काठमाडौं ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ ।

  मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उहाँले ७७ वटै  जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उहाँले बताउनुभयो ।

   “बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ”, उहाँले भन्नुभयो,  “मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ ।”

  उहाँले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा   सहयोग गर्न आह्वान गर्नुभयो ।  मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि  मतगणना गरिने उहाँले जानकारी दिनुभयो ।

 मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उहाँले बताउनुभयो  । साथै उहाँले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने  अनुमान गरिएकोे बताउनुभयो  ।