धरान / २०४८ सालदेखि निरन्तर विजय हासिल गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सुनसरी निर्वाचन क्षेत्र नं। १ मा आगामी फागुन २१ गते हुने निर्वाचनमा पुनः इतिहास दोहोरिने दाबी गरेको छ।
शनिबार धरानस्थित भानुचोक मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरूले विगतको जनविश्वास र संगठनात्मक सुदृढताले यसपटक पनि विजय सुनिश्चित हुने संकेत गरेको बताएका हुन्।
दिग्गजको क्षेत्र, युवालाई अगाडि
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गौतम ले सुनसरी–१ लाई मनमोहन अधिकारी, कुन्ता शर्मा, लिला श्रेष्ठ तथा जयकुमार राईजस्ता व्यक्तित्वले प्रतिनिधित्व गरेको ऐतिहासिक क्षेत्रका रूपमा स्मरण गराउनुभयो। उहाँले बदलिँदो समय र ‘जेन–जी’ पुस्ताको आकांक्षालाई सम्बोधन गर्दै पार्टीले युवा उम्मेदवार टिकाराम लिम्बू लाई अघि सारेको बताउनुभयो।
“मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको छ। यस्ता बेला स्थिर र सक्षम नेतृत्व आवश्यक हुन्छ,” उहाँको भनाइ थियो।
विकासलाई निरन्तरता आवश्यक
पार्टीकी केन्द्रीय सदस्य तथा सुनसरी–१ निर्वाचन परिचालन कमिटी संयोजक मञ्जु भण्डारी ले धरान क्षेत्रमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेका विकास आयोजनालाई निरन्तरता दिन एमालेको विजय अपरिहार्य रहेको बताउनुभयो।
उहाँका अनुसार धरानका अधिकांश सडक, खानेपानी तथा बसपार्क निर्माणका योजना एमाले नेतृत्वकै अवधिमा अगाडि बढाइएका थिए। ती योजनाको स्वामित्व अन्यत्र दाबी गरिनु अनुचित भएको उहाँको टिप्पणी थियो।
उहाँले केन्द्रमा प्रभावकारी नीति निर्माणका लागि शिक्षित तथा ऊर्जावान् युवा नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार लिम्बू सक्षम विकल्प भएको स्पष्ट पार्नुभयो।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राईले कुनै योजना, एजेण्डा, नीति नभएका पार्टीहरुको एमाले कुनै विरोध गर्ने समय एमालेलाई नभएको बताउदैं प्रष्ट भिजन, मुलुकको नेतृत्व गर्न सक्ने पार्टी एमालेललाई मत दिन आग्रह गर्नु भयो ।
जनउपस्थितिले उत्साह थप्यो
प्रदेश सभा सदस्य तथा एमाले प्रदेश कमिटी सदस्य विजय राई ले चुनावी सभामा देखिएको जनसहभागिताले पार्टीको पक्षमा सकारात्मक वातावरण बनेको बताउनुभयो।
“यस क्षेत्रमा रहेका मतदाताको सक्रिय सहभागिताले हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ,” उहाँले भन्नुभयो।
उम्मेदवारको प्रतिबद्धता
उम्मेदवार टिकाराम लिम्बू ले जनतासँग गरेको प्रतिबद्धताअनुसार पारदर्शी र उत्तरदायी ढङ्गले कार्यसम्पादन गर्ने अठोट व्यक्त गर्नुभयो।
स्थानीय, प्रदेश र संघीय तहबीच समन्वय गरी विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उहाँको प्रतिबद्धता थियो।
“जनताको विश्वासलाई कार्यदक्षताबाट प्रमाणित गर्नेछु,” उहाँले भन्नुभयो। पूर्वाधार, सेवा र उत्पादनमा आत्मनिर्भर क्षेत्र विकासका लागि निरन्तर लागिपर्ने उहाँको भनाइ थियो।
यस्तै समानुपातिक उम्मेदवार मौसम राईले सुनसरी १ का २७ वटा वडाको समुचित विकासका लागि यहाँका जनताले भिजन र नीति भएको पार्टीका उम्मेदवारलाई अवसर प्रदान गर्न आव्हान गर्नु भयो । उहाँले राष्ट्रिय आकांक्षा पुरा गर्न प्रत्यक्ष र समानुपातिकमा एमालेलाई मत दिएर देशमा हुन थप अराजकता रोक्न भूमिका निर्वाह गर्न उहाँले आव्हान गर्नु भयो ।
कार्यक्रममा विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका व्यक्तिलाई स्वागत गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका युवा नेता ठाकुर कार्की ले स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोणसहितको राजनीतिक यात्राका लागि एमाले रोजेको बताउनुभयो।
सभाबीच स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिँदै कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए।




















