• गणतन्त्रको विकल्प गणतन्त्र नै हो, राजतन्त्र होइन । नेताको विकल्प नेता नै हो, राजा होइन ।
  • भीमज्वाला राई

२०६५ जेठ १५ गते संविधान सभाले राजतन्त्रको कालो युगलाई विटमार्दै गणतन्त्र घोषणा गरेको हो । श्री ५ को सरकारको ठाउँमा नेपाल सरकार घोषणा, नेपाललाई धर्मनिरपेक्ष घोषणा, शाही नेपाली सेनाको नाम परिवर्तन गरि नेपाली सेना, राजाले गरेका कामहरुको बारेमा प्रतिनिधिसभा र अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था र जनतालाई सार्वभौमसत्ता सम्पन्न घोषणा गरिएको हो । 

१६ वर्षमा सप्तकोशीमा धेरै पानी बगिसक्यो । लुब्ध ज्ञानेन्द्र शाहलाई फेरी एकपटक गद्धी मोह जाग्यो, श्रीपेच पहिरिने उत्कण्ठा पलाएर आयो । राजावादीहरुलाई सार्वभौम जनता भन्दा दास भएर रैती हुने चाह पलायो । साझा राष्ट्र होइन हिन्दुहरुलाई काखीच्याप्ने देश बनाउने उत्कट इच्छा उर्लिएर आयो । 

फागुन ७ गते प्रजातन्त्र दिवसको दिन भिडयो सन्देश मार्फत ज्ञानेन्द्र शाले भनेकाछन् अव समय आयो राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निम्ति हामीलाई सहयोग गर्न सबै देशबासीलाई अनुरोध गर्दछौँ । 

त्यही पृष्ठभूमिमा हिन्दु राज्य सहितको राजतन्त्र फकाइदिने भारतीय शक्तिको आशमा ज्ञानेन्द्र र ज्ञानेन्द्रवादीहरुले चैत १५ गते असम्भव जोडबल गरे । हत्या, हिंसा, लुटपाट, आगजनी र तोडफोड साम्राज्य खडा गरे । चेतना मरिसकेका क्षुब्ध ज्ञानेन्द्रले बेलायती राजा चाल्र्स प्रथमको इतिहासबाट पाठ सिक्नु पर्ने हो । सिक्नका लागि त चेतना चाहिन्छ, चेतना मरिसकेका उनलाई के लेखौँ । उनका अनुयायीहरु जसले आफुलाई राजावादी हुँ भन्छन् उनिहरुले बुझ्दा बेसैहुन्छ ।

सन् १२१५ मा भएको म्याग्नाकार्टा (बेलायती जनता र राजाबिचको सम्झौताको घोषणापत्र) मा राजा कानुनको मातहत रहनुपर्ने र स्वेच्छाचारी हुन नमिल्ने लगायतका विषयहरु रहेका थिए । तर, पिता जेम्स प्रथमको निधनपछि सन् १६२५ मा चाल्र्स प्रथम राजा भए । राजकाज होइन रजगज गरेका उनले स्वेच्छाचारी कदम चाल्दै सन् १६२९ मा संसद भंग गरे । संसदको सबै अधिकार हातमा लिएर शक्तिको आडमा मनमौजी गरे, सम्पूर्ण शासनसत्ताको सर्वाधिकार आफूमा राख्दै जनतासंगको सम्झौताको तोडे । म्याग्नाकार्टाको वैधानिकतालाई अस्विकार गर्दै संसदसंग चर्को द्वन्द्वको सुत्रपात गरे । 

