२०३८ सालमा शिक्षा निकेतन माविमा अध्ययनरत हुँदा देखि नै नेकपा एमालेका धरान नगर इन्चार्ज नारायण सुवेदीको राजनीतिक जीवन शुरु भएको हो । वामपन्थी राजनीतिमा प्रभावित भएर सक्रिय बनेका सुवेदी अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य देखी राजनितिक यात्रा तय गर्नु भएकाे हाे ।  अहिले पनि उहाँ पार्टीमा उत्तिकै सक्रिय हुनुहुन्छ । विद्यार्थी समय देखिनै सक्रिय राजनीतिकमा आउनु भएका सुवेदीले युवासंघमा समेत सक्रिय भएर काम गर्नु भयाे । २०५७ साउनदेखि धरानको सैनिक भवनमा सम्पन्न पार्टीको दोस्रो नगर अधिवेशनबाट नगर कमिटीको सदस्य बन्नु भएकाे थियाे  । राजनीतिक जीवनमा जहिल्यै इमान्दार बनेर पार्टी संगठनमा अहोरात्र खटिदै आउनु भएका सुवेदी नगर कमिटीको सचिव, उपाध्यक्ष हुदै नेकपा माओवादी र एमाले एक भएर बनेको नेकपामा पार्टी अध्यक्ष तारा सुब्बाको निधन पछि पार्टीको धरान नगरकमिटीको कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्नु भएकाे थियाे । पार्टीमा दिलोज्यानले लागि पर्नु भएका सुवेदीले यसपटकको स्थानीय निर्वाचनमा धरान उपमहानगर पालिकाको मेयर पदको आंकांक्षी समेत हुन् । स्थानीय निर्वाचनकै पेरिफेरिमा रहेर सुवेदीसँग गरेको कुराकानीको सम्पादित अंशः

● धरान वामपन्थीको गढ नै मानिन्छ, उपनिर्वाचनमा हार व्यहोर्नु प¥यो । अहिलेको अवश्था कस्तो छ  ? 

– विगतको उपनिर्वाचनमा केही विषम परिस्थिति एमालेलाई थियो, पार्टी एकता ग्रासरुट सम्म हुन ढिलाई भइसकेको थियो, ०७६ साल मंसिरमा चुनाव भयो, नगरकमिटीको एकीकरण प्रक्रिया असोज ४ गते सम्पन्न भयो, मंसिर १४ गते निर्वाचन छ, असोज ४ गते नगर कमिटीको एकीकरण भयो, तल्लो शाखाहरुको एकीकरण बाँकी थियो, त्यो ढिलाई भयो, हामी टोल कमिटीमा जानै पाइनौं, हाम्रा जनसंगठनहरु मर्च नै गर्न पाइएन, हाम्रो संगठन नै चुस्तदुरुस्त थिएन, उपनिर्वाचन हार्नुको प्रमुख कारण यी नै थिए । त्यसमाथि माओवादी साथीहरुलाई भाग चाहिने, त्यो भाग व्यवस्थापन गर्न सकिएन, पार्टीका लागि त्यो ठूलो समस्या थियो, यस कारण माओवादीबाटै निर्वाचनमा धोका भयो । यस कारण उपनिर्वाचनमा हार व्यहोर्नुप¥यो, अहिले त्यो अवस्था भने छैन ।

● सत्ता गठबन्धन हुँदा नेकपा एमाले धरानमा बलियो होला त ?

– गठबन्धनको अभ्यासले ५ देखि १० प्रतिशत मात्र फरक पार्छ । धरानमा नेकपा एमालेलाई कसैले धोका दिदैनन भन्ने मलाई लागेको छ, कमजोर दलले मात्र गठबन्धन गर्ने हो, बलियो दलले कहिल्यै पनि गठबन्धन गर्दैन । यो जनतालाई पनि राम्रोसँग थाहा छ, यस्तो कुराले गठबन्धन भएपनि कुनै फरक पर्दैन, गठबन्धन दलमध्ये माओवादीका धेरै एमालेमा प्रवेश गरेका छन् । माओवादी अहिलेको अवस्थामा क्षतविक्षत भएको छ । समाजवादी त भर्खैरै जन्मेको हो त्यसको जनमत छैन, मैले उहाहरुलाई कमजोर आकेको चाहिँ हैन, कहिले पनि प्रतिपष्र्धीहरुलाई कमजोर ठान्नु हुदैन, तर गठबन्धन भए पनि धरानमा नेकपा एमालेका लागि केही फरक पर्दैन । एमालेको संगठन निर्वाचनमा जान तयारी अवस्थामा रहेका छन्, चुस्तदुरुस्त भइसकेका छन्, जनसंगठनहरु मर्च भइसकेका छन्, जनसंगठन पनि वार्ड, टोल कमिटीसम्म निर्माण भएका छन् । अर्को कुरा नेकपा एमालेमा अन्य पार्टीबाट प्रवेश गर्नेको लहर नै चलेको छ, यही ३० गतेमात्र अन्यपार्टीबाट ६ हजार सर्वसाधारण एमालेमा प्रवेश गर्दैछन् । अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा इनरुवामा प्रवेश कार्यक्रम सम्पन्न हुदैछ, त्यसो भएको हुनाले त्यो जनलहरले गर्दा पनि विजय सुनिश्चित छ हामीले देखेका छांै ।

