धरान । चुनावी प्रचारको अन्तिम दिन सोमबार नेपाली काङ्ग्रेसले धरानको भानुचोकमा चुनावी सभा आयोजना गरेर भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सुनसरी क्षेत्र नं. १ कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले चुनावी सभालाई सम्बोधन गर्दै आफू नेतृत्वमा पुगेपछि आफ्नै सम्पत्तिको समेत छानबिन गर्न तयार रहेको उनले घोषणा गर्नु भएको छ ।
“म एक भूपू सैनिकको छोरा हुँ, मलाई धनको लोभ छैन । म केवल धरान र सुनसरीको विकासका लागि राजनीतिमा आएको हुँ,” तामाङले भन्नु भयो ।
उहाँले आगामी निर्वाचनलाई व्यक्ति छनोटको मात्र नभई संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र संघीयताको जग बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्नु भयो । सुनसरी–१ का नागरिकले भोग्दै आएका आधारभूत समस्यालाई उच्च प्राथमिकतामा राखेर समाधान गर्ने उनको प्रतिबद्धता थियो ।
धरानको दीर्घकालीन समस्या बनेको खानेपानी अभाव समाधानका लागि कोसीको पानी ल्याउने परियोजना र तमोर–धरान सुरुङ मार्गमार्फत खानेपानी तथा सिँचाइको स्थायी व्यवस्था गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
वर्षौंदेखि लालपुर्जाविहीन सुकुम्बासी तथा भूमिहीन नागरिकलाई व्यवस्थित बसोबासको सुनिश्चितता गर्दै लालपुर्जा वितरणलाई पहिलो प्राथमिकता दिने तामाङको भनाइ थियो ।
सुनसरी–१ मा १९ राजनीतिक दलका उम्मेदवार र ७ स्वतन्त्र उम्मेदवार गरी कुल २६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।



