दैवीय अधिकार सम्पन्न राजाको मनोमानीले सन् १६४० सम्म चाल्र्स प्रथमको अत्याचार उत्कर्षमा पुगिसकेको थियो । त्यहिबेला युरोपमा क्याथोलिक र प्रोटेस्टेन्टहरुबीच युद्ध चलिरहेको थियो । युद्धबाट बेलायत पनि अछुतो थिएन । प्रोटेस्टेन्ट प्रभावित बेलायती समाजमा क्याथोलिक महिलासँग विवाह गरेका चाल्र्स प्रथमले तिनै क्याथोलिक श्रीमतीलाई नै महारानी बनाएपछि त झन बेलायती समाजको ठुलो समुह राजासंग असन्तुष्ट थिए । यहि समय बेलायत र स्कटल्याण्डबिच युद्ध जारी थियो । युद्धको नेतृत्व राजा आफैले गरिरहेका थिए । युद्धमा स्कटल्याण्ड हावीहुँदै गइरहेको थियो । 

राजा नेतृत्वको युद्ध कमजोर बन्दै गइरहेको अवस्थामा संसदले ओलिबर क्रमबेलको अगुवाईमा सेनाको दस्ता गठन गर्यो । क्रमबेल नेतृत्वको आधुनिक सेनाले विजयतर्फ डोर्‍याइहेको युद्धलाई राजाले भने रुचाएका थिएनन् । राजा र संसदबीचको अन्तद्र्धन्द्धकै कारण फितलो बनेको युद्धमा अन्ततः राजा चाल्र्स प्रथमलाई स्कटिस सेनाले बन्दी बनायो ।

प्रकारान्तरमा ओलिबर क्रमबेलको सेनाले स्कटिस सेनासँग सम्झौता गरेर राजालाई बेलायत फिर्ता ल्याएर उनलाई स्वेच्छाचारी, मनोमानी र देशद्रोहमा मुद्दा चलायो । यो अभियोग चल्दै गर्दा समेत उनले संसदलाई अधिकार फिर्ता गर्न मानेनन् । आफ्नो स्वेच्छाचारी कदम सच्याउन र शक्ति हस्तान्तरण गर्न तयार भएनन् ।

अन्ततः सन् १६४९ जनवरी ३० मा उनीविरुद्ध मुद्दाको सुनुवाइ भयो । उनलाई मृत्युदण्डको सजाय दिइयो । जनवरीको जाडोमा पातलो कपडा लगाएका चाल्र्स प्रथम थुरथुर काप्दै मृत्युदण्डका लागि अघि बढिरहेका थिए, त्यतिनै बेला बन्चरोले उनको घाँटी छिनालियो । उनको टाउको र शरीर छुट्टिएर दुइटुक्रा भयो । लण्डनको बैंकेटिङ हाउस बाहिरको सडकमा बेलायतका सबैभन्दा शक्तिशाली राजाको टाउको एकातिर र शरीर अर्कोतिर भयो । विभत्स त्यो घटनालाई बेलायती जनता र संसारले हेरे । 

यो घटनापछि तात्कालीन चर्चित नेता ओलिबर क्रमबेलले जनताको मातहतमा नरहने राजालाई मृत्युदण्ड दिनुपर्ने इतिहासको ‘निर्मम आवश्यकता’ रहेको बताए । यद्यपी बेलायतमा राजतन्त्रको अवशेष बाँकी छ, तर, राजतन्त्रको इतिहास के थियो र कति निर्मम थियो भन्ने त्यहाँका राजाले राम्ररी बुझेको छ । पाठ केछ भने सत्तामा फर्कन खोज्ने राजतन्त्रको अन्त्यको इतिहास निकै निर्मम, क्रुर, हिंस्रक र दर्दनाक छ । 

सम्झौता तोडेर सत्तामा फर्कन खोजिरहेका ज्ञानेन्द्र शाहले चाल्र्स प्रथमको त्यो इतिहास राम्ररी बुझनु पर्छ । अनिवार्य थाहा पाउनुनुपर्छ । २०६२/०६३ को १९ दिने जनक्रान्तिको बलमा सम्पन्न नेपाली म्याग्नाकार्टापछि २३८ वर्ष लामो जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र सदाका लागि फालिएको हो । नेपाली म्याग्नाकार्टा घोषणा मार्फत सदाका लागि विदाइ गरिएको राजा फर्काउने भन्दै केही रैतीहरु सडकमा हिंसात्मक प्रहसन गरिरहेकाछन् । चाल्र्स प्रथमकै पथमा ज्ञानेन्द्र विष्णुका अवतारी मुडमा मठमन्दीर हवन गरिहिँडेकाछन् । सडकमा सन्डमसुन्ड चलाइरहेकाछन् । यो असम्भव सपना हो ।