● आगामी स्थानीय तहको निर्वाचनमा तपाई पनि आकांक्षी देखिनु भएको छ, टिकट पाउने कतिको विश्वास छ ?

– यो चाहि पार्टीले निर्णय गर्ने कुरा हो, मलाई विश्वास छ म यस पटक टिकट पाउछु भन्ने । पार्टीले हैन तेरो भूमिका यहा हुन्छ भन्यो भने त्यो पनि म स्वीकार्छु । तर मलाई त एकदमै विश्वास छ मैले टिकट पाउछु भन्ने ।

● मेयरको टिकट पाउनुभयो भने तपाइका एजेन्डाहरु के के हुन्छन् त ?

– धरानमा गर्नुपर्ने कामहरु धेरै छन्, पहिला कुरो धरान विगतमा व्यापारिक केन्द्र थियो, अहिले धरान व्यापार केन्द्रको रुपमा रहेन, यहा पहिला व्यापारीका गोदाम हुन्थे धरानबाट सामानहरु व्यापारीहरुले लाने गर्दथे, अहिले व्यापारको केन्द्र धरानबाट सरेको छ, त्यसो भएको हुनाले धरानलाई छिमेकी आसपासका गाउपालिकासँग जोडेर धरानको व्यापारलाई फेरि पुनस्र्थापित गर्न जरुरी छ । धरानको अर्को महत्वपूर्ण पक्ष भनेको पर्यटन हो । हामी पर्यटनका कुरा गर्छौ, तर पर्यटनसँग आवश्यक कुराहरु पूर्वाधारहरु हामीले तयार गरेका छैनौं, पर्यटन प्रहरी हुन्छ, हाम्रो धरानमा कहाँ छ पर्यटन प्रहरी रु पर्यटन प्रहरीका अवधारणा धरानमा चाहिन्छ, अर्को कुरो हामी भारततिर घुम्न गइम भने सबै भाषा जान्ने राम्रो गाइडको व्यवस्था हुन्छ, उसले त्यस स्थानको सबै कुरा धारा प्रवाह व्याख्या गरिदिन्छ । खोइ त हाम्रो धरानमा टुरिस्ट गाइड रु अनि पर्यटनमैत्रीको कुरा आउछ, धरानमा पर्यटक भनेको तेस्रो मुलुकबाट आउने हैन, यहा घुम्न आउने भनेको छिमेकी मुलुक भारतका हुन्, हामीले कालो छाला देख्ने वित्तिकै उनीहरुलाई होच्याउने काम गर्छौ त्यो पर्यटनमैत्री व्यवहार भएन । त्यो कुराको पनि स्कूलिङ हुन जरुरी छ । अर्को कुरा धरानमा किन आउने, के हेर्न आउने रु तीन÷चारवटा मन्दिर छन्, त्यही मन्दिरमात्र हेर्ने रु अरु के छ त हामीसँग रु यहा बसौ बसौ भन्ने खालको केही त हुनुप¥यो, आकर्षक पर्यटकीय स्थलको निर्माण गर्नुप¥यो, त्यस्ता खालका पूर्वाधारहरुको यहा जरुरी छ भन्ने मलाई लाग्छ । मेरो लक्ष्य भनेको यस्ता कुराको निकास गर्ने हो ।

● पछिल्लो समय जनप्रतिनिधिहरुलाई हेर्ने दृष्टिकोणमा फरक आएको छ नि ?

