धरान । इलाम क्षेत्र –२ र बझाङमा शान्तिपूर्ण मतदान भइरहेको छ । इलामका सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । 

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो । 

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

 इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यक्रमअनुसार मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत  असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो । 

इलाम उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका  मिलन लिम्बूलगायत १९ जना चुनावी मैदानमा उत्रनुभएको छ । 

यसैगरी, बझाङमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।