धरान / हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले शुक्रबार धरानमा चुनावी शक्ति प्रदर्शन गरेको छ ।
धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहनु भएका राईले गृहनगर धरानमा पहिलो पटक चुनावी आमसभा आयोजना गर्नुभएको हो । भानुचोकमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका उम्मेदवारलाई मत दिनु भनेको प्रधानमन्त्रीका उम्मेदवारलाई मत दिनु भएको बताउनु भयो ।
उहाँले तथाकथित ‘जेनजी विद्रोह’का सन्दर्भमा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन षड्यन्त्रपूर्वक जलाइएको बताउनु भयो । उहाँले षड्यन्त्रकारी समूहको संलग्नता रहेको दाबी गर्नु भयो । देश संकटमा रहेको उल्लेख गर्दै देश बचाउन सक्षम नेतृत्व आवश्यक रहेको बताउनु भयो ।
देश बचाउने उद्देश्यले नै श्रम संस्कृति पार्टी स्थापना गरेको उहाँले दाबी गर्नु भयो । पार्टी विदेशी सहयोगमा नचल्ने प्रष्ट पार्दै उहाँले संघीयता, लोकतन्त्र र प्रत्यक्ष कार्यकारी प्रमुख प्रणालीमा पार्टीको विश्वास रहेको बताउनु भयो । समानुपातिक तथा समावेशी प्रतिनिधित्व, प्रकृति, संस्कृति र प्रविधिमा आधारित विकास आफ्नो पार्टीको मूल धारणा रहेको उहाँको भनाइ थियो ।
युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई उल्लेख गर्दै श्रम संस्कृति पार्टीको सरकार बनेमा विद्यार्थीलाई सातामा तीन दिन मात्र विद्यालय पठाई बाँकी समय श्रम र उत्पादनमुखी शिक्षामा संलग्न गराउने नीति ल्याइने बताउनु भयो ।
सुनसरीका भूमिहीन, श्रमिक तथा पछाडि पारिएका वर्गको जीवनस्तर उकास्ने लक्ष्यका साथ उम्मेदवारी दिएको उहाँले बताउनु भयो । पुराना राजनीतिक दलहरू विकासभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाउँदै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औँल्याउनु भयो ।
“पुराना दलले जति गीत गाए पनि अब हिट गीत हाम्रो नै हुन्छ,” उहाँले भन्नु भयो, “देशप्रेमी र देशका लागि पसिना बगाउनेले मात्र साँचो विकास गर्न सक्छन् ।”
उहाँले भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारलाई पार्टीको प्रमुख एजेन्डा भएको बताउनु भयो । साथै एमाले, कांग्रेस, माओवादीलगायत दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनु भयो ।
चुनावी सभामा विभिन्न जिल्लाबाट सवारीसाधनमार्फत समर्थक सहभागी भएका थिए । कार्यक्रममा धरान–४ का वडाध्यक्ष धनबहादुर राईसहित २१२ जनाले पार्टी प्रवेश गनुृ भयो । वडाध्यक्ष राईले पदबाट राजीनामा दिई पार्टी प्रवेश गर्नुभएको हो । उहाँ नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो ।



