– ०५४ सालको निर्वाचनपछि स्थानीय निकायको निर्वाचन भएन । त्यसपछिका १८÷२० बर्ष जनप्रतिनिधि विहीन अवस्थामा स्थानीय निकायहरु सञ्चालन भए, त्यसो भएपछि जनताले वास्तवमा जे अपेक्षा गरेका थिए, त्यो अपेक्षा प्राप्त हुन सक्दैन, जनताका आकांक्षा धेरै छन्, उमेद्वारबाट त्यो प्राप्त गर्न कठिन भयो । जनताप्रति जति जिम्मेवार हुनुपर्ने हो त्यति जिम्मेवार नहुन सक्छन्, कर्मचारीबाट चलेको स्थानीय निकायमा कर्मचारीले तलब पकाउने काम मात्र गरे, तर जनप्रतिनिधिले त जनताप्रति जवादेही हुनुपर्छ, लामो समय पछि जनप्रतिनिधि आउँदा जनताको अपेक्षा ह्वात्तै बढ्यो, आवश्यकताहरु पनि धेरै थिए, ती सबै आवश्यकता साधन स्रोतको कारणले चाहेको जति हुन सकेन, त्यो भएको हुनाले जनप्रतिनिधिप्रति जनताको केही असन्तुष्टि रहनु स्वभाविक हो, यो होइन कि जनप्रतिनिधिले कामै गरेनन् भन्ने कुराचाहिँ म अलि मान्न तयार छुइनँ ।

●  एडिवी परियोजना असफल भएकै हो ?

– यो पूर्ण रुपमा असफल भएको भन्न मिल्दैन, तर यसको सर्वे डिजाइन हो यतिखेरको हिसाबले भन्ने हो भने त्यो डिजाइन नै फेलर थियो, डिजाइन किन फेलर थियो भने यो परियोजना शुरु गर्दा खेरि एक जना व्यक्तिलाई सरदर २ सय लिटर पार्टी आवश्यकता पर्छ भन्ने हिसाबले शुरु गरेको थियो । अहिले धरानको जनसंख्या १ लाख ९७ हजार छ । ९७ हजारमा मानौ ४७ हजार नेपाल बाहिर वा धरान बाहिर नै बस्छन्, अहिले सरदर धरानमा १ लाख ५० हजार सर्वसाधारण धरानमा बसोबास गर्छन् । अहिले पनि त्यो हिसाबले धरानमा ३ करोड लिटर पानीको आवश्यकता पर्छ । जबकि हाम्रो परियोजनाले अन्डरग्राउण्ड र जलाधार दुवै गरेर अहिले जम्मा १ करोड ९२ लाख लिटर पानीमात्र आपूर्ति गरिरहेको छ, त्यो पनि जलाधार क्षेत्रबाट ४० लाख लिटर भनिएको छ, त्यो पनि आउछ आउदैन टुंगो छैन । मलाई लाग्छ ४० लाख लिटर पानी आइरहेको छैन, त्यसो भएको हुनाले यो जुन शुरुको सर्भे डिजाइन छ, त्यहा नै फेल छ । यो जनसंख्या भनेको अहिले बसिरहेको जनसंख्या हो । यहाँ चारवटा क्याम्पसहरु छन्, क्याम्पसमा पढ्न आउने विद्यार्थीहरु छन्, होटलमा बस्न आउने पर्यटकको हिसाब नै छैन, त्यसो भएको हुनाले पानी त हामीलाई पुग्दै पुग्दैन नि । त्यही भएर परियोजनाको डिजाइन नै फेल भयो भन्दा केही फरक पर्दैन ।

● खानेपानी समस्या समाधानमा के गर्नुपर्ला ?

– यसलाई यथोचित व्यवस्थापन गर्न नसकेर पनि हो । पानी वितरण प्रणाली पनि अवैज्ञानिक ढंगको छ । कही पानी धेरै आएको छ, कही पानी नै आउदैन, विज्ञ खालका कर्मचारीहरुलाई राखेर व्यवस्थापन गर्नुपर्छ त्यो एउटा पाटो हो । पानी जतिमात्रमा चाहिने हो त्यो डिजाइन गर्दा नै गलत भएको छ, सर्वे राम्रोसँग भएको छैन, यसले गर्दा अहिले धरानमा पानीको समस्या भएको हो । यतिले मात्र धरानको खानेपानी समस्या समाधान हुँदैन, हामीले वैकल्पिक उपाय खोज्नुपर्छ, अझै ठूलो प्रोजेक्ट खानेपानीका लागि चाहिन्छ नै, यही तरिकाले हो भने दुई बर्षपछि अहिलेको भन्दा धेरै हाहाकार हुन्छ, जनसंख्या दिनानुदिन बढिरहेको छ, अलि ठूलो परियोजना ल्याएर धरानको खानेपानी समस्यालाई समाधान गर्नुपर्छ ।

● एमालेभित्रको गुट उपगुटले स्थानीय चुनावमा प्रभाव पार्दैन ?

