धरान । धरानस्थित सुनसरी क्षेत्र नं। १ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला दलहरूले शक्ति प्रदर्शनलाई तीव्र बनाएका छन् । यही क्रममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराई ९मनोज० ले आइतबार धरानको मुटु भानुचौकमा आयोजित विशाल आमसभामार्फत आफ्नो चुनावी एजेन्डा र विकासको खाका सार्वजनिक गर्नुभएको छ ।

आमसभालाई सम्बोधन गर्दै भट्टराईले विगतमा बाहिरी जिल्लाबाट आएका उम्मेदवारहरूले निर्वाचन जितेपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्ति रहेको बताउनु भयो । २०४८ सालदेखि मनमोहन अधिकारीदेखि अशोक राईसम्मका बाहिरका उम्मेदवारलाई निर्वाचित गर्दा पनि अपेक्षित विकास र जनताले खोजेजस्तो साथ नपाएको बताउनु भयो । आफू यहीँ जन्मेर हुर्किएको, स्थानीय भूगोल र समस्याबारे जानकार उम्मेदवार भएकाले सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले सहकारी पीडितहरूको समस्या समाधानलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताउनु भयो । डुबेको रकम फिर्ता गराउन संसदमा सशक्त आवाज उठाउने र पीडितलाई न्याय दिलाउन पहल गर्ने बताउनु भयो । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै धरान–४, १३ र २० का बासिन्दालाई कानुनसम्मत रूपमा लालपुर्जा उपलब्ध गराउने तथा जग्गा सट्टाभर्ना प्रक्रिया टुंग्याउने योजना रहेको बताउनु भयो ।

फोहोरमैला व्यवस्थापनका लागि वैज्ञानिक डम्पिङ साइट निर्माण गरी धरानलाई स्वच्छ र आधुनिक सहर बनाउने बताउनु भयो । साथै धरान, बराहक्षेत्रका पाँच वडा र रामधुनीका दुई वडालाई जोड्ने सडक सञ्जाल विस्तार गरिने र क्षेत्र नं। १ को जुनसुकै स्थानबाट ३० मिनेटभित्र आवतजावत गर्न सकिने संरचना विकास गर्ने लक्ष्य रहेको बताउनु भयो ।

विरोधीहरूले निजी जीवनमाथि आक्रमण गरेको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिबाट आफू नडराउने र विकासको एजेन्डाबाट पछि नहट्ने बताउनु भयो । आमसभाअघि विभिन्न टोलबाट निस्किएको ¥यालीले नगर परिक्रमा गरेको थियो । कार्यक्रममा सांस्कृतिक झाँकी, बाजागाजा र उल्लेख्य जनसहभागिता देखिएको थियो । पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताहरूको सहभागिता रहेको जनाइएको छ ।