धरान / प्रतिनिधि सभा निर्वाचन (प्रत्यक्षतर्फ) का लागि आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । जेन जी आन्दोलन पछि पुस्तान्तरणको नारासहित बनेको शुशिला कार्की नेतृत्वको सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरेको थियो ।
मङ्गलबारको मनोनयन दर्तामा ठूला दलदेखि नयाँ राजनीतिक शक्तिसम्मको उत्साहपूर्ण सहभागिताले चुनावी वातावरण तातेको छ भने पूर्वप्रधानमन्त्रीहरूको प्रत्यक्ष उपस्थितिले प्रतिस्पर्धालाई अझ रोचक र अर्थपूर्ण बनाएको छ ।
विगतमा सरकारको नेतृत्व गरिसकेका राजनीतिक दलका शीर्ष नेताहरू यसपटक पनि आफ्ना परम्परागत क्षेत्र र रणनीतिक क्षेत्रबाट जनविश्वास नवीकरण गर्ने दाउमा मैदानमा उत्रिएका छन् । अनुभव, स्थिरता र नेतृत्व क्षमताको बहस चुनावी एजेन्डाको केन्द्रमा आउँदा चुनाव केवल सिटको प्रतिस्पर्धा होइन, राजनीतिक दिशाको निर्णय बन्दै गएको छ ।
यसपटक चार पूर्वप्रधानमन्त्री प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । ओलीको परम्परागत बलियो क्षेत्र मानिने झापामा यसपटकको प्रतिस्पर्धा चासोपूर्ण छ । सोही क्षेत्रबाट युवामाझ लोकप्रिय काठमाडौँ महानगरका मेयर बालेन शाह चुनावी प्रतिस्पर्धामा उत्रिदा झापा–५ राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ । उहाँले यही क्षेत्रबाट पटक पटक निर्वाचन जित्दैं आउनु भएको छ ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्मको राजनीतिक यात्राबाट आउनृु भएका दाहालका लागि रुकुम पूर्व वैचारिक र भावनात्मक रूपमा समेत महत्वपूर्ण क्षेत्र मानिन्छ । यस अघि उहाँले चितवनबाट चुनाव लड्नु भएको थियो । चितवनमा छोरी रेणुका दाहाललाई जिम्मा लगाएर उहाँ सुरक्षित स्थान खोज्दैं रुकुम पुग्नु भएको हो ।
सोही पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं. १ बाट मनोनयन दर्ता गर्नु भएको छ । संगठन निर्माण र पार्टी विभाजनपछिको राजनीतिमा होमिएका नेपालका लागि रौतहट–१ राजनीतिक पुनरागमनको चुनौतीपूर्ण परीक्षा बनेको छ ।
यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी लिएर मैदानमा उत्रिनु भएको छ । वैचारिक राजनीतिका हिमायती भट्टराई विकास, सुशासन र वैकल्पिक राजनीतिलाई चुनावी मुद्दा बनाउँदै मतदातासामु प्रस्तुत भएका छन् । गत निर्वाचनमा उहाँले प्रचण्डालाई सघाउनु भएको थियो ।
२०७९ सालको आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक दाहाल गोरखा–२ तथा सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित हुनु भएको थियो ।
पाँच पटक प्रधानमन्त्री भइसकेका नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यस निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ । पार्टीको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि देउवा पार्टी राजनीतिमा सीमित भूमिकामा देखिनु भएको छ । डडेलधुराबाट पटक–पटक विजयी हुँदै आउनु भएका देउवाको उम्मेदवारीको इच्छा रहे पनि पार्टीभित्रको विवाद र समीकरणका कारण उहाँ बाहिरिएको बताइन्छ ।
त्यसैगरी अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि यसपटक उम्मेदवार बन्नु भएन् । इलाम–१ बाट २०७९ को निर्वाचनमा एमालेका महेश बस्नेतसँग पराजित भएका खनाल हाल नेकपामा रहनु भएको छ ।



















