धरान । भोजपुरको आमचोक र हतुवागढीलाई थातथलो बनाई हाल धरानमा बसोबास गर्दै आएका स्थानीयहरूसँग नेकपा एमालेका सचिव तथा भोजपुरबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको शेरधन राईले भोजपुरको समृद्धिका विषयमा छलफल गर्नु भएको छ। धरानमा आयोजित उक्त अन्तरक्रियामा भोजपुरलाई कसरी विकासको मूलधारमा ल्याउन सकिन्छ भन्ने विषयमा सहभागीहरूले आफ्ना धारणा र सुझावहरू राखेका थिए।
छलफलका क्रममा सहभागीहरूले भोजपुर विकासमा पछाडि परेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका थिए। विशेषगरी उदयपुर र भोजपुरलाई जोड्ने चुहार पुल समयमै निर्माण नहुँदा जिल्लाको आर्थिक तथा सामाजिक विकास अवरुद्ध भएको गुनासो गरिएको थियो। नारद राई, जुवु राईलगायत सहभागीहरुले पुल, सडक, पूर्वाधार र रोजगारीका अवसरका लागि योगदान आवश्यक भएको सुझाउनु भएको थियो ।
अधिकांश सहभागीहरूले राष्ट्रिय राजनीतिमा पहुँच भएका व्यक्तिलाई प्रतिनिधि सभामा पठाउन भोजपुरका मतदाताहरू सचेत हुनुपर्ने सुझाव दिनुभएको थियो । २०७९ सालको निर्वाचनमा निर्वाचित प्रतिनिधिहरूको केन्द्रमा प्रभाव नहुँदा विकास निर्माणका योजनाहरू अघि बढ्न नसकेको र अधुरा आयोजनाहरू अलपत्र परेको उनीहरूको धारणा थियो। यस अघि माओवादी केन्द्रबाट सुदन किराती प्रतिनिधि सभामा रहनु भएको थियो ।
छलफललाई सुनसरी क्षेत्र नं। १ का पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राईले सहजीकरण गर्नु भएको थियो। सो अवसरमा कोशी प्रदेशको संस्थापक मुख्यमन्त्रीसमेत बनिसक्नु भएका सचिव राईले सहभागीहरूले दिएका सुझावहरूलाई भोजपुरको समृद्धिका लागि कार्ययोजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
राईले २०५६ सालदेखि नै भोजपुरको विकासमा निरन्तर लागिरहेको उल्लेख गर्दै आफू संलग्न रहँदा जिल्लामा थुप्रै विकास निर्माणका योजना भित्र्याइएको बताउनु भयो । तर पछिल्ला निर्वाचनपछि ती योजनाहरूलाई निरन्तरता दिन आवश्यक पहल नहुँदा धेरै आयोजना सम्पन्न हुन नसकेको उहाँको भनाइ थियो।
उहाँले विशेषगरी चुहार पुल निर्माण, चुहार–हतुवागढी–भोजपुर हुँदै किमाथांका जोड्ने सडक जस्ता गौरवका योजनाहरू आफू मुख्यमन्त्री हुँदा अघि बढाएको स्मरण गराउँदै राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण ती योजनाले निरन्तरता पाउन नसकेको बताउनु भयो । उक्त सडक कोरिडोर पूरा भएमा भोजपुर मात्र नभई समग्र पूर्वी पहाडी क्षेत्रको आर्थिक रुपान्तरण हुने उहाँको धारणा थियो।
मुख्यमन्त्रीका रूपमा कार्यकालमा शेरधन राईको पहलमा भोजपुरमा सडक सञ्जाल विस्तार, ग्रामीण पहुँच मार्ग, खानेपानी आयोजना, शैक्षिक तथा स्वास्थ्य पूर्वाधार सुधार, स्थानीय तह केन्द्रित विकास योजनाहरू अघि बढाइएका थिए। तीमध्ये केही सम्पन्न भए पनि कतिपय योजना अझै अधुरा अवस्थामा रहेका छन्। ति आयोजना सम्पन्न गर्नका लागि शेरधन राईको विजय आवश्यक भएको ुसहभागीहरुले धारणा राखेका थिए ।
अबको निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै सचिव राईले थाती रहेका सबै आयोजनाहरू सम्पन्न गर्ने र भोजपुरलाई समृद्धिको बाटोमा लैजाने दृढ प्रतिबद्धता जनाउनु भयो। स्थानीयको सुझाव, आवश्यकता र सम्भावनालाई आधार मानेर दीर्घकालीन विकास योजना तयार गरिने उहाँको भनाइ थियो।
धरानमा भएको उक्त छलफलले भोजपुरको विकासबारे साझा सोच बनाउनुका साथै आगामी दिनमा जिल्लाको समृद्धिका लागि राजनीतिक दबाब र दिशा तय गर्ने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन्।




