इतिहास दुई पटक दोहोरिने गर्छ । पहिलो पटक त्रासदीको रूपमा र दोस्रो पटक प्रहसनका रूपमा । पहिलो पटकको त्रासदीको रुपमा वंश विनासको बाटोबाट राजा बने संविधान मिचे, जनताको उपलब्धि खोसे, संसद मुठ्याए, बोल्नेको घाँटी अठ्याए, लेख्नेको कलम भाँचे, रगतको होली खेले । जनताको क्रान्तिको बलमा नेपाली म्याग्नाकार्टा को घोषणाले राजतन्त्रलाई अन्त्य गर्दै गणतन्त्र घोषणा गरे, राजालाई नागरिक बनाए, रैतीलाई जनता बनाए, संविधान निर्माण गरे, कानुनहरु लेखे, संरचनाहरु फेरबदल गरे, जनताका जीवनशैली फेरिए, गणतन्त्रको आलोकमा देश नयाँ युगमा प्रवेश गराए । रगतसंग साटेको परिवर्तन संंघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई स्विकार्नु राजाका लागि अनिवार्य हो । 

दोस्रो पटक प्रहसनका रूपमा ज्ञानेन्द्रले फागुन ७ को भिडियो सन्देश र त्यसैको विकासित घटनाक्रमका श्रृखला चैत १५ गते सडकमा राजा आउ देश बचाउको आवरणमा गणतन्त्र विरोधी हर्कत इतिहासबाट पाठ सिक्न नसकेको उदाहरण हो । फेरी राजा हुने र स्वइच्छाचारी शासक बन्ने कहिल्यै पुरा नहुने सपनाको आवरणमा भएका हिंसात्मक घटना अक्षम्य प्रहसन हो । इतिहासको दोस्रो पुनरागमन अत्यन्त निर्मम र क्रुर हुनेगरेको तथ्य ज्ञानेन्द्र शाहले बुझेनन् । जस्तोकी बेलायती जनता आफैले बनाएका राजा चाल्र्स प्रथमको प्रहसन रुचाएनन् र टाउको गिँडिदिए । त्यसपछि ३७६ वर्षदेखि बेलायतले प्रहसन सामना गर्नु परेकोछैन ग्रेट ब्रिटेनका रुपमा संसार हाँकिरहेको छ ।

गणतन्त्रको विकल्प गणतन्त्र नै हो, राजतन्त्र होइन । नेताको विकल्प नेता नै हो, राजा होइन तसर्थ ज्ञानेन्द्रको सत्तामोहको लालसाले जन्माएको हिंसा उदण्डता र देशद्रोही प्रहसन इतिहासमा अन्तिम प्रहसनमा सिमित गरिनु पर्दछ । तत्काल कानुनी कारबाहीका लागि प्रकृया प्रारम्भ गर्नुपर्दछ । उनले लिएका सम्पूर्ण सेवा सुविधाहरु खारेज गरिनुपर्दछ । विदेश मात्रै होइन स्वदेशमै हुने अनावश्यक भ्रमणलाई नियमन गरिनुपर्दछ । सार्वजनिक अभिव्यक्तिलाई नियमन गरिनुपर्दछ । यसका लागि सरकारले कुनैपनि कसुर बाँकी नराखी तत्काल काम थालनी गर्नुपर्छ । पुनश्च गणतन्त्र स्थापनाका लागि जनताको आहुती, त्याग, समर्पण र सपनाको जगमा दल तथा नेताहरुले स्वयम्लाई रुपान्तरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पुरा गर्न संकल्पका साथ परिणाममुखी काम गर्नुपर्दछ ।

(राई, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य हुन् )