विराटनगर / मोरङ जिल्लाका छ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन्। दिउँसो ३ बजेसम्मको मतगणना परिणामअनुसार नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र जस्ता स्थापित दलका उम्मेदवारहरू रास्वपाभन्दा निकै पछाडि देखिएका छन्।
मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपाने ४ हजार ८७३ मतका साथ अग्रस्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उहाँलाई श्रम संस्कृति पार्टी की शान्ति पाख्रिन लामा ले ३ हजार ७०९ मतका साथ पछ्याइरहनुभएको छ। नेपाली कांग्रेस का खड्ग बहादुर फागो २ हजार ३२३ मतसहित तेस्रो स्थानमा रहनुभएको छ।
त्यसैगरी, मोरङ क्षेत्र नम्बर २ मा रास्वपाका कृष्ण कुमार कार्की १ हजार ५२८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। दोस्रो स्थानमा रहेका नेकपा एमाले का दिलीप कुमार अग्रवाल ले ४५२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेस का मिनेन्द्र रिजाल ३८३ मतसहित तेस्रो स्थानमा रहनुभएको छ।
मोरङ क्षेत्र नम्बर ३ मा भने प्रतिस्पर्धा केही कडा देखिएको छ। सो क्षेत्रमा रास्वपाका गणेश कार्की १ हजार ६५२ मतसहित अग्रस्थानमा रहनुभएको छ। दोस्रो स्थानमा श्रम संस्कृति पार्टी का अमिर मगर १ हजार ४८८ मतसहित रहनुभएको छ भने नेपाली कांग्रेस का सुनिल कुमार शर्मा १ हजार ४८२ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ।
क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी विजयउन्मुख देखिनुभएको छ। उहाँले १४ हजार ७५८ मतका साथ भारी अग्रता लिनुभएको छ। उहाँलाई नेकपा माओवादी केन्द्र का अमन लाल मोदी ४ हजार ३०६ मतका साथ पछ्याइरहनुभएको छ भने नेपाली कांग्रेस का गुरुराज घिमिरे ४ हजार २२८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।
मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झा ५ हजार १०५ मतका साथ पहिलो स्थानमा रहनुभएको छ। दोस्रो स्थानमा जनता समाजवादी पार्टी का राज कुमार यादव २ हजार ३५८ मतसहित रहनुभएको छ भने तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी का शिव कुमार मण्डल १ हजार ८७३ मतसहित रहनुभएको छ।
यसैगरी, मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाकी रुविना आचार्य ९ हजार ५०४ मतका साथ उल्लेखनीय अग्रता कायम गर्नुभएको छ। दोस्रो स्थानका लागि श्रम संस्कृति पार्टी का मातृका पौडेल २ हजार २० मतसहित रहनुभएको छ भने नेकपा एमाले का विनोद ढकाल २ हजार ७ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। नेपाली कांग्रेस का शेखर कोइराला चौथो स्थानमा रहनुभएको छ।
















