धरान / नेकपा एमाले र जसपा नेपालको तालमेलका उम्मेदवारहरुले धरानका पत्रकारहरुबाट बुधबार धरानमा सुझाव लिनु भएको छ । प्रत्यक्ष तर्फ नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरु सुनसरी क्षेत्र नं. १ का अशोककुमार राई र सुनसरी १ (१) का रमेशकुमार बस्नेत र सुनसरी १ (२) का विजयकुमार राईले आज पत्रकारहरुबाट सुझाव ग्रहण गर्नुभएको हो ।
प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटि र बराहक्षेत्र नगर कमिटिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमबाट उम्मेदवारहरुलाई सुझाव दिइएको थियो । पत्रकार विराट अनुपमले धरान ऐतिहासिक सहर र प्रदेशकै पुरानो सहर भएपनि आशातित विकास नभएको भन्दै धरानलाई गुल्जार बनाउन ‘ड्रिम प्रोजेक्ट’ को अवधारणा ल्याउनुपर्ने सुझाव दिएका थिए । उनले धरानले केन्द्रीय नेता नपाएको कारण विकासमा गति नलिएको बताउदै त्यसकालागी केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेताको रुपमा अशोककुमार राईलाई चित्रित गर्दै उम्मेदवारले चुनाव अगाडी नै सुनसरी क्षेत्र नंं. १ का लागी ड्रिम प्रोजेक्ट पब्लिक गर्नुपर्ने सुझाव दिनु भयो ।
त्यस्तै पत्रकार विनय प्रधानले विकास र समृद्धिका नारा धेरै भएपनि धरानकालागी आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी मुख्य समस्या भएकोले त्यसैलाई समाधान गर्ने गरीका योजना ल्याउनुपर्ने सुझाव दिनुभयो । पत्रकार रणध्वज लोहारले सरकार र सरकारी निकायलाई खबरदारी गर्ने र समाजको ऐनाको रुपमा रहेका मिडियाहरु अहिले जर्जर अवस्थामा भएकोले त्यसको उत्थानकालागी काम गर्न सुझाव दिनु भयो ।
सुनसरी १ का उम्मेदवार अशोककुमार राईले धरानलाई पुरानै व्यापारीक सहरका रुपमा फर्काउन आफ्नो भूमिका हुने बताउनुभयो । उहाँले धरान र इटहरीलाई तुलना गर्दै समय क्रममा धरानको विकास नभएको भन्दै अब मदन भण्डारी राजमार्ग र तमोर करिडोरले धरानको मुहार फेरीने बताउनुभयो । उहाँले आफु सदनमा हुँदा वा सरकारमा हुँदा नहुँदा पनि धरानको विकासकै लागि अहोरात्र लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘म सदनमा नहुँदा सरकारमा नहुँदा पनि धरानकै लागी काम गर्ने हो, तर सदन र सरकारमा हुँदा अलि बढी गर्न सक्ने कुरा बताउन चाहान्छु ।’
सुझाव ग्रहण कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै सुनसरी १ (१) का उम्मेदवार रमेशकुमार बस्नेतले पार्टीले सार्वजनिक गरेका प्रतिबद्धताहरु पूरा गर्न प्रतिबद्ध रहने बताउनुभयो । उहाँले धरानमा मुख्य समस्याका रुपमा रहेको खानेपानी र अव्यवस्थित बसोबासको समाधान गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उम्मेद्वार बस्नेतल धरानलाई पर्यटन, स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धिका लागि गुल्जार बनाउन आफुले भूमिका निर्वाह गर्ने बताउनु भएको छ । धरानलाई प्रदेशसँग जोडेर समृद्ध धरान हाम्रो अभियान भएको उहाँले बताउनु भएको छ ।
कार्यक्रममा सुनसरी १ (२) का उम्मेदवार विजयकुमार राईले पार्टीले समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएकोले सम्पूर्ण कार्यभार सोही अनुरुप गर्ने बताउनुभयो । उहाँले नेकपा एमाले सरकारमा पुग्यो भने सबैखाले समस्या समाधान गर्न सक्षम रहेको बताउनुभयो । नेपालीको नीति र नेतृत्वमा धरान, बराहक्षेत्र र रामधुनीको विकास सम्भव हुने उहाँको भनाई थियो ।