- भीमज्वाला राई
पञ्चायती सत्ताको कालो बादल मडराइरहेको समय यातायात मजदुरहरुले २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निर्माण गर्ने हिम्मत गरे । अध्यारो युगमा उज्यालो भविष्यको सपना देखे । त्यो ऐतिहासिक दिनले आजबाट ४५ वर्ष पुरा गरेर ४६ वर्ष टेकेको छ ।
जतिबेला संगठन स्वतन्त्रता थिएन, अन्यायको विरुद्ध बोल्ने छुट थिएन फलस्वरुप सडक दुर्घटनाका हरेक मुद्धामा चालकले हथकडी लगाउनु पथ्र्यो, जेल जानु पथ्र्यो, दुर्घटनामा भएको क्षतिको भरणपोषण मजदुरले गर्नुपथ्र्यो । तर, मजदुरहरुमाथिका कुनैपनि अन्यायको विरुद्ध आवाज उठाउन प्रतिबन्ध थियो । बोले पञ्चायती सरकारको तार्गेटमा परिन्थ्यो, संगठित आवाज राख्न पाइदैनथ्यो । त्यही समय २०३६ साल असार ९ गते मजदुरहरुको बनभोजको नाममा भेला भएर संगठन निर्माण गरिएको इतिहास छ ।
संगठन निर्माण पछि चालकलाई हत्कडी लगाउने प्रथाको अन्त्य र स्वतन्त्र संगठन गठन गर्न पाउनु पर्ने लगायतका १३ सुत्रिय माग राखेर संगठनको आह्वानमा ७ दिने चक्काजाम कार्यक्रम घोषणा गरियो । आन्दोलन अगावै अगुवाइ गर्ने कमल बुढाथोकी, छबिलाल लम्साल, रमेश बिष्ट र चन्द्रवहादुर श्रेष्ठलाई सरकारले गिरप्mतार गर्यो । ३६ दिन विराटनगर कारागारमा थुन्यो ।
दमनले रोकिएन आन्दोलन
संगठन निर्माणपछि राज्यको दवाव चौतर्फि बढ्यो बागमतीमा तात्कालिन सचिव खगेन्द्र नेपाललाई प्रहरीले गिरप्mतार गरेर यातना दियो, संगठनको दस्तावेजहरु जफत गर्यो । दमनका वावजुद् २०३७ सालसम्म मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, बागमती, गण्डकी र लुम्बिनी गरि ८ अञ्चलमा संगठन विस्तार भइसकेको थियो ।
पञ्चायती सरकार संगठन कमजोर बनाउने षड्यन्त्रमा थियो त्यही क्रममा पहिलो महाधिवेशनबाट अध्यक्ष भएका हरीनारायण शाही र दोस्रो महाधिवेशनबाट अध्यक्ष भएका जयराज शाक्य पञ्चायती सत्ताको नजिक बनेपछि संगठन छिन्नभिन्न बन्न पुग्यो । संगठनलाई उर्जा दिनका लागि २०४३ फागुन ३० गते पोखरामा राष्ट्रिय भेला मार्फत चुडामणी जंगलीको संयोजकत्वमा कमिटी पुनर्गठन गरिएपछि संगठनले पुनर्जिवन पायो ।
परिवर्तनको आन्दोलनमा संगठन
पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन उत्कर्षमा थियो । यस परिवर्तनको आन्दोलनमा संगठनले देशव्यापी रुपमा दलहरुलाई साथ र सहयोग गर्यो । खासगरी नेकपा मालेका नेता र दस्तावेज ओसारपसार र सुरक्षित गर्ने काममा संगठनका तात्कालिन नेतृत्वले योजनाबद्ध साथ र सहयोग पुर्याएको थियो । २०४६ सालको परिवर्तन र प्रजातन्त्र प्राप्तीपछि २०४८ सालसम्म १४ वटै अञ्चलमा संगठन विस्तार भइसकेको थियो ।
२०४८ सालमा २४ सुत्रिय माग पेश गर्दै आह्वान गरेको देशव्यापी हड्ताल र २०५३ सालको चक्काजाम यातायात मजदुरहरुको शक्ति प्रदर्शन गर्ने आन्दोलन र संगठनको शक्ति निर्माणको आन्दोलन बन्यो यही आन्दोलनका कारण सरकारले यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ जारी गर्न बाध्य भयो । २०५६ सालताका लाईसेन्स नविकरण शुल्क बृद्धि, यातायात श्रमिकहरुमाथी प्रशासनिक हैरानी, विभिन्न नाममा हुने शोषण र सास्ती विरुद्धको आन्दोलन र जनयुद्धका समय मजदुरहरुमाथिको मारमा संगठनले निर्वाह गरेको भूमिका अतुलनिय छ ।
२०६२ /०६३ को १९ दिने दोस्रो जन आन्दोलनमा यातायात मजदुर प्रद्युन्न खड्का, अनिल तामाङ लगायतको वलिदानी यातायात मजदुरहरुले देशका लागि गरेको त्यागको उदाहरण हुन् । देशभर संगठनका सयौं नेता कार्यकर्ताहरु आन्दोलनमा सहभागी । दर्जनौं नेता कार्यकर्ताहरु पक्राउ तथा घाईते ।
लाईसेन्स लिन एसएलसी पास गर्नु पर्ने शैक्षिक मापदण्ड विरुद्ध संघर्ष संगठनको अगुवाइमा प्राप्त सफल्ता । लाइसेन्स निलम्बन र जरिवाना रकम वृद्धि बिरुद्धको संगठनले सञ्चालन गरेको संघर्ष आफैमा गर्व गर्न लायक छन् ।
