धरान / नेकपा (एमाले) धरान–१५ ले आफ्ना वडामा भएका जेष्ठ नागरिकहरुलाई भेला गरेर उनीहरुको गुनासो सुनेको छ । 

जेष्ठ नागरिकहरुको समस्याको सुनुवाइसँगै पार्टीले शुक्रबार वृहत भेला आयोजना गरेर उनीहरुसँग आफ्नो वडाको विकासका लागि राय सुझावसमेत मागेको छ । 

 नेकपा एमाले निर्वाचन परिचालन कमिटी जेष्ठ नागरिक विभागका संयोजक रंगलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ७० भन्दा बढी जेष्ठ नागरिकको उपस्थिति रहेको थियो । उनीहरुले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता सुरुवात गर्ने पार्टी एमाले भएकाले सुनसरी–१ मा एमालेलाई सबै जेष्ठ नागरिकले मत दिने बताएका थिए । 

धरान–१५ अमृत टोलका जेष्ठ नागरिक अमरबहादुर तामाङले भन्नु भयो–‘मुलुकको हित र जेष्ठ नागरिकको सारथी एमालेलाई फागुन २१ कोे निर्वाचनमा जिताउनुको विकल्प छैन् ।’ युवा, विद्यार्थी, व्यवसायी, जेष्ठ नागरिकहरु माझ एमालेका उम्मेदवार लोकप्रिय भएको तामाङले बताउनु भयो । झण्डै १६ हजार मतदाता भएको धरान–१५ धरानको सबै भन्दा बढी जनसङ्ख्या भएको वडा हो । यस वडामा विगतदेखि नेकपा एमालेले स्थानीय तहको निर्वाचन पनि जित्दैं आएको छ ।