– मलाई लाग्छ अहिले त्यो समस्या छैन । अब त्यस्तो समस्या आउला जस्तो मलाई लाग्दैन, तर केही केही साथीहरुलाई भने केही हेङओभर बाँकी छ, त्योचाहि उहाँहरुले हटाए राम्रो हुन्थ्यो । ह्याङओभरबाट मुक्त भएर पार्टीलाई एकतावद्ध भएर अगाडि लानु जरुरी छ । त्यो फेरि धेरै होइन एक दुई प्रतिशत मात्र छ । लगभग अहिले सबै मिलिसकेको अवस्था छ ।

● एमाले एक्लै चुनावमा प्रतिष्पर्धा गर्दा गठबन्धनसँग सामाना गर्न सक्छ त ?

– गठबन्धन भन्ने कुरा स्थायी समाधान होइन । गठबन्धन आफैमा समस्या हो । अहिले हामीलाई स्थिर सरकार चाहिन्छ, स्थायित्वको कुरा गरिरहेका छांंै, राजनीतिक स्थायित्वको कुरा गरिरहेका छौं, अनि गएका छौ कहा भन्दा गठबन्धनतिर । गठबन्धन आफैमा भागबण्डा हो, हिजो हामी मुलुकका ठूला दुई वटा कम्युनिस्ट पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी बन्यो, जनताहरुले दुई तिहाइकै वहुमत दिए्, तर त्यो एकता नै दीगो भएन । अन्ततः कम्युनिस्ट पार्टीको सरकार धरासायी बन्यो । यो गठबन्धनको अर्को नकरात्मक पक्ष के भने भागबण्डाको राजनीति हो ।

राज्यको ढुकुटी सबै भागबण्डामै सिद्धिन्छ, हिजो सानो मन्त्रालय थियो, भागबण्डाकै कारण मन्त्रालय बढाइयो । त्यसैले स्थिर सरकारको आवश्यकता अहिले छ, नेकपा एमालेलाई वहुमतको सरकार चलाउन एकपटक दिन्छन् जनताले । यदि त्यो अवस्था भएन भने फेरि पनि दुर्भाग्यपूर्ण रहन्छ । अहिले राज्यको ढुकुटी रित्तो भएको छ, हामीसँग मुद्राको संचिती घटिरहेको अवस्था छ, कुनै दिन श्रीलंकाको अवस्थामा पुग्छ कि भन्ने अवस्था भइसकेको छ । त्यसो भएकोले राजनीतिक स्थायित्व जरुरी छ, आज नौ महिना भयो यो नौ महिनाको अवधिमा विकास बजेटको ४० प्रतिशत खर्च हुन सकेको छैन । त्यो विकास बजेट खर्च नहुनु भनेको जनताहरुले काम नपाउनु हो र जनताको हातमा पैसा नजानु हो ।

आज बैंकमा तरलताको अभाव छ, अहिले धितो राखेर ऋण खाने अवस्थामा बैंकहरु छैनन्, यो सबै राजनीतिक अस्थिरताको कारण हो, यसले सबै क्षेत्रमा प्रभाव पारेका छ । त्यसो भएको हुनाले मलाई विश्वास छ यो गठबन्धनलाई जनताले भोट दिँदैनन्, गठबन्धन दीगो हुदैन, स्थायी हुदैन, यसैको आधारमा नेकपा एमालेले वहुमत ल्याउछ । अर्को कुरा नेपाली काँग्रेसजस्तो पार्टी अहिले गठबन्धनको सहरा लिने अवस्थामा पुगेको छ । त्यो भनेको नेपाली काँग्रेस कमजोर भएको छ, माओवादी त त्यसै कमजोर छँदैछ, समाजवादी त भर्खर जन्मेको हो, उसको धेरै आश नगरौ । त्यसो भएकोले यो गठबन्धन उपयुक्त छैन, यो गठबन्धनले त्यति ठूलो असर पार्छ जस्तो मलाई लाग्दैन ।

काेशी पत्र दैनिकबाट