श्रमिकहरुका लागि निशुल्क स्वास्थ्य शिबिरहरु सञ्चालन । तथा सडक दुर्घटना न्युनिकरणका लागि देशव्यापी सडक सुरक्षा अभियान सञ्चालन । जहाँ यातायात श्रमिक त्यहाँ संगठन अभियान अन्तरगत बसपार्क आधारित सदस्यता विस्तार र नविकरण अभियान सञ्चालन । अन्तराष्ट्रिय यातायात मजदुर महासंघ (आईटिएफ) संगको सम्बन्धलाई बलियो बनाउदै विश्वमञ्चमा नेपाली यातायात श्रमिकहरुका एजेण्डालाई स्थापित गर्ने कामलाई निरन्तरता । लकडाउनका समय देशभरीका करिव २५ हजार मजदुर परिवारलाई निवासमा पुगेरखाद्यान्न सामग्री सहयोग ।
निजी लगानी रहेको नेपालको अर्थतन्त्रको जग मानिएको यातायात क्षेत्रलाई औद्योगिकरण गर्न सरकारलाई दवाव दिइएको दवाव र २० वर्षे सवारीसाधन काट्ने सरकारी नीति विरुद्ध संगठनले गरेको आन्दोलनले सार्थकता पाएको छ भने चालकहरुको लाइसेन्स निलम्बन र जरिवाना रकम वृद्धि विरुद्धको काठमाण्डौंमा गरिएको आन्दोलन आफैमा ऐतिहासिक छ ।
असार ९ र योद्धाहरुको सम्झना
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना गर्दा अध्यक्ष, कमल बुढाथोकी, उपाध्यक्ष, गेल्बु लामा, सचिव, लेखनाथ पराजुली, सह सचिव, ओमप्रकाश शर्मा, कोषाध्यक्ष, चन्द्रवहादुर श्रेष्ठ, सदस्यहरु, छविलाल लम्साल, रमेश बिष्ट, युगेश्वर साह, दुर्गा मानन्धर, गंगाराम शर्मा ढकाल, मदनकिशोर शर्मा, दिनेश खड्का, सिंहवहादुर भुजेल, दुर्गा आचार्य, विरेन्द्र प्रधानांङ्ग, नत्थुनी चौधरी हुनुहुन्थ्यो वहाँहरुलाई सम्मान र सम्झनाछ ।
असार ९ लाई हामीले प्रत्येक वर्ष विशेष दिनका रुपमा मनाउँद आइरहेकाछौं । देशभरी रक्तदान, निशुल्क स्वास्थ्य परिक्षण, दुर्घटनामा परि अपाङ्गता, अशक्त र असहाय श्रमिकहरुलाई राहत प्रदान, बसपार्क सरसफाई कार्यक्रम, दिप प्रज्वलन, हिरासतमा रहेका चालकहरुलाई राहत प्रदान, हाजीरीजवाफ प्रतियोगिता, आश्रममा खाद्यान्न सहयोग, विद्यार्थीहरुलाई पुरस्कार तथा अग्रज श्रमिक सम्मान, सडक दुर्घटना न्युनिकरण कार्यक्रम र संगठन स्थापना स्थल सुनसरीको पानीपियामा रहेको स्तम्भको सरसफाई गरेकाछौँ ।
बाँकी कार्यभारहरु
- हालको यातायात व्यवस्थापन, सञ्चालन र परिचालनको राज्यको संरचनालाई रुपान्तरण गरि लगानीको सुरक्षा, श्रमिकहरुको व्यवस्थापन र आम सर्वसाधारणको दिगो र भरपर्दो यातायात सेवा विस्तार गर्नेगरी राष्ट्रिय यातायात प्राधिकरण निर्माण गर्नुछ ।
- देशका यातायात श्रमिकहरुलाई राज्यबाट प्रदान गरिने सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समावेश गराउँदै यातायात श्रमिकहरुको जीवनमा आइपर्ने जोखिमबाट मुक्त गर्न यही संगठनको तर्फबाट काम सम्पन्न गर्नु छ ।
- सवारी तथा यातायात व्यवस्था ऐन लगायत अन्य श्रमिक प्रतिकुल ऐनहरु संशोधन गर्दै देशको यातायातलाई लगानीमैत्री, श्रम मैत्री र यात्रुमैत्री बनाउनुछ ।
- बढ्दो सडक दुर्घटना हामी सबैका लागि गम्भिर चुनौती बनेको छ । यसलाई न्युनिकरणका लागि, सडक सुरक्षा अभियान सञ्चालन गरेर श्रमिकहरु र आम नागरिकको जीवन रक्षाको काम यही संगठनले पुरा गर्नु छ ।
- गुणस्तरिय, भरपर्दो र सुरक्षित सार्वजनिक यातायात सेवा सुधारका लागि क्रियाशिल हुनु छ ।
अन्त्यमा ,
श्रमिकहरुको पेशागत हक, हित र अधिकारको आवरणमा निर्माण भएको यस संगठनको मुल ध्येय जनताको राजनतिक चेतनाको अभिवृद्धि र रुपान्तरण पनि हो । सारमा यो संगठन, यातायात श्रमिकहरुको मात्र होईन देशका सबै जनताको साझा संगठन हो । देशको हरेक परिवर्तनमा संगठनले योगदान गरेको छ र, श्रमिकहरुप्रति देशको पनि दायित्व छ यस अभियानमा सबै संगठन हातेमालो गरेर अघि बढ्छ र बढ्नुपर्छ । ४५ औं स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना ।
(राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष हुनुहन्छ ।)