई अवरोध गर्ने भएकाले केही दिन विश्राम गरेर यात्रुहरुको समस्यालाई मध्यनगर गरेर पुन संचालनमा ल्याइएको उनले बताए ।
उक्त बोट बर्षायाममा पनि संचालन गर्न सकिने तर ठूलो बाढी आएको बेला समस्या हुने श्रेष्ठले बताए । ‘बर्षायाममा पनि मौसम अनुकुल हेरेर नियमित गर्छौ । तर पहाडको माथिल्लो क्षेत्रमा भने तिखा ढुङ्गाका कारण सम्भव छैन् ।’–उनले भने ।
धरानबाट २५ मिनेटमा पुगिने चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न ५ मिनेट लाग्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभरी नै समय खर्चनु पर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा गर्न सकिन्छ । श्रेष्ठका अनुसार बोट प्रति घण्टा एक सय किमीसम्म रफ्तारमा लान सकिन्छ । तर नदिको बहाव, ढुङगा तथा घासपातले भने बोटको गतिलाई कम बनाउने गर्छ ।
सप्तकोशी नदि हुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याएको हो । यसले उदयपुर र भोजपुर र खोटाङको सिमाना रानीटारसम्म बोट संचालनका लागि सरकारबाट अनुमति पाएको छ । उक्त क्षेत्रसम्म बोट संचालनका लागि सर्भे गर्ने काम भईरहेको श्रेष्ठले जानकारी दिए । रानीटारसम्म पुग्न चतरा, रामपुर, बसाहा, चौदण्डीगढी हुदै रानीटार पुग्न सडक यातायातबाट ६ घण्टा लाग्छ । भोजपुर सदरमुकामबाट रानीटारसम्म झर्न ९ घण्टा समय लाग्छ । चतराबाट बोटबाट ३० मिनेटमै पुग्न सकिने श्रेष्ठले बताए । उनका अनुसार बोटबाट हलेसी एक घण्टामा पुग्न सकिन्छ । चतराबाट दोललघाट पुग्न दुई घण्टा लाग्ने कम्पनीले जनाएको छ । नदिमा भएका चुचा ढुङगा, असजिला क्षेत्र सरकारले क्लियर गरि दिए निकट भविष्यमा दुघकोशीबाट दोललघाट, हलेसी, अरुणबाट तुम्लिङटार र किमाथाङ्का सिमानासम्म पुग्न सकिने श्रेष्ठले बताए ।
एनका अनुसार । नदिमा ठूला ढुङ्गाहरु ठाडो परेर बसेका हुन्छन् । ति ढुङगाको व्यवस्थापन व्यक्तिगत रुपमा गर्न सम्भव छैन् । सरकारले जल मार्ग क्लियर गर्ने हो भने पूर्वमा जलयात्राको सम्भावना रहेको उनी बताउछन् । ३० सिटे बोट संचालन गर्नका लागि कम्पतिमा ३ फिट गहिरो र १५ फिटसम्म फराकिलो भएको नदिको आवश्यक पर्छ । दुघकोशी, भोटेकोशी, माताकोशी र अरुणमा जल मार्गको सम्भावना भएको श्रेष्ठ बताउछन् ।
तीन करोड प्रारम्भिक लगानीको यो पर्यटकीय परियोजनाले सप्तकोशी किनारमा रिसोर्ट सञ्चालन गर्न, तमोर तथा सुनकोशीमा र्¥याफ्टिङ गर्न थप २ करोड लगानी थप्ने कार्ययोजनामा समेत बनाएको छ । यात्रु तथा विशेष पर्यटकहरुलाई लक्षित गरेर उक्त परियोजना संचालन गरिएको हो ।
बराहक्षेत्र जल यातायातले यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेट अनिवार्य गरेको छ । यात्रुको बीमा र बोटको पनि बीमा गरेको छ ।
हलेसी, ताप्लेजुङ, तुम्लिङटारसम्म जलयात्राको योजना
सरकारले अरुण तथा तमोर, कोशीमा पानीको क्षेत्र समथल बनाउन सहयोज गरे प्रसिद्ध तिर्थस्थल, हलेसी, धनकुटाको छिन्ताङदेवि, ताप्लेजुङको पाथिभरा छिनभरमै जलमागृबाट यात्रा गर्न सकिने सम्भावना रहेको कम्पनिले बताएको छ ।
‘तमोर र अरुणमा केही स्थानमा ढुङ्गा तथा ढिक्कोको कारणले सहजै जेट बोट कुद्न असहज हुने श्रेष्ठ बताउछन् ।
प्रदेश सरकारले जलमार्ग संचालनको संभाव्यता अध्ययन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जल यातायातको पक्षमा वाकालत गर्दै आएका छन् । नेपालमा पानी जहाज चलाउने ओलकिो सपना सरकारले नदिलाई सम्भाउन बजेट छुटाए पानी जहाज संचालन गर्न सहज हुने स्थानीय बताउछन् ।
प्रदेश सरकारले हालै सार्वजनिक गरेको निती तथा कार्यक्रममा कोशी टप्पु, वर्जुताल, तालतलैया इटहरी, वराहक्षेत्र, रामधुनी, विष्णुपादुका, वुढासुव्वा, पिण्डेश्वरी क्षेत्रलाई बराह विजयपुर सर्किट तथा हलेसी छिन्ताङ्ग, वराहपोखरी, साल्पापोखरी, मनकामना, माइपोखरी र पाथीभरा क्षेत्रलाई शक्तिपीठ सर्किटको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन र सेवाहरुको विविधिकरण गरिने प्रस्ताव अघि सारेको छ । यसका लागि जल मार्ग आवश्यक समेत रहेको छ ।
प्रदेश सरकारले चतरा किमाथांका र चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययन गर्न निती तथा कार्यक्रमा समाबेश समेत गरेको छ । यस आर्थिक बर्षको बजेटमा २५ लाख सम्भाव्यता अध्ययनका लागि बजेटसमेत छुट्याएको छ